फरक–फरक प्रधानमन्त्रीका सोच र प्रवृत्ति उस्तै किन ? – देवप्रकाश त्रिपाठी

३१ श्रावण २०६९, बुधबार ०७:३२ मा प्रकाशित

पञ्चायतकालभरि शक्तिकेन्द्रमा रहेका राजालाई भेट गर्न उचित ठानिएन, प्रधानमन्त्रीहरूलाई भेट्न आवश्यक थिएन । प्रजातन्त्र स्थापनापछिका प्रधानमन्त्रीहरू जुनसुकै दलका भए पनि तीप्रति एउटा बेग्लै आदरभाव रहन्थ्यो र ती सफल हुंदा मुलुकले सकारात्मक गति र दिशा लिने आशा राखिन्थ्यो । ०४६ मा प्रजातन्त्र स्थापना भएपछिका प्रथम जननिर्वाचित प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालासंगको पहिलो भेटमा मलाई उहां देश बनाउन प्रतिबद्ध नेता भन्ने ‘इम्पे्रसन’प¥यो । हामी जो जहां छौं त्यहींबाट कोइरालालाई सहयोग गर्न सकियो भने अन्ततः देश निर्माणलाई नै सघाएको सन्तुष्टि प्राप्त हुनेछ भन्ने विश्वास मलाई भएको थियो । उहांले हरेक महिनाको दुईवटा शनिबार (पन्ध्र दिनमा एकपटक) बेलुका प्रधानमन्त्रीनिवासमा नियमित भेटको व्यवस्था मिलाइदिनुभएको थियो । म उहांलाई निरन्तर भेट्न गइरहन्थें । ०४९ को जेठ–असारमा स्थानीय निर्वाचन सकिएपछिको पहिलो भेटमा मैले गिरिजाप्रसाद कोइरालालाई अनुरोध गरें, ‘दाज्यू तपाईं पञ्चायत अन्त्यपछिको पहिलो जननिर्वाचित प्रधानमन्त्री हुनुहुन्छ, तपाईंले आगामी दश या बीस वर्षपछिको नेपाल कस्तो बनाउनुपर्छ भन्ने विषयमा स्पष्ट दृष्टिकोण, नीति र कार्यक्रम बनाउन आवश्यक हुन्छ । त्यस निम्ति तपाईंलाई मेरा दुईवटा सुझाव छन्– पहिलो, तपार्इंले बस्ती एकीकृत गुरुयोजना बनाउनुप¥यो । नेपालका गाउंहरू साना र छरिएर रहेका छन् । जसका कारण विकास खर्च धेरै बढेको छ र सभ्य एवम् समृद्ध समाज निर्माणमा पनि कठिनाइ भइरहेको छ । यदि एउटा गाउं विकास समितिमा एक या बढीमा दुईवटा मात्र बस्ती राख्ने र बांकी कृषि, वनजङ्गल, धार्मिक, पर्यटकीय, उद्यान आदि क्षेत्र निर्धारित गरिदिने हो भने सडक, विद्युत्का तार–पोल, पिउने पानी र टेलिफोनको तार–पोलमा लाग्ने खर्चमा भारी मात्राले कमी आउनेछ । अनेकतिर सडक घुमाएर लैजांदा हुने वातावरणीय क्षतिमा नियन्त्रण गर्न

सकिनेछ र सहरीकरणको प्रक्रिया तीव्र भई सभ्य एवम् सुविधासम्पन्न समाज निर्माणले पनि गति लिनेछ । सबैभन्दा सुरक्षित तर कम खेतीयोग्य जमिनमा मात्र बस्ती बसाइयो भने त्यसले कृषि उत्पादनमा पनि सकारात्मक प्रभाव पार्नेछ । दोस्रो, सरकारले ठूलठूला राजमार्ग, विमानस्थल, सिंचाइ, जलविद्युत् आयोजनाहरूमा मात्र आफ्नो प्रत्यक्ष संलग्नता कायम राखेर विकास निर्माणका काम स्थानीय निकायलाई जिम्मा लगाउनु उपयुक्त हुन्छ र नगद सोझै गाउंमा जाने नीतिगत व्यवस्था मिलाउनु उचित हुन्छ । विकासका काममा दलीय प्रभावले क्षति नपु¥याओस् भन्नका लागि सर्वपक्षीय उपभोक्ता समितिहरू निर्माण गर्ने र आफ्नो ठाउंको विकास आफैंले गर्ने÷गराउने नीतिगत व्यवस्था हुने हो भने विकास बजेटको सदुपयोग हुनसक्छ, कामको गुणस्तरमा सुधार आउने विश्वास गर्न सकिन्छ र भ्रष्टाचार पनि हुंदैन । त्यसैले केन्द्रबाट बजेट सोझै गाउंमा जाने व्यवस्था मिलाउनुप¥यो ।’
मेरा कुरा सुनिसकेपछि गिरिजाप्रसाद कोइरालाले निधार खुम्च्याउनुभयो र अलिक चिढिंदै भन्नुभयो, ‘हे † यो त अलि लामो र टाढाको कुरा भयो, अहिले तत्कालै मैले गर्ने कुरा भन्नुहोस् न ।’ ‘तत्काल गर्नेबारे मैले सोचेको छैन, देशलाई दीर्घकालिक विकास निम्ति के गर्नु उपयुक्त भन्ने अर्थमा मात्र मैले यसो भनेको हुं, धन्यवाद’ भन्दै म बालुवाटारबाट निस्किएं । ०४९ साउनको जनमञ्च नामक म्यागेजिनमा मैले ‘नेपालको विकास गर्ने नै हो भने….’ शीर्षकमा उल्लिखित सन्दर्भलाई उल्लेख गरेर एउटा लेख प्रकाशित गरेको थिएं ।
०४८ देखि ०६३ सम्म गिरिजाप्रसाद कोइरालासंग भेटघाट बारम्बार भइनै रहे । उहांसंगको ‘वन् टु वन’ भेटको शृङ्खला ०६३ साउनदेखि टुङ्गियो र त्यसपछि कोइरालासंग सामूहिक भेट भए पनि व्यक्तिगत तवरमा भएनन् । प्रधानमन्त्री पदमा रहंदा गिरिजाप्रसाद कोइरालामा एउटा बेग्लै प्रकारको दम्भ र अहंकार देखिन्थ्यो । उहांमा ‘म मात्र ठीक सोच्छु, म मात्र सही ठाउंमा छु, मैले देखेका र गरेका काम मात्र ठीक हुन्, म सबै विषय बुझ्दछु र जान्दछु, म जे पनि गर्न सक्दछु र गर्दछु, मसंग कसैले विमति या विरोध जनाउंछ भने त्यो गलत मानिस हो र मैले त्यस्ता मानिसलाई हदैसम्म उपेक्षा गरेर ठेगान लगाउनुपर्छ, म राम्रो काम गर्न खोज्दै छु त्यसैले मलाई सबैले सघाउनुपर्छ’ भन्ने जस्ता सोच–मनोविज्ञान प्रबल थियो । गणेशमान सिंह र कृष्णप्रसाद भट्टराईजस्ता महान् नेताहरूले भन्दा ज्यादा ‘सफलता’ प्राप्त गरेकोले पनि हुनसक्छ– गिरिजाप्रसाद कोइरालामा अहंकारको मात्रा अधिक देखिन्थ्यो र अहंकारले उहांलाई आत्मकेन्द्रित बनाउंदै लगेको थियो । गिरिजाप्रसाद अहंकारी हुनुमा उहांको जन्मजात स्वभाव र पारिवारिक पृष्ठभूमिले पनि काम गरेको हुनुपर्छ भन्ने मेरो ठम्याइ थियो । तर, ०५८ मा तात्कालिक राजा ज्ञानेन्द्रसंग ‘दर्शनभेट’को मौका मिल्दा जे–जस्ता विषयमा संवाद भए, उहांबाट पनि अहंकारका सङ्केतहरू प्रकट भए । खासगरी ‘मलाई जे लागिरहेको छ त्यो नै ठीक हो र म जे सोचिरहेछु त्यो मात्र सही हो, म जे गर्छु त्यो नै ठीक हो र मलाई असहयोग गर्ने या मसंग विमति जनाउनेहरू नाजायज मानिस हुन्’ भन्ने प्रकारको सोच जो मैले गिरिजाप्रसाद कोइरालामा पाएको थिएं त्यस्तै राजामा पनि पाएं । हाम्रा कुरा राम्ररी सुने पनि त्यसलाई गम्भीरतापूर्वक लिन उहांको अहंकारले छेकवार लगाएको महसुस मैले गरेको थिएं । श्री ५ महाराजाधिराजका रूपमा ज्ञानेन्द्र रहनुहुंदा पटकपटक ‘दर्शनभेट’को अवसर मिलेको थियो र त्यस क्रममा मैले हरेकपटक राजा र संसदीय प्रजातन्त्र पक्षधर शक्तिबीचको विश्वास, समझदारी र एकतामा जोड दिइनु उपयुक्त हुन्छ भनिरहें, राजाले सुन्नु पनि भयो तर व्यवहारमा प्रजातान्त्रिक शक्तिहरूसंगको मिलाप र समझदारीलाई प्राथमिकतामा राखेको मैले पाइनं । आफूलाई के ठीक लागेको छ त्यही गर्ने प्रवृत्ति मैले कोइरालामा जस्तै राजामा पनि पाएको थिएं । राजा भएका कारण यसप्रकारको हठीपन विकास भएको होला भन्ने मेरो निष्कर्ष रह्यो ।
०६५ मा माओवादीका प्रचण्ड प्रधानमन्त्री भए, प्रचण्ड दुःखी, गरिब, किसानका छोरा, मजदुर, किसान र सर्वहारा वर्गको मुक्तिदाता बन्न अभ्यास गर्दै गरेका नेता भएको हुनाले यिनीचाहिं राजा र गिरिजाप्रसाद कोइरालाभन्दा पृथक् होलान् कि भन्ने मेरो आशा र अनुमान थियो । प्रचण्डसंग पछिल्लोपटक ०६६ जेठको पहिलो सातामा भएको भेट नै मेरो अहिलेसम्मको अन्तिम हो । त्यसयता कतिपय कार्यक्रमहरूमा देखभेट भए पनि वार्तालाप या छलफल गर्ने उद्देश्यले भेटघाट भएको छैन । प्रधानमन्त्री रहेका बेला ०६५ पुस २ गते बिहान मेरो प्रचण्डसंग बालुवाटारमा भेट भएको थियो । त्यसबेला तात्कालिक रक्षामन्त्रीले नेपाली सेनालाई जिस्क्याउन थालेका थिए, माओवादी र सेनाबीच एकप्रकारले शीतयुद्ध चलिरहेको थियो । संवादका क्रममा मैले प्रचण्डजीसमक्ष रक्षामन्त्री र सेनाबीच उत्पन्न खटपटबारे जिज्ञासा राखें र यो विवादमा तपाईंको भूमिका के हो भन्ने जान्न चाहें । प्रचण्डले तात्कालिक सेनापति रुक्मांगद कटवाल र नेपाली सेनाप्रतिको आफ्नो असन्तुष्टि जाहेर गर्नुभयो । मैले नेपाली सेनालाई नजिस्क्याउन आग्रह गर्दै सेनापति कटवाललाई उनको कार्यकाल पूरा हुन दिन सुझाव दिएं । यदि सेनापति बदल्नेतिर तपाईं लाग्नुभयो भने तपार्इंले धेरै नराम्रो परिणाम व्यहोर्नुपर्ने अवस्था आउन सक्छ भन्नेतर्फ सचेत पनि गराउन खोजें । राजाका छोरामा भन्दा दुःखी–गरिबका छोरा माथि पुग्दा तिनमा झनै अहंकारजन्य ‘रोग’ देखापर्दोरहेछ कि के हो, प्रचण्ड आफ्नै कुरामा दृढ भएको महसुस मैले गरें । आफूलाई के लाग्छ त्यही नै ठीक भन्ने जुन प्रवृत्ति मैले तात्कालिक राजा ज्ञानेन्द्र र तात्कालिक प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालामा पाएको थिएं ठीक त्यही सोच र संस्कार बोकेर दृढतापूर्वक उभिएको अवस्थामा प्रचण्डलाई पाएं । प्रचण्ड दम्भी र अहंकारी छन् भन्ने जानकारी त मलाई धेरै पहिले नै भएको हो, तर प्रधानमन्त्री भइसकेपछि केही परिवर्तन आएको छ कि भन्ने लागेको थियो, म गलत सिद्ध भएं । प्रचण्ड राजा र गिरिजाप्रसादभन्दा पनि ‘अब्बल दर्जा’को अहंकारी भएको महसुस मैले गरें । आफूलाई जे लाग्छ त्यो नै ठीक र म जे गर्दै छु ठीक गर्दै छु, मेरो बाटोमा अवरोध पु¥याउने या मसंग विमति जनाउनेहरू सबै बेठीक, गलत र दुश्मन कोटिका हुन् भन्ने सोच प्रचण्डमा धेरै राम्रोसंग रहेको देखियो । प्रधानमन्त्री भए पनि डा. बाबुराम भट्टराईचाहिं निश्चय नै पृथक हुनेछन् भन्ने मेरो पुरानो विश्वास पनि अहिले धोखा खान खोज्दै छ । विगतका हरेक प्रधानमन्त्रीहरूमा झैं बाबुरामजीमा पनि ‘म नभई चल्दै चल्दैन’ भन्ने सोच विकास भएर प्रवृत्ति बन्न खोज्दै छ । प्रधानमन्त्री पदमा पुगेपछि शेरबहादुर देउवाजस्ता रित्तो मानिसमा समेत ‘आफू नभई चल्दैन’ भन्ने मनोवृत्तिको विकास भएको थियो भन्ने तथ्यबारे बाबुराम भट्टराई पनि बेखबर हुनुले पदमा रहंदा सबैमा एउटै सोच र प्रवृत्तिको विकास हुन्छ भन्ने निष्कर्षमा पुग्ने आधार बलियो बनाएको छ । बाबुराम भट्टराईमा अहंकार र दम्भ बाक्लिन थालेको र बेलाबखत त्यो छचल्किएर पोखिने गरेको महसुस जनस्तरमा समेत गर्न थालिएको छ ।
०४६ सालमा पञ्चायती व्यवस्था ढलेपछि पञ्चहरूको राजनीति सदाका निम्ति सकिएको निचोडमा म पुगेको थिएं । त्यसरी शक्तिकेन्द्रवरिपरिको जिन्दगी बांच्न अभ्यस्त भएका मानिस ‘सधैंका निम्ति’ सडकमा अप्रत्याशित आइपुग्दा तिनको मनोविज्ञान कस्तो हुंदोरहेछ भन्ने ज्ञान प्राप्त गर्ने उद्देश्यले मैले केही पञ्चनेतालाई भेटेको थिएं र भेटको निम्ति प्राथमिकतामा परेका एक पात्र कीर्तिनिधि विष्ट हुनुहुन्थ्यो । शक्तिकेन्द्रमा रहेकालाई परमेश्वर मँन्ने र बाहिर परेकालाई सामान्य मान्छेका रूपमा बोधसम्म नगरी व्यवहार गर्ने हाम्रो समाजले कीर्तिनिधिलगायतका पञ्चहरूलाई घृणा गर्नु र उनीहरूप्रति वितृष्णा फैलाउनुलाई आफ्नो दैनिकी बनाएको थियो । पञ्च नेताका घरतिर आंखा तर्दै हिंड्थे त्यसबेलाका मानिस । त्यस्तो समयमा मैले भेटका लागि समय माग्दा नपाउने कुरै थिएन, विष्टजीसंग भेट भयो र लामो संवाद पनि । संवादका क्रममा मैले उहांसंग पावरमा हुंदा र नहुंदाबीचको अन्तर के हुंदोरहेछ भन्ने जिज्ञाशा राखेको थिएं । कीर्तिनिधिले दिनुभएको जवाफ मैले कहिल्यै भुल्न सकेको छैन । उहांको भनाइ थियो, ‘पावरबाहिर हुंदा म देश र जनताको हितका लागि के–के गर्नुपर्छ भन्ने छर्लङ्ग देख्थें, जब म प्रधानमन्त्री बन्थें त्यसबेलामा चाहिं सबै कुरा ठीकठाक देख्थें । रमाइलोभन्दा पनि आश्चर्यको कुरा त के भने प्रधानमन्त्रीबाट हटेर तल आउनेबित्तिकै देश र जनताका लागि के–के गर्नुपर्ने रहेछ भनेर छर्लङ्गै देखिने । अब अर्कोपटक प्रधानमन्त्री भइयो भने यी–यी कुराहरूचाहिं नगरीकन छोड्दिनं भन्यो, प्रधानमन्त्री हुनेबित्तिकै फेरि सबै कुरा ठीकठाक देखिने । मलाई पटकपटक यस्तै भइरह्यो ।’ कीर्तिनिधिजीको भनाइले पावरमा हुंदा मानिसले सत्य र ठीक देख्न, बुझ्न सक्दैनन् भन्ने पुष्टि गर्दछ । सत्ताकेन्द्रमा पुगेपछि उत्पन्न हुने अहंकारले मानिसलाई वास्तविकता बोध हुन छेकवार लगाउंछ । सबैभन्दा जान्ने, बुझ्ने, ठीक, सही, राम्रो, ज्ञानी म आफैं हुं भन्ने जुन भ्रम व्यक्तिभित्र पैदा हुन्छ, त्यसले अहंकार र दम्भको जन्म गराउंछ । हो, त्यही अहंकार नै सत्यको खोजीमा अवरोध बन्ने गर्दछ । बाबुराम भट्टराईमा पनि सत्य बुझ्ने र ठीक महसुस गर्ने प्रत्यय दुर्बल हुंदै छ, यसले भट्टराईजीको व्यक्तित्वलाई मात्र क्षति पुरयाउने हो या देशकै भविष्यलाई समेत अन्धकार र सङ्कटग्रस्त तुल्याउने हो समयाक्रममा पुष्टि हुने नै छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

घर परिवारको न्यानो साथ छोडेर विदेशिनु पर्दाको पीडा त भोग्नेलाई मात्र थाहा हुन्छ । प्रियजनको पर्खाइमा कैयौं रात अनिदो काट्नु

आफन्तसँग ढाँटेर रु एक लाख ऋण लिएर व्यवसाय शुरु गरेका एक युवा १५ वर्षमा ११ होटल र रेष्टुराँको मालिक बनेका

जिल्लाको दिपायल सिलगढी नगरपालिका–८ लडागडाकी मायाकुमारी विष्टको कक्षा ८ मा पढ्दा पढ्दै सामाजिक सञ्जाल फेसबुकमा एक युवकसँग चिनजान भयो ।

विगतमा घैयाको भाउमा जाने अदुवाले अहिले राम्रै मूल्य पाउन थालेपछि कर्णालीका अदुवा किसान मख्ख छन् । प्रतिकिलो रु पाँच–१० मा