सरकारको तलब खाएर ‘निजी’ शैक्षिक संस्थामा प्रिन्सिपल

३१ श्रावण २०६९, बुधबार ०६:५६ मा प्रकाशित

काठमाडौं, ३१ साउन । हरेक पेसाको आफ्नै कानुन, मर्यादा तथा आचारसंहिता हुन्छ । त्यसैभित्र रहेर पेसाप्रति इमानदार भएर काम गर्नुपर्ने हुन्छ । तर, नेपालमा पेसाप्रति इमानदार भएर काम नगरे पनि राम्रै छुट पाइन्छ । अरूलाई नैतिक शिक्षा र आचार सिकाउनेहरू नै आचारविपरीत गएपछि के होला मुलुकको भविष्य ?
सरकारले त्रिभुवन विश्वविद्यालयको गुणस्तर विकासका लागि भन्दै वार्षिक करोडौं रूपैयां खर्च गर्दै आएको छ । दक्ष र विज्ञ भन्दै तोकिएभन्दा निकै बढी रकम दिएर कर्मचारी तथा प्राध्यापकहरू नियुक्त गर्दै आएको छ । तर, तिनै विज्ञहरू मर्यादा र आचारसंहिताविपरीत त्रिविलाई धराशायी बनाउंदै निजी कलेजतर्फ आकर्षित भएका छन् । स्रोतका अनुसार त्रिविमा अध्यापन गराउने धेरै प्राध्यापकले त्रिविलाई स्थायी आम्दानीको स्रोत बनाउंदै निजी कलेजको प्रमोशनमा लागेका छन् । उनीहरूले त्रिविअन्तर्गतका कलेजमा मुस्किलले दैनिक एक पिरियड मात्र अध्यापन गराउने र बांकी समय निजी कलेजमा दिने गरेका छन् । पछिल्लो समयमा त्रिविका प्राध्यापकहरू निजी कलेजहरूमा अध्यापन मात्र गराउंदैनन् उनीहरूले आफ्नै लगानीमा निजी कलेज सञ्चालन गर्न थालेका छन् ।
स्रोतका अनुसार राजधानीमा मात्र त्रिविका प्रध्यापकहरू संलग्न भएको चार दर्जन बढी निजी कलेजहरू छन् । ती कलेजमा त्रिविका नाम चलेका प्राध्यापकले अध्यापन गराउंछन् भने शुल्क पनि अत्यधिक चर्को लिने गरेका छन् । त्रिवि इन्जिनियरिङ अध्ययन संस्थानका अधिकांश पदाधिकारी र प्राध्यापक नियमविपरीत निजी कलेजमा लगानी गर्नुका साथै अध्यापन गराइरहेका छन् । उनीहरूले कलेजमा लगानी मात्र गरेका छैनन्, आफूले लगानी गरेका निजी कलेजका प्रिन्सिपल नै बनेका छन् ।
नियमानुसार त्रिभुवन विश्वविद्यालयका कुनै पनि पदाधिकारी र प्राध्यापक निजी कलेजमा लगानी गर्न, सञ्चालक समितिमा बस्न र प्रिन्सिपल बन्न पाउंदैनन् । यतिसम्म कि निजी कलेजमा पढाउनका लागि प्राध्यापकको सिफ्ट फरक रहेको हुनुपर्छ । त्यसका लागि पनि त्रिविको स्वीकृति लिनुपर्छ ।
इन्जिनियरिङ संस्थानअन्तर्गत रहेको पुल्चोक इन्जिनियरिङ क्याम्पस र थापाथली इन्जिनियरिङ क्याम्पसका प्राध्यापकले सम्बन्धित निकायबाट अनुमति नै नलिई निजी कलेजको प्रिन्सिपल बन्नुका साथै लगानीसमेत गरेका छन् । ऊर्जा अध्ययन केन्द्रका निर्देशक प्रा.डा. त्रिरत्न बज्राचार्य नेसनल कलेज अफ इन्जिनियरिङ ललितपुरको सञ्चालक समितिका बहालवाला अध्यक्ष बनेका छन् । यसअघि उक्त कलेजको सञ्चालक समितिको अध्यक्षमा अहिलेका संस्थानका डिन डा. भरतराज पहारी थिए । उनी अध्यक्ष हुंदा बज्राचार्य सञ्चालक समितिको सदस्यका रूपमा थिए ।
त्यस्तै थापाथली क्याम्पसका पूर्वक्याम्पसप्रमुख प्राध्यापक धनभक्त पौडेल नेसनल कलेज अफ इन्जिनियरिङको प्रिन्सिपल बनेका छन् । पदेन सहायक डिन रामचन्द्र सापकोटा सोही कलेजका सञ्चालक समिति सदस्यका रूपमा छन् । त्यस्तै अर्का सहायक डिन सङ्गीतलाल नकर्मी पनि सञ्चालक समिति सदस्य हुन् । पुल्चोक इन्जिनियरिङ क्याम्पसका प्राध्यापक तथा पश्चिमाञ्चल इन्जिनियरिङ क्याम्पसका पूर्वक्याम्पसप्रमुख अभिमन्युलाल सिंह ललितपुर इन्जिनियरिङ कलेजका प्रिन्सिपल छन् । त्यसैगरी, सिभिल इन्जिनियरिङ विभागका पूर्वप्रमुख प्राध्यापक प्रेमचन्द्र झा एड्भान्स इन्जिनियरिङ कलेजका प्रिन्सिपल बनेका छन् ।
त्रिविको महत्वपूर्ण जिम्मेवारीमा रहेका व्यक्तिहरूले सञ्चालन गरेका निजी कलेजलाई निजामती सेवामा काम गर्ने अधिकांश वरिष्ठ सरकारी कर्मचारीहरूले पनि नियमविपरीत अध्यापन गराएर सहयोग पु¥याएका छन् । निजामती कर्मचारीहरूले पनि सरकारको अनुमति नलिईकन कुनै पनि कलेजमा अध्यापन गराउन पाउंदैनन् । अनुमति लिए पनि कार्यालय समयभित्र मात्र अध्यापन गराउनुपर्छ । तर, अधिकांश वरिष्ठ निजामती कर्मचारीले कार्यालय समयमै विभिन्न कलेजमा अध्यापन गराइरहेका छन् ।
त्यस्तै, सरकारी अस्पतालमा डाक्टरी पेसामा आबद्ध डाक्टरहरू पनि आफ्नो पेसाप्रतिको इमानदारीलाई लत्याउंदै निजी क्लिनिकमा गएर दिन बिताउने गर्छन् । नेपालको सबैभन्दा जेठो वीर अस्पतालमा काम गर्ने ७५ प्रतिशतभन्दा बढी डाक्टर निजी क्लिनिकमा गएर काम गर्ने गरेको अस्पतालको रिपोर्टमै उल्लेख छ । त्यस्तै, शिक्षण अस्पतालमा काम गर्ने डाक्टरहरू पनि निजी क्लिनिकमा गएर काम गर्ने गरेका छन् । तर, सरकारले त्यततर्फ कुनै चासो देखाएको छैन ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । नेपालको परराष्ट्रमन्त्रीमा डा नारायण खड्का नियुक्त हुनुभएकामा भारतका बाह्य मामिलामन्त्री एस जयशङ्करले उनीप्रति बधाई ज्ञापन गरेका छन् ।

काठमाडौँ । दिवङ्गत पितृका नाममा प्रत्येक वर्ष आश्विन कृष्ण पक्षमा गरिने सोह्र श्राद्धका लागि आवश्यक पर्ने अपराह्नकालको समय निर्धारण गरिएको

काठमाडौं। सत्तारुढ गठबन्धनको बैठकले परराष्ट्रमन्त्रीमा डा. नारायण खड्कालाई नियुक्त गर्ने सहमति भएको छ । मंगलबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा बसेको

म्याग्दी।सोह्रश्राद्ध सुरू भएसँगै हिन्दु र बौद्ध धर्मावलम्बीहरूको साझा तीर्थस्थल मुस्ताङको कागबेनीमा पितृलाई तर्पण र पिण्डदानसहित श्राद्ध गर्न भक्तजनहरू पुग्न थालेका