राष्ट्रबैकमा गभर्नर खतिवडाको मनोमानी, राष्ट्रबैंक एमालेमय बन्दै

३१ श्रावण २०६९, बुधबार ०६:४३ मा प्रकाशित

काठमाडौं, ३१ साउन । गभर्नर पदमा युवराज खतिवडा नियुक्त भएपछिको पछिल्लो साढे दुई वर्षको अवधिमा मुलुकको केन्द्रीय बैंकलाई एमालेमय बनाइएको छ । बढुवा, सरुवा र विदेश काजको प्रलोभन दिंदै गरिएको राजनीतीकरणले चरम रूप लिएपछि नेपाल राष्ट्र बैंकमा उत्पन्न असन्तोषले भयावह परिस्थितिको सिर्जना हुन लागेको छ । गभर्नर युवराज खतिवडाको ग्रान्डडिजाइन र एमालेनिकट कर्मचारी सङ्घको पहलमा पछिल्लोपटक साउन २० गते शनिबार आयोजना गरिएको राजनीतिक प्रशिक्षणमा बैंकका उच्च अधिकृतहरूको उपस्थितिबाट गम्भीर प्रश्न उब्जिएको छ । निष्पक्ष भूमिकामा केन्द्रीय बैंकको अनुगमन र सुपरीवेक्षण कार्य सम्पन्न गर्नुपर्ने महत्वपूर्ण विभाग, एकाइ र जिम्मेवारी लिएका निर्देशकहरूले खुलमखुला एमालेको प्रशिक्षणमा भाग लिनुलाई विज्ञहरूले अर्थपूर्ण रूपमा लिएका छन् ।
गत २० गते राष्ट्रिय वाणिज्य बैंकको थापाथली शाखाको सभा कक्षमा नेकपा एमाले विशेष बुद्धिजीवी जिल्ला कमिटीको नेपाल राष्ट्र बैंक शाखा समितिका संगठित सदस्यहरूलाई समसामयिक विषयमा प्रशिक्षण कार्यक्रमको आयोजना गरिएको थियो । कार्यक्रममा पूर्वअर्थमन्त्री सुरेन्द्र पाण्डे र एमाले फ्रयाक्सन इन्चार्ज डा. विजय पौडेल प्रशिक्षक थिए । बैंकमा कसरी एमाले विचार र दृष्टिकोणलाई फिंजाउने, विरोधी बैंक र बैंकरलाई कसरी ठेगान लगाउने एवम् बैंकभित्र रहेका अन्य राजनीतिक विचारका कर्मचारीलाई नियुक्ति, सरुवा, बढुवा र विदेश भ्रमणको नाममा कसरी पेल्ने भनेर पाण्डे र पौडेलले झन्डै ६ घन्टा विभिन्न उपाय बताएका थिए । निरीक्षण र सुपरीवेक्षणको नाममा अन्य बैंक तथा वित्तीय संस्थालाई एमालेतर्फ आकर्षित गराउन विभिन्न अप्ठेराको प्रयोग गर्न हिच्किचाउन नहुने आशय पनि कार्यक्रमका सहभागीलाई जानकारी गराइएको थियो ।
कार्यक्रममा बैंकको विकास बैंक सुपरीवेक्षण विभागका प्रभावकारी निर्देशक लक्ष्मीप्रपन्न निरौला पूरै अवधि सहभागी भएका थिए । गोर्खा विकास बैंक र अन्य समस्याग्रस्त बैंक तथा वित्तीय संस्थालाई उकास्नेसम्बन्धी विशेष अध्ययन टोलीको जिम्मा पाएका निरौलाले यसरी खुलमखुला एमालेको सङ्गठित सदस्यता लिएर घन्टौं राजनीतिक प्रशिक्षणमा भाग लिनुले सबैलाई चकित पारेको छ ।
त्यसैगरी विगतमा काङ्ग्रेसको खोल ओढेर बैंक सुपरीवेक्षण तथा नियमन विभागमा रहंदा व्यापक अनियमितता गरेको आरोप लागेका निर्देशक भीष्मराज ढुंगाना पनि खतिवडा गभर्नर बनेपछि एमाले मुख्यालयमा कार्यरत आफ्नी सालीको आडमा यतिखेर राष्ट्र बैंकमा ‘क’ वर्गको एमाले बनेका छन् । उक्त राजनीतिक प्रशिक्षणमा ढुंगानाले पनि पूरै दिन बिताउनुले गभर्नर खतिवडासंग सामीप्य गांसेर थप कर्तुतका लागि मार्ग प्रशस्त गरेको एकजना एमाले समर्थित पुराना कर्मचारीले दुखेसो व्यक्त गरेका छन् । छिट्टै कार्यकारी निर्देशक बन्ने दाउमा लागेका ढुंगानाले विदेशी विनिमय व्यवस्थापन विभागमा महत्वपूर्ण फांटको जिम्मेवारी लिएका छन् । एमालेको सङ्गठित सदस्यको आडमा उनले उक्त प्रशिक्षणपछि एमाले नेता रामनाथ ढकाल र उनको भाइको ठमेलस्थित मनी चेञ्जरलाई विभागले कारबाही प्रक्रिया अघि बढाएकोमा अहिले विभिन्न बहानामा रोकेका छन् ।
उता गत हप्ता नतिजा प्रकाशित भएको बैंकको निर्देशक पदमा बढुवा हुनका लागि लालायित उपनिर्देशक भीष्मराज उप्रेती पनि बढुवाकै लागि केही महिनादेखि खुलेर एमालेको सङ्गठित सदस्यताको वकालत गर्दै प्रशिक्षणमा सहभागी भएका थिए । माओवादीनिकट अधिवक्ता तथा महान्यायाधिवक्ता मुक्ति प्रधानसंग सांठगांठ गर्न सफल उप्रेतीलाई एमालेको सङ्गठित सदस्यता लिएर आफ्नो सिट सुरक्षित बनाउन अर्का उपनिर्देशक रामशरण खरेलले सुझाव दिएका थिए । स्मरण रहोस्, खरेल गभर्नर खतिवडाको एकमात्र छोरी ज्वाइं हुन् । उनी उप्रेतीका सहपाठी पनि हुन् । २२ गते हांसीखुसी सहभागी भएका उप्रेतीलगायतका अधिकृत प्रथमका दाबेदार उम्मेदवारले २६ गते प्रकाशित नतिजामा आफ्नो नाम नभेट्टाएपछि सङ्गठित सदस्यताको उपादेयता सकिएको प्रतिक्रिया दिएको स्रोतले दाबी गरेको छ । बैंक सुपरीवेक्षणजस्तो महत्वपूर्ण विभागमा रहेका उप्रेतीले आगामी दिनमा सम्पन्न गर्ने बैंकको सुपरीवेक्षण कार्यमा पार्टीको गन्ध कसरी आउला सहजै अनुमान लगाउन सकिन्छ ।
नियमन विभागमा कार्यरत निर्देशक शेरजंग राना, उपनिर्देशक आनन्द पौडेललगायत सुपरीवेक्षण विभागमा रहेका निर्देशक अर्जुन अधिकारीलगायत अन्य धेरै उपनिर्देशकले पनि एमालेको राजनीतिक प्रशिक्षणमा भाग लिएका थिए । अनुसन्धान विभागमा कार्यरत केही उपनिर्देशकको समेत उपस्थितिमा सम्पन्न राजनीतिक प्रशिक्षणले गभर्नर खतिवडाको एमाले रोडम्यापलाई थप छताछुल्ल पारेको छ । तर, कतिपयले यस प्रकरणलाई यसअघि कुनै गभर्नरले गर्न नसकेको काम गर्नुलाई उनको ठूलो ‘सफलता’को संज्ञा दिएका छन् ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । आज विक्रम संवत् २०७८ साल वैशाख १ गते नयाँ वर्षको पहिलो दिन नेपालभर एकापसमा शुभकामना आदानप्रदान गरी हर्षोल्लास

काठमाडौं । भारत भ्रमणमा रहेका पूर्वराजा ज्ञानेन्द्र शाहले नयाँ वर्ष २०७८ को शुभकामना सन्देश दिएका छन् । शुभकामना सन्देशमा पूर्व

काठमाडौँ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शिक्षण संस्थाहरु एक महिना बन्द गर्न सरकारलाई सिफारिस गरेको छ। मन्त्रालयले काठमाडौँ उपत्यकासहित देशका

काठमाडौँ । राष्ट्र बैङ्ककी निर्देशक सुष्मा रेग्मी रिजाललाई कारागार पठाइएको छ । ज्येष्ठ नागरिक सम्बन्धी कसुर मुद्दामा काठमाडौँ जिल्ला अदालतको