गृहयुद्धको जग राख्दै एमाओवादी – (समाचार विश्लेषण)

३० श्रावण २०६९, मंगलवार २१:११ मा प्रकाशित

जयप्रकाश त्रिपाठी, काठमाडौं, ३० साउन । पार्टी विभाजनपछि आफू कमजोर भएको र आफ्नो साख गिरेको महसुस गरिरहेका एमाओवादी अध्यक्ष प्रचण्डले आफ्नो हैसियत पुनस्र्थापित गर्न नयां खेल सुरु गरेका छन् । क्षेत्रीयतावादी सोच बोकेका केही मधेसी नेता तथा केही जातिवादीहरूसंग गठबन्धन गरेर अघि बढ्न खोज्नुलाई प्रचण्डको नयां खेलका रूपमा लिइएको छ । देशमा सबैतिरबाट राष्ट्रिय सहमतिको निम्ति आवाज उठिरहेका बेला प्रचण्डले जातिवादी र क्षेत्रीयतावादीहरूलाई समेटेर मोर्चा बनाउने जुन प्रयास गरेका छन् यसले प्रचण्डलाई डुक्रन क्षणिक आधार दिए पनि त्यसबाट देशको एकता, सार्वभौमिक अखण्डता र प्रजातन्त्रलाई दुर्बल तुल्याउने देखिएको छ । सङ्घर्ष र चुनावी मैदानमा एकताबद्ध भई जान जातिवादी र क्षेत्रीयतावादीहरूसंग बनाइने मोर्चाले मुलुकमा गृहयुद्धको सिर्जना गर्नसक्ने त्रास उत्पन्न गराएको छ । प्रचण्डको यस्तो मोर्चालाई राष्ट्रवादी र प्रजातन्त्रवादीविरुद्धको मोर्चाका रूपमा लिइएको छ । उनले निर्माण गर्न खोजेको मोर्चाविरुद्ध राष्ट्रवादी र प्रजातन्त्रवादीहरू पनि मोर्चाबद्ध भए भने त्यसले देशमा धु्रवीकरणलाई मजबुत बनाउने र राष्ट्रिय सहमतिको सम्भावना अन्त्य गरी गृहयुद्धका निम्ति आधारभूमि निर्माण गर्ने चिन्ता थपेको छ ।

प्रचण्डले आफ्नो राजनीतिक धरातल गुमाएपछि उनी जातिवाद र क्षेत्रवादलाई बढावा दिन अग्रसर भएका छन् । त्यसनिम्ति उनले संविधानसभालाई पुनस्र्थापित गर्न अपरिहार्य ठानेका छन् र मृत्यु भइसकेको संविधानसभा ब्युंताउंदा आफ्नो सर्तमा संविधान निर्माण गर्न सकिने तथा सरकारको नेतृत्वसमेत आफैंले गर्न पाउने विश्वास प्रचण्डले गरेका छन् । संविधानसभा पुनस्र्थापित गर्न नसकिएमा राष्ट्रवादी र प्रजातन्त्रवादी शक्तिविरुद्ध सङ्घर्ष गर्ने र चुनाव भएमा चुनावी मैदानलाई समेत राष्ट्रवादी र प्रजातन्त्रवादी शक्तिविरुद्ध प्रयोग गर्ने रणनीतिक योजनाका साथ प्रचण्ड अघि बढ्न लागेका छन् । यसबीचमा उनले राष्ट्रवादी र प्रजातन्त्रवादीहरूसंग सडकमै लडेर ‘छिनोफानो’ गरिने घोषणासमेत गरिसकेका छन् । प्रचण्डको पछिल्लो कदम र घोषणाले मुलुकमा एकाएक तनाव बढाएको छ । देशको स्थिति झनै सङ्कटग्रस्त बन्ने सङ्केतहरू देखिन थालेका छन् । सरकार नछोड्ने र विपक्षीहरूसंग सडकमै लड्ने चुनौती दिएर प्रचण्डले अधिनायकवाद स्थापना गर्ने कसरत गरेका छन् । विपक्षी शक्तिले सडक सङ्घर्षबाट बाबुराम नेतृत्वको सरकारलाई विस्थापित गर्ने तयारी गरिरहंदा आएको प्रचण्डको अभिव्यक्तिले उनी मुलुकमा रगतको खोला बगाउन उद्यत् छन् भन्ने देखाएको छ ।
आमनेपाली जनता राष्ट्रिय एकता र प्रजातन्त्रको पक्षमा दृढतापूर्वक उभिएका छन् । जातिवाद र क्षेत्रवादका विरुद्ध जनता सडकमा उत्रिएका दिन प्रचण्डहरू बढारिने स्थिति कायम भए पनि त्यसले मुलुकमा अस्तव्यस्तताको स्थिति सिर्जना गर्ने निश्चित छ । सत्ताको आडमा शान्तिपूर्ण जनसङ्घर्षलाई दबाउन सडकसमेत कब्जा गर्ने प्रचण्डको योजना सफल भएमा मुलुकबाट प्रजातन्त्र मात्र विस्थापित हुने देखिंदैन, देश नै विखण्डितसम्म हुनसक्ने देखिन्छ । त्यसैले देशभक्त र प्रजातन्त्रवादी शक्तिहरूले धैर्यपूर्वक जिम्मेवारीपूर्ण भूमिका निर्वाह गर्नुपर्ने अवस्था आएको छ ।
प्रजातन्त्र संस्थागत नहुंदै प्रचण्डले माओवादी विचारको आड लिएर ०६२ मा हिंसात्मक सङ्घर्ष सुरु गरेका थिए । तर, उनको वैचारिक आन्दोलन केवल सत्ताका लागि मात्र थियो भन्ने समयाक्रममा पुष्टि भइसकेको छ । विचारले मात्र लडेर सत्ताप्राप्त गर्न नसकिने देखिएपछि प्रचण्डले ‘विदेशी प्रभु’समक्ष लम्पसार परी लिखित कबुलियतनामा गरेको तथ्य पनि सार्वजनिक भइ नै सकेको छ । भारतसंग लडाइं गर्न सुरुङ निर्माण गरेको बताएका प्रचण्डले नयांदिल्लीमा पुगी जे–जस्ता सम्झौता गरे त्यसले उनको दोहोरो चरित्रको उजागर गरेको छ । यिनी सत्ताका निम्ति जोसंग जस्तोसुकै सम्झौता गर्न पनि तयार छन् भन्ने उनको विगतले पुष्टि गरिसकेको छ । युद्धकालमा सत्ता साझेदारीका लागि तात्कालिक राजा ज्ञानेन्द्रसंग समेत गठबन्धन गर्ने प्रयासमा रहेका प्रचण्ड सत्ता हत्याउने अन्य अस्त्रहरू असफल भएपछि अहिले जातिवादी र क्षेत्रवादीहरूसंग गठबन्धन गर्ने तहमा पुगेका हुन् । प्रचण्डले उत्पादन गर्न चाहेको मोर्चाबन्दीलाई मोहन वैद्य किरण नेतृत्वको माओवादीले राष्ट्रघातीहरूबीचको गठबन्धनको संज्ञा दिएको छ । किरण पक्षले सीपी गजुरेलको संयोजकत्वमा राष्ट्रवादी वामपन्थीहरूको बेग्लै मोर्चा निर्माण गरेको छ । तर, नेपाली कांग्रेस र नेकपा एमालेलगायतका प्रजातन्त्र एवम् राष्ट्रिय एकताका पक्षधर शक्तिहरूले भने अहिलेसम्म बेग्लै मोर्चा निर्माणबारे कसरत गरेका छैनन् । अधिनायकवादी, जातिवादी र क्षेत्रीयतावादीबीचको गठबन्धनको काम र व्यवहार हेरिसकेपछि मात्र अगाडि कसरी जाने भन्नेबारेमा विचार गर्ने पक्षमा काङ्गे्रस–एमालेका नेताहरू रहेका छन् । बुधबार (साउन ३१ गते) गैरप्रजातन्त्रवादी र गैरराष्ट्रवादीहरूको मोर्चा घोषणा भइसकेपछि मोर्चाको रूपमा तिनको शैली हेरेर धारणा बनाउने सोच काङ्गे्रस–एमालेले बनाएको छ । शान्तिपूर्ण प्रजातान्त्रिक मुलुकलाई हिंसाको दुन्दुभीमा होमेर नपुगेपछि प्रचण्ड यतिबेला देश नै विघटन गराउने कुत्सित प्रपञ्चमा जुटेका छन् । उनी सफल भए भने नेपालमा गृहयुद्ध सुरु हुन अब धेरै समय प्रतीक्षा गर्नुपर्ने छैन । त्यसैले सम्पूर्ण देशभक्त र प्रजातान्त्रिक शक्तिहरू एकपटक फेरि राष्ट्ररक्षाका लागि एकजुट हुनैपर्ने अवस्था सिर्जना भएको छ ।
संविधानसभाले देश विखण्डन गरी मुलुकलाई जातीय द्वन्द्वमा होम्ने हो कि भन्ने चिन्ताले ग्रस्त नेपाली जनताले संविधानसभाको स्वाभाविक निधनपश्चात् राहतको सास फेरेका थिए । ‘अब नेपाल जोगियो’ भन्ने धेरैलाई लागेको पनि थियो । तर, अहिले नेपाली जनताको विश्वासमा प्रचण्डले फेरि चिसोपानी खन्याइदिएका छन् । जनता आफैं जागृत भएनन् भने अब नेपालको अस्तित्व जोगाउन कठिन हुनेछ ।

प्रतिक्रिया
सम्बन्धित खवर

गएराति आएको हुरीबतासले धनमालको क्षति भएको छ । प्रारम्भिक सूचनानुसार जिल्लामा ५० घरको छाना उडाएको जानकारी रेडक्रसले जनाएको छ ।

काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा थप ९०० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । फेला परेकोमा काठमाडौँ उपत्यकामा

खोटाङ । जन्तेढुङ्गा गाउँपालिका–५ चिसापानीका ३७ वर्षीय विज्ञान कोइरालालाई बेपत्ता भएको १९ वर्षपछि घर फर्काइएको छ । नेपालगञ्जमा भेटिनुभएका विज्ञानलाई

काठमाडौँ । कर्णाली प्रदेश सरकारमा मुख्यमन्त्री महेन्द्रबहादुर शाहीको पक्षमा मतदान गर्ने नेकपा एमाले (नेपाल-खनाल पक्ष) का चार जना सांसदहरूलाई कारबाही