स्वदेश फर्काउने भन्दै तिब्बती शरणार्थीलाई ठग्ने गरेको खुलासा

२९ श्रावण २०६९, सोमबार ०६:३० मा प्रकाशित

काठमाडौं, २९ साउन । राजधानी काठमाडौं लगायत विभिन्न स्थानमा बस्दै आएका तिब्बती शरणार्थीलाई स्वदेश फर्काउने भन्दै दलालहरुले मोटो रकम असुलेर ठग्न थालेको खुलासा भएको छ । गत शनिबार दुई तिब्बती पुरुष ठगिएको रहश्योद्घाटन भएपछि यससम्बन्धी चासो बढेको छ । दलालले प्रतिव्यक्ति ४ हजार चिनियाँ युआन अर्थात् करिव ५६ हजार रुपैयां लिएर सिन्धुपाल्चोकबाट तिब्बत प्रवेश गराएका उनीहरुलाई त्यहाँको प्रहरीले पक्रेर अध्यागमनलाई बुझाएपछि ठगीको रहस्य खुलेको हो। कुनै कागजात नभएपछि पक्राउ परेका उनीहरुलाई अध्यागमनले आइतबार विभागमा पठाएको छ। भारतमा आठ वर्ष बसेर पाँच सातादिनअघि काठमाडौं आइपुगेका उनीहरुलाई दलालले रकम लिएर गतशनिबार सिन्धुपाल्चोकको तातोपानीस्थित १० किलोमा पुर्याएर झारिदिएका थिए। भाटेकोसीमा पुल तरेर तिब्बती सीमा प्रवेश गर्नासाथ उनीहरु पक्राउ परेका थिए ।
अज्ञानताको फाइदा उठाउँदै दलालले चलखेल गर्दा तिब्बती शरणार्थी ठगिने क्रम बढ्दो छ। अध्यागमन कार्यालय कोदारीका अनुसार यसरी ठगिने तिब्बतीको संख्या बर्षेनी बढ्दो छ। घर फिर्तीको लागि भनेजति रकम तिर्ने उनीहरु फर्कन त सक्दैनन् नै, न पैसा फिर्ता पाउँछन्, बरु बीचमा पक्राउ परेर थप लफडामा फस्छन्। ुतिब्बत फर्काइदिने भन्दै शरणार्थीलाई ठग्ने गिरोह सक्रिय भइरहेको छ।
‘दलाल यही आएर छोडेर फर्केको रहेछ। तर, नाम भने बताउन सकेनन्,’ अध्यागमन अधिकृत जगन्नाथ शर्माले अधिकृत शर्माले भने। घरमा बुढा आमाबाबु मात्रै भएको बताउने एक तिब्बतीले टेलिफोनमा ४ हजार युआन भए फर्कन सकिने जानकारी गराएपछि परिवारले रकम पठाएका थिए। ‘राहदानी लगायत कागजात काठमाडौंमा छुटेको उनीहरु बताउँदै थिए। कागजात भए निर्धक्क स्वदेश फर्कन पाइन्छ,’ अज्ञानताले तिब्बती ठगिइरहेको उल्लेख गर्दै शर्माले भने।
गत चैतमा मात्रै पाँच जना तिब्बती शरणार्थीलाई दलालले यसै गरी ठगेका थिए। घर फर्कन दलाललाई १३ हजार युआन अर्थात् झण्डै १ लाख ८२ हजार रुपैयांका दरले रकम बुझाएका उनीहरुलाई नाकामा पक्राउ गरेर राजधानी नै फर्काइएको थियो। नाकाबाट पक्राउ परेका अधिकांश शरणार्थी दलालबाट ठगिएको अधिकृत शर्माको कथन छ । ‘पक्राउपछि घर जान पनि पाइएन, पैसा पनि सकियो भनेर रुन्छन्, कराउँछन्,’ उनले भने।
२०६८ वैशाखयता २७ जना तिब्बती शरणार्थी पक्राउ परेको अध्यागमन कार्यालयको तथ्यांक छ। गत वर्ष १३ जना पक्राउ परेका थिए। बैशाखयता चार महिनामा मात्र १४ जना तिब्बती पक्राउ परिसकेका छन्। पक्राउपछि अध्यागमन विभाग हुँदै बसोबास गर्दै आएको स्थानमा फर्काइएका उनीहरुमध्ये आठ जना बाहेक सबैले घर फर्कन रकम बुझाएको उल्लेख गरेका थिए। स्वदेश पठाइ दिने भन्दै रकम असुल्नेको नाम भने कसैले बताउन सक्दैनन् ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले ३२ सांसदलाई कारबाही प्रक्रिया अगाडि बढाएपछि सर्वोच्च अदालत पुगेका छन्।

काठमाडौं । नेकपा एमालेका नेता माधवकुमार नेपालले प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँगको भेटमा कुनै प्रगति नभएको नेता

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आगामी असार महिना सम्ममा नेपालमा तीन लाख व्यक्तिमा कोभिड–१९ संक्रमण देखा पर्नसक्ने अनुमान गरेको

भारतमा कोरोना भाइरसको महामारी अति भयावह अवस्थामा पुगेको छ। पछिल्लो २४ घण्टामा मात्र भारतमा तीन लाख भन्दा बढि संक्रमित थपिएका