वैदेशिक रोजगारमा भ्रष्टाचार उत्कर्षमा

२५ श्रावण २०६९, बिहीबार १२:४० मा प्रकाशित

काठमाडौं, २५ साउन । वैदेशिक रोजगार सम्वन्धि ठगी गरेको आरोपमा नेपाल प्रहरीको केन्द्रिय अनुसन्धान व्यूरो (सिआइवी)ले पक्राउ गरी विभाग पेश गरेका सिन्धुपाल्चोकका दयाराम पण्डित उर्फ ईश्वर न्यौपानेलाई विभागको उजुरी शाखाले तीनलाख धरौटीमा छाडेको छ । दैनिक सयौंको संख्यामा वैदेशिक ठगीका उजुरीहरु आए पनि विभागले भने सामान्य धरौटी वा पिडकसंग अवैध रकम असुलेर छाड्ने छाड्ने गरिन्छ ।
वैदेशिक रोजगार विभागमा एकवर्ष यता लुकीछिपी मौलाएको भ्रष्टाचार फेरि खुल्ला हुन थालेको छ । विभाग परिसरमा रहेको एभरेष्ट वैंक र एजेन्टको मिलमतोमा एकै व्यक्तिले दर्जनौ राजस्व काटी अनियमितता हुने गरेको हो । गतवर्ष कार्तिकपछि रोजगारीमा जाने सम्वन्धित व्यक्ति नै लाइनमा बसेर राजस्व काटी व्यक्तिगत श्रमस्वीकृति निकाल्नु पर्ने व्यवस्था गरिएको थियो । त्यो अहिले पनि कायम छ । लाइनमा बसेपनि प्रतिव्यक्ति पाँचहजार देखि पच्चीस हजारसम्म अवैध रकम तिर्न कामदार वाध्य भएका छन नयाँ श्रमस्वीकृतिमा । नविकरणमा लाइनमा नवसे प्रतिव्यक्ति एक हजार अनियमित रकम तिर्नु पर्छ । एकवर्ष अगाडि भने राजस्व, इन्सुरेन्स र श्रमस्वकिृति एजेन्टहरुले नै गरिदिन्थे । करिव पैंतालीस सयदेखि छ हजारसम्ममा श्रमस्वीकृति निस्कन्थ्यो । महिलाको हकमा भने दस हजारसम्म लाग्ने गर्दथ्यो । यो अहिले पच्चीस हजारसम्म पुगेको छ । पहिला सबै डुब्लिकेट कागजात हुन्थे भने अहिले नक्कली भए पनि दुतावास प्रमाणित छन् ।
पूर्वस्वीकृति शाखामा कोटा सिस्टमका आधारमा अवैध रकम असुल्ने गरिएको श्रोतले उल्लेख गरेको छ । एकवर्ष अगाडि पूर्व र अन्तिम स्वीकृतिमा कोटा सिस्टम नै लागु थियो । प्रतिव्यक्ति सातसयदेखि माथि अवैध रकम असुलिन्थ्यो । हाल सयजना वरावरको पूर्व स्वीकृतिमा चालिसहजारसम्म तिर्नुपर्ने वाध्यता रहेको छ । यसरी निकालएका कतिपय पूर्वस्वीकृतिलाई अन्तिम श्रमस्वीकृतिमा सेटिङ्ग गरिन्छ । सेटिङ्गमा प्रतिव्यक्ति एकहजारसम्म लिने गरिएको श्रोतको दावी छ । भ्रष्टाचार नियन्त्रण गर्न विभागमा सिसिटिभि जडान गरिए पनि खासै यसको प्रभाव देखिएको छैन । अहिले कार्यालयभित्रै अवैध रकमको वार्गेनिङ हुने गरेको छ । एजेन्टलाई वरिपरी राखेर वा एजेन्टमार्फत एसएमएसबाट नाम, नम्बर लिएर अहिले पनि व्यक्तिगत श्रमस्वीकृति दिने गरिन्छ । लाइनमा बसे पनि एजेन्टको पहिचान भएपछिमात्र श्रमस्वीकृति निस्कन्छ ।
वैदेशिक रोजगार ऐन २०६४ ले विभागलाई कडा कार्वाही गर्ने अधिकार प्रदान गरे पनि अवैध रकमकै भरमा दोषीलाई उन्मुक्ति दिने गरिएको छ । जसका कारण दैनिक वैदेशिक रोजगार सम्वन्धि ठगी बढ्ने गरेका छन् । इजाजत नलिइ वैदेशिक रोजगार सम्वन्धि कुनै पनि कार्य गर्न पाइदैन, गरे पचास प्रतिसत हर्जाना सहित तीनलाख देखि पाँचलाख रुपैयाँ सम्म जरिवाना र तीनवर्ष देखि सातवर्ष सम्म कैद र विदेश नपठाइ सकेको भए त्यसको आधा सजायँ उक्त ऐनको परिच्छेद ९ को कसुर र दण्ड सजाय, दफा ४३ मा उल्लेख छ । तर विभागले गरेका हजारौं यस्ता कार्वाहीमा अहिलेसम्म एकजना पनि व्यक्ति यी दण्ड सजायको भागी भएका छैनन् । यसले पनि के प्रष्ट देखाउँछ भने विभागको उजुरी शाखा कमाइ खाने भाँडोको रुपमा विकसित भएको छ ।
कुनै समय नेपाल कर्मचारी युनियनका अध्यक्षसमेत रहेका शक्तिसाली कर्मचारी नेता भवानी थानीको विभागमा कन्तविजोग हुन थालेको श्रोतले उल्लेख गरेको छ । उनी कांग्रेस समर्थक कर्मचारी हुन् । डा. बाबुराम भट्टराइको ठडो निर्देशनमा भ्रष्टाचार नियन्त्रण गर्न विभाग आएका महानिर्देशक पूर्णचन्द्र भट्टराइलाई विभिन्न शक्तिपिठबाट दवाव आएपछि राम्रो आम्दानी हुने शाखामा भिन्न दलनिकट कर्मचारीलाई ठाउं दिनुपर्ने वाध्यतामा भट्टराई परेका छन् । जसका कारण कतिपय प्रतिपक्षी कर्मचारीहरुले बस्ने कुर्सी समेत पाएका छैनन् ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौ ।नेपाली कांग्रेसको १४औं महाधिवेशनअन्तर्गत अहिले विभिन्न जिल्लामा पालिका तहको अधिवेशन जारी छ । शनिबारदेखि ५४ जिल्लामा पालिका तहको अधिवेशन

काठमाडौं । जसपा नेता डा. बाबुराम भट्टराईले पाँच ‘स’को सपना देखेर एकीकृत माओवादी त्यागेको ६  वर्ष पूरा भएको छ । संविधान

काठमाडौं । यदि संसद् सचिवालयमा कार्यरत एक महिलासँग अन्तरंग सम्बन्ध जोडिएको घटना सार्वजनिक नभएको कृष्णबहादुर महराले अहिले माओवादी केन्द्रमा ठूलै

काठमाडौं ।सत्तारुढ गठबन्धनको बैठकमा मन्त्रिपरिषद् विस्तारका लागि नयाँ मन्त्री नियुक्त गर्नुअघि राजनीतिक दलसम्बन्धी अध्यादेशबारे निर्णय गर्नुपर्ने सहमति भएको छ ।