किन आउंदैछिन् चिनीयां उपमन्त्री ? – (समाचार टिप्पणी)

२५ श्रावण २०६९, बिहीबार ०९:११ मा प्रकाशित

काठमाडौं, २५ साउन । नेपालप्रति अत्यन्त चासो राख्ने तर सकभर त्यसको आभास दिलाउन नचाहने उत्तरी छिमेकी चीनको नेपाल मामिलाका पछिल्ला गतिविधि लुकाएर लुक्न नसक्नेगरी प्रकट हुन थालेका छन् । तिब्बती शरणार्थी मामिलाका कारण मात्र नेपाललाई महत्व दिइरहेको चीनले प्रधानमन्त्री डा. बाबुराम भट्टराईलाई अझै पनि भारतप्रति वफादार व्यक्तिका रुपमा हेर्ने गर्छ भन्ने विभिन्न घटनाले उजागर गरेका छन् । डेढ महिनाअघि ब्राजिलमा प्रधानमन्त्री भट्टराईको अनेक कोशिसका बावजुद चिनीयां प्रधानमन्त्रीले भेट नदिएको प्रसङ्ग अझै सेलाइसकेको छैन । जबकि ‘समय छैन’ भन्दै भट्टराईलाई टारेका चिनीयां प्रधानमन्त्रीले त्यहां भुटानी प्रधानमन्त्रीसंग पौने घण्टा भलाकुसारी गरेका थिए । यसरी चीनका तर्फबाट उपेक्षित भएर पनि भट्टराईले भने चीनप्रतिको मोह दर्शाउने चेष्टामा कत्ति पनि कमी नगरेको प्रतीत हुन्छ । उनको यस चीनमोहलाई चीनले आफ्नो स्वार्थमा राम्रैसंग ‘उपयोग’ गर्ने सम्भावना बढेको विश्लेषकहरुको बुझाई छ ।
यसै क्रममा चिनिया उपमन्त्री फु यिङको नेतृत्वमा परराष्ट्र मन्त्रालयको प्रतिनिधिमण्डल भुटान हुँदै नेपाल आउने भएको छ। आगामी २९ गते काठमाडौंमा शुरु हुने नेपाल९चीन परराष्ट्रसचिव स्तरको संयन्त्र बैठकमा भाग लिन काठमाडौं आउन लागेको पाँच सदस्यीय प्रतिनिधिमण्डल बुधबार नै बेइजिङबाट भुटानको राजधानी थिम्पु प्रस्थान गरेको बुझिएको छ। आफ्ना अधिकारीहरुको विदेश भ्रमणलाई अत्यन्त गोप्य र रहश्यमै राख्न खोज्ने चिनीयां प्रवृत्ति रहंदै आएको भएपनि उपमन्त्री फु यिङको भ्रमण तालिकामा अब फेरबदल हुने सम्भावना निकै कम रहेको स्रोतको दाबी छ ।
गत पुसमा भएको प्रधानमन्त्री वेनको भ्रमणपछि चीनको सरकारी तहबाट हुन लागेको यो नै उच्च भ्रमण हो। उपमन्त्री यिङले संविधानसभा विघटनपछिको राजनीतिक परिस्थिति बुझ्न प्रधानमन्त्री बाबुराम भट्टराईसहित प्रमुख पार्टीका शीर्ष नेतासँग भेटवार्ता गर्ने कार्यक्रम रहेको बताइएको छ। परराष्ट्रमन्त्री याङ जेइचीपछि चीनको परराष्ट्र मन्त्रालयमा उपमन्त्री यिङ तेस्रो उच्च अधिकारी हुन्। एसिया, सीमा र समुद्री मामिला उनको प्रमुख जिम्मेवारी तोकिएको छ।
तीन दिन थिम्पुमा रहँदा प्रतिनिधिमण्डलले चीन९भुटानबीच कुटनीतिक सम्बन्ध स्थापनाबारे छलफल गर्ने बताइएको छ ।उपमन्त्री यिङले प्रधानमन्त्रीस्तरीय सहमती कार्यान्यनबारे थिम्पुमा छलफल गर्ने भएकाले यो भ्रमणलाई चीन९भुटान सम्बन्धमा महत्वपूर्ण मानिएको छ। भारतको सुरक्षा छाताभित्र रहेको भुटानको चीनसँग औपचारिक कुटनीतिक सम्बन्ध बनाउने प्रयासलाई यस क्षेत्रमै चासोका साथ हेरिएको छ।
उपमन्त्री यिङ थिम्पुबाट २७ गते शनिबार काठमाडौं आउने र सोमबार परराष्ट्र मन्त्रालयका सचिवसँग संयन्त्र बैठकमा सहभागी हुने कार्यक्रम रहेको बताइएको छ। नेपाल र चीनबीच परराष्ट्रमन्त्री र परराष्ट्र सचिवस्तरीय दुईवटा संयन्त्र निर्माण गरिएको छ, चार वर्षपछि अहिले सचिव स्तरीय संयन्त्र बैठक हुन लागेको हो। चिनिया प्रधानमन्त्रीको भ्रमणको क्रममा दुई देशबीच भएका सहमती कर्यान्वयनका विभिन्न पक्षबारे छलफल हुने भएकाले अहिलेको काठमाडौँ बैठक महत्वपूर्ण हुने अनुमान गरिएको छ ।
पश्चिम सेती जलविद्युत परियोजना, पोखरा क्षेत्रीय विमानस्थल निर्माण लगायत प्रधानमन्त्रीको भ्रमणयता चिनियां पक्षसँग भएका महत्वपूर्ण सम्झौता कार्यान्वयनमा देखिएका समस्याबारे बैठकमा समीक्षा हुने बुझिएको छ ।
यसैबीच चिनीयां उपमन्त्रीको भ्रमणका सन्दर्भमा प्रतिक्रिया दिंदै नेपाल रिपब्लिक पार्टीका अध्यक्ष सिद्धार्थ गौतमले चिनीयां कम्युनिष्टहरु विभिन्न बहानामा नेपाल आई प्रजातन्त्रलाई कमजोर तुल्याउने र कम्युनिष्टहरुलाई उक्साउने कार्य गरिरहेको दाबी गरे । जुनबेला मन लाग्यो त्यहीबेला नेपाल आएर नेपाललाई ‘कम्युनिष्ट कन्ट्रोल कन्ट्री’का रुपमा मुट्ठीमा लिने चिनीयां प्रयास निकै अघि बढिसकेको उनले बताए । उपमन्त्री फु यिङको भ्रमण पनि उपरोक्त मिसनकै एक कडी भएको गौतमको कथन छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

विगत २४ घण्टामा एक हजार ५५८ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सार्वजनिक गरेको तथ्याङ्कअनुसार

कोरोनाको प्रभाव घटेसँगै बजारमा लगानीयोग्य रकमको अभाव देखिन थालेपछि बैंकहरूले ब्याजदर बढाएका छन् । आजदेखि लागू हुनेगरी अधिकांश बैंकले ब्याजदर

काठमाडौं । सत्ता गठबन्धनको महत्त्वपूर्ण घटक नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले आउँदो साताभित्र मन्त्रिपरिषद् विस्तारले पूर्णता पाउने संकेत गरेका

काठमाडौँ । कोरोना भाइरसविरुद्धको खोप उपत्यकामा अधिकांशले लगाइसकेका छन् । यो खोप उपत्यकामा पहिलो मात्रा ४४.३३ प्रतिशत र पूर्ण मात्राको