माओवादीभित्र नवधनाड्यको लर्को, अकुत कमाउनेको छानबिन गर्नेहरूविरुद्ध नै उजुरी

२५ श्रावण २०६९, बिहीबार ०७:३५ मा प्रकाशित

काठमाडौं, साउन २५ । पार्टी नेतृत्वमा रही भ्रष्टाचार र अनियमितता गरेर अकुत सम्पत्ति कमाएको बारेमा छानबिन गर्ने समितिमा रहेका व्यक्तिविरुद्ध नै भ्रष्टाचार गरेको भन्दै उजुरी परेको छ । छानबिन गर्ने व्यक्तिविरुद्ध नै भ्रष्टाचार गरेको पुष्टिसहितको उजुरी परेपछि नेताका सम्पत्ति छानबिन गर्न गठित समितिको औचित्यमाथि प्रश्नचिह्न खडा भएको छ ।

एमाओवादीको सातौं विस्तारित बैठकमा सहभागीहरूले चर्को आवाज उठाएपछि पार्टी अध्यक्षलगायत केन्द्रीय तथा जिल्लास्तरीय नेताहरूको सम्पत्ति छानबिन गर्न भन्दै सचिवालय सदस्य अमिक शेरचनको नेतृत्वमा तीन सदस्यीय छानबिन समिति गठन गरेको थियो । समितिमा नवराज सुवेदी र लोकेन्द्र विष्टमगर सदस्य रहेका छन् ।

स्रोतका अनुसार समितिका संयोजक शेरचन र विष्टमगरले पनि पार्टीको नेतृत्वमा रहेर अकुत सम्पत्ति कमाएको र आफन्तको नाममा राख्न दिएको भन्दै उजुरी परेको छ । तर, समितिका अर्का सदस्य सुवेदीका नाममा भने उजुरी परेको छैन । समितिका संयोजक र सदस्यले नै भ्रष्टाचार गरेर सम्पत्ति आर्जन गरेको भन्दै उजुरी परेपछि त्यसबारे के गर्ने भन्नेबारेमा कुनै निर्णय गरिएको छैन । तर, आफूहरूविरुद्धमा पनि उजुरी परेपछि त्यसबारे कसरी छानबिन गर्नेबारेमा अन्तिममा मात्र निर्णय गर्ने उनीहरूले आन्तरिक सहमति गरेका छन् । सहमतिअनुसार समितिका सदस्यमाथि परेको उजुरीबारे बाहिर केही सार्वजनिक नगर्ने सहमतिसमेत भएको बुझिएको छ । आफूमाथि परेको उजुरीबारे नेता शेरचनले केही बताउन चाहेनन् । ‘कस्तो उजुरी परेको छ, कसको नाममा परेको छ भन्नेबारे समितिमा रहेका सदस्यबाहेक अरूलाई जानकारी हुंदैन,’ उनले थपे, ‘उजुरीका बारेमा अध्यक्षलाई जानकारी हुंदैन ।’

तपाईंविरुद्ध पनि उजुरी परेको छ भन्ने आयो नि भन्ने प्रश्नमा शेरचनले भने, ‘मविरुद्ध पनि उजुरी परेको छ, जानकारी कहांबाट आएको हो उतै सोध्दा राम्रो हुन्छ ।’ उनी आफैंविरुद्ध उजुरी परेको या नपरेको भन्नेबारेमा केही बताउन मिल्दैन र बताउने कुरा पनि होइन भन्दै पन्छिए ।

स्रोतका अनुसार अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, उपाध्यक्षद्वय बाबुराम भट्टराई, नारायणकाजी श्रेष्ठ, पोष्टबहादुर बोगटी, टोपबहादुर रायमाझी, हिसिला यमी, चन्द्रबहादुर थापा, शालिकराम जम्कटेल, वर्षमान पुन, दीननाथ शर्मा, अग्नि सापकोटा, शक्ति बस्नेत, विभिन्न शिविरका लडाकु प्रमुखहरूलगायतका व्यक्तिहरूको नाममा उजुरी परेको छ । समितिका एक सहयोगीका अनुसार पार्टीका सबैजसो केन्द्रीय नेताहरूको नाममा उजुरी परेका छन् । पछि पार्टी एकीकरण हुंदा माओवादी बनेका अन्य साना दलका नेताहरूबारे भने त्यति धेरै उजुरी परेका छैनन् । ती अधिकारीका अनुसार पार्टी विभाजन भएर अर्कै पार्टीमा गएका नेताहरूको नाममा समेत उजुरी परेको छ ।

पार्टीभित्रको सबैभन्दा अनियमितता अध्यक्ष प्रचण्डबाटै भएको र प्रचण्डले आफ्ना आफन्तको नाममा सम्पत्ति जोडेको, आफ्नै लगानीमा पार्टीनिकट व्यापारीको नाममा राजधानीका विभिन्न स्थानमा महल तथा टावर बनाएको, विदेशका विभिन्न बैंकमा पैसा राखेको लगायतको उजुरी परेको छ । त्यस्तै प्रधानमन्त्रीपत्नीसमेत रहेकी यमीका विरुद्धमा पनि त्यस्तै प्रकृतिको उजुरी परेको छ । उजुरीमा यमीले बनेपामा जग्गा खरिद गरेको, माइतीपट्टिका आफन्तहरूका नाममा विभिन्न बैंकहरूमा पैसा राखेकोलगायतको आरोप लगाइएको छ ।

स्रोतका अनुसार सोच्दै नसोचेका व्यक्तिहरूका विरुद्धमा पनि उजुरी परेको छ । समितिले नेताहरूले भ्रष्टाचार गरेकोबारे उजुरी दिन भन्दै पार्टी कार्यालयमा उजुरीपेटिका नै राखेको छ भने इमेल, टेलिफोन र मौखिक रूपमा पनि उजुरी दिन सक्ने व्यवस्था गरेको छ । समितिका एक सदस्यका अनुसार सम्पत्ति छानबिनको सुरुवात अध्यक्ष प्रचण्ड र उपाध्यक्षहरू डा. भट्टराई र नारायणकाजी श्रेष्ठ हुंदाहुंदै अन्य नेताहरूबारे सम्पत्ति छानबिन अघि बढाइने सेड्युल बनाएको थियो । सेड्युलअनुसार अध्यक्षबाटै सम्पत्ति छानबिन गरेपछि अध्यक्षको नाममा कुनै सम्पत्ति नभेटिएको स्रोतले बतायो ।

एक सदस्यका अनुसार अध्यक्ष प्रचण्डको सम्पत्तिबारे भतिजासमेत रहेका सहयोगी समीर दाहालसंग सामान्य सोधपुछ गरिसकेको छ । अन्य केन्द्रीय नेताहरूलाई आफ्नो सम्पत्ति विवरण दिन भनिएको छ । समितिले आजसम्म उजुरी दिने अन्तिम दिन भएकोले त्यसबारे भोलिबाट औपचारिक काम सुरुवात गर्ने भनिए पनि आन्तरिक रूपमा आफ्ना काम सुरु भइसकेको समितिका एक सदस्यले दाबी गरेका छन् ।

समितिले आज साउन २५ गतेसम्म आएका उजुरी लिने भएको छ । समितिले बेनामे उजुरी पनि हाल्न सकिने स्पष्ट पारेपछि धेरैजसो उजुरी बेनामे परेका छन् । स्रोतका अनुसार बेनामे उजुरी केन्द्रीय नेताहरूको नाममा परेका छन् । उजुरीका आधारमा आयोगले अनैतिक तरिकाले नेताहरूले कमाएको देखिएमा सम्पत्ति जफत गर्न सिफारिस गर्नेसम्मको अधिकार समितिलाई रहेको दाबी गरिएको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

नेपालगन्ज । बाँकेको भेरी अस्पतालमा १९० नमुना परीक्षण गर्दा ५५.७८ प्रतिशतमा कोरोना पोजेटिभ देखिएको छ । पछिल्लो २४ घण्टामा १९०

बैतडी । हतौडा प्रहारबाट बैतडीमा आज एक बालकको हत्या भएको छ । दशरथचन्द नगरपालिका–१ झोकालीका १५ वर्षीय महेश भुलको हत्या

काठमाडौ । सरकारले शहरी क्षेत्रका विद्यालयहरु आगामी वैशाख मसान्तसम्म बन्द गर्न सिफारिस गरेको छ । कोभिड – १९ व्यवस्थापन केन्द्र

काठमाडौँ। प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना भाइरस (कोभिड–१९) को समस्या समाधानका लागि सबै दलसँग सहयोगको आग्रह गरेका छन् । प्रधानमन्त्री