कांग्रेसको नेतृत्वमा सरकार बन्न सक्छ : दाहाल

२३ श्रावण २०६९, मंगलवार १९:४६ मा प्रकाशित

काठमाडौँ, २३ साउन । मुलुकमा विद्यमान राजनीतिक सङ्कटको समाधान सहमतिबाट मात्र हुनेमा नेताहरुले जोड दिएका छन् । अन्तर पार्टी महिला सञ्जालद्वारा आज ललितपुरमा आयोजित एक दिवसीय विचार गोष्ठीमा एनेकपा (माओवादी)का अध्यक्ष पुष्पकमल दाहालले संविधान निर्माणका क्रममा देखिएका विवादित विषयहरु समाधान गर्न तयार भए नेपाली काँग्रेसको नेतृत्वमा सरकार गठन हुन सक्ने बताउनुभयो ।
उहाँले भन्नुभयो, “विगतमा प्रमुख राजनीतिक दलहरुबीच भएको पाँचबुँदे सहमतिअनुसार संविधान निर्माण गर्ने सहमति भएमा काँग्रेसको नेतृत्वको सरकार स्वीकार्य हुन सक्ने, त्यो हुन नसके नयाँ सहमति खोजिने छ ।”
अध्यक्ष दाहालले राजनीतिक दलहरुबीच सहमति गरी चुनावी सरकार गठन गर्न सक्ने सङ्केत गर्दै सरकारको नेतृत्व नागरिक समाज, राजनीतिक दलका नेताहरु जोकोहीले पनि गर्न सक्ने उल्लेख गर्नुभयो ।
सो अवसरमा नेपाली काँग्रेसका सभापति सुशील कोइरालाले वर्तमान राजनीतिक सङ्कटको समाधानका लागि राष्ट्रिय सहमतिको सरकार आवश्यक रहेको बताउँदै त्यसका लागि प्रधानमन्त्री डा बाबुराम भट्टराईले मार्गप्रशस्त गर्नुपर्छ भन्नुभयो । उहाँले सबै राजनीतिक दलहरु आ–आफ्नो जिम्मेवारीपूर्वक विश्वासका साथ प्रस्तुत हुनुपर्नेमा जोड दिँदै विद्यमान सङ्कट लामो समयसम्म कायम रहेमा मुलुक अफगानिस्तान जस्तै हुने खतरा हुन्छ भन्नुभयो ।
नेकपा (एमाले)का अध्यक्ष झलनाथ खनालले मुलुकमा राजनीतिक सहमति नै चाहिएको छ भन्दै विद्यमान सङ्कट समाधान गर्न सकिएन भने मुलुक कहिले पनि अगाडि बढ्न सक्दैन भन्नुभयो ।
उहाँले राष्ट्रिय सहमतिको सरकारले मात्र विद्यमान सङ्कटको समाधान गर्न सक्छ भन्दै त्यसका लागि अब सबै राजनीतिक दलहरु नयाँ ढङ्गले जानु जरुरी छ भन्नुभयो । नेकपा–माओवादीका अध्यक्ष मोहन वैद्यले विद्यमान सङ्कटको समाधानको एकमात्र बाटो सहमति भएको बताउँदै यदि सहमति भएन भने मुलुकको स्थिति गम्भीर र भयावह हुनेछ भन्नुभयो ।     उहाँले राजनीतिक दलहरुबीच गोलमेचसभामार्फत सम्पूर्ण नेपाली जनताको समस्याको समाधान हुनेखालको संविधान बनाउनेतर्फ केन्द्रित भई गम्भीरतापूर्वक छलफल गरी अगाडि जानुपर्नेमा जोड दिनुभयो ।
नेकपा (माले)का महासचिव सिपी मैनालीले सहमति निकाल्नेतर्फ केन्द्रित भएर राजनीतिक दलहरुबीच गम्भीररुपमा छलफल अगाडि बढाउनुपर्छ भन्नुभयो । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष पशुपति शम्शेर जबराले राजनीतिक दलहरुबीच पहिले राष्ट्रिय सहमतिको सरकारका लागि छलफल हुनुपर्ने र त्यस्तो सरकारको गठनपश्चात् बाँकी विषयमा एउटा खाका तयार पारेर अगाडि बढ्न सकिन्छ भन्नुभयो ।
अन्तर पार्टी महिला सञ्जालका अध्यक्ष उर्मिला पाण्ड्यको सभापतित्वमा भएको उक्त कार्यक्रममा सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महतो, नेकपा (संयुक्त)का चन्द्रदेव जोशी, सद्भावना पार्टी (आनन्दीदेवी)का अध्यक्ष देवेन्द्र मिश्र र महिला सञ्जालका महासचिव जनककुमारी चालिसेलगायतले आ–आफ्नो मन्तव्य व्यक्त गर्नुभएको थियो ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । नेपाली कांग्रेसले आसन्न १४औँ महाधिवेशनको सन्दर्भमा पार्टीको क्रियाशील सदस्यताको विवरण केन्द्रमा बुझाउने समयावधि पुनःथप गरेको छ । जिल्ला

काठमाडौं । हालै भारत भ्रमणबाट फर्किएका पूर्वराजा ज्ञानेन्द्र शाह दम्पतीलाई कोरोना संक्रमण पुष्टि भएको छ । आइतबार स्वादेश फर्किएका उनीहरुले

काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (एमाले) ले ३२ जना सांसदको पद खोस्न सूचि तयार पारेको छ । संघीय

काठमाडौं । अर्थमन्त्री विष्णुप्रसाद पौडेलले गैरआवसिय नेपालीहरुलाई नेपालमा पूँजीसँगै सिप र प्रविधि पनि भित्राउन आग्रह गरेका छन् । अर्थ मन्त्रालय