मुख्यसचिवलाई पहिलो गांसमै ढुंगा

२३ श्रावण २०६९, मंगलवार ०७:१७ मा प्रकाशित

काठमाडौं, २३ साउन । प्रधानमन्त्री बाबुराम भट्टराईको विशेष चाहना एवम् पहलमा नवनियुक्त मुख्यसचिव लीलामणि पौडेलका आगामी दिन मातहतका कर्मचारीका असहयोगका कारण असहज र कठिन बन्ने सम्भावना देखिएको छ । मुख्यसचिव पौडेलले सोमबार बोलाएको पहिलो सचिव बैठकमा वरिष्ठ छ जनाले सचिवले बहिष्कार गरेका छन् । मुख्यसचिवको दाबेदारसमेत रहेका ती सचिवहरु मन्त्रिपरिषदले पौडेललाई मुख्यसचिवमा बढुवा गरेपछि असन्तुष्ट रहंदैआएका थिए । पौडेलले सोमबार बिहान १० बजे मुख्यसचिवमा बहाली गरेपछि ११ बजे सचिव बैठक बोलाएका थिए । बैठक बहिष्कार गर्ने सचिवमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगका भगवती काफ्ले, सहरी विकास मन्त्रालयका ताना गौतम, राष्ट्रपति कार्यालयका वामनप्रसाद न्यौपाने, महिला, बालबालिका तथा समाज कल्याण मन्त्रालयका बालानन्द पौडेल, सिंचाइ मन्त्रालयकी वृन्दा हाडा भट्टराई र उद्योग मन्त्रालयका उमाकान्त झा छन् । काफ्ले, गौतम, न्यौपाने र पौडेल आफूभन्दा कनिष्ठ पौडेललाई मुख्यसचिव बनाएकामा असन्तुष्ट छन् भने मुख्यसचिवको दौडमा लागेका हाडा र झा पनि आफ्नो असन्तुष्टि प्रकट गर्न बैठकमा अनुपस्थित रहेको बुझिएको छ । ती छ सचिव प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयमा आइतबार भएको निवर्तमान मुख्यसचिव माधव घिमिरेको बिदाइ कार्यक्रममा समेत अनुपस्थित रहेका थिए ।
बैठकमा उपस्थित नहुने सचिवहरुका मन्त्रालय र निकायबाट निमित्तसचिवका रूपमा सहसचिव सचिव बैठकमा सहभागी भएका थिए । बैठकमा अनुपस्थित छ जना सोमबार कार्यालयमा भने उपस्थित थिए । निजामती सेवा ऐनको ज्येष्ठता र कार्यकुशलताका आधारमा बढुवा गर्ने व्यवस्थाविपरीत कनिष्ठ पौडेललाई मुख्यसचिव बनाएकामा असन्तुष्टि व्यक्त गर्दै सचिवहरू शंकर कोइराला, त्रिलोचन उप्रेती, सुशीलजंग राणा, अवनीन्द्र श्रेष्ठ र श्याम मैनालीले दिएको राजिनामा सरकारले स्वीकृत गरिसकेको छ ।
सचिव बैठकले मुख्यसचिव पौडेलको प्रस्तावमा हरेक महिनाको पहिलो आइतबार ९ बजे सचिव बैठक गर्ने निर्णय गरेको छ । यसअघि निश्चित दिन नतोकिएकाले सचिव बैठक नियमित रूपमा बस्न सकेको थिएन । सचिव बैठकलाई नियमित गर्न हरेक महिनाको पहिलो दिन बस्ने तय गरिएको हो । सचिव बैठकलाई पारदर्शी बनाउन तथा त्यसका छलफल र निर्णयलाई आमजनतासमक्ष पुर्‍याउन प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयका सचिव जयमुकुन्द खनाललाई प्रवक्ता तोकेको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

गएराति आएको हुरीबतासले धनमालको क्षति भएको छ । प्रारम्भिक सूचनानुसार जिल्लामा ५० घरको छाना उडाएको जानकारी रेडक्रसले जनाएको छ ।

काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा थप ९०० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । फेला परेकोमा काठमाडौँ उपत्यकामा

खोटाङ । जन्तेढुङ्गा गाउँपालिका–५ चिसापानीका ३७ वर्षीय विज्ञान कोइरालालाई बेपत्ता भएको १९ वर्षपछि घर फर्काइएको छ । नेपालगञ्जमा भेटिनुभएका विज्ञानलाई

काठमाडौँ । कर्णाली प्रदेश सरकारमा मुख्यमन्त्री महेन्द्रबहादुर शाहीको पक्षमा मतदान गर्ने नेकपा एमाले (नेपाल-खनाल पक्ष) का चार जना सांसदहरूलाई कारबाही