प्रहरीलाई घुस नबुझाएपछि…

२१ श्रावण २०६९, आईतवार १९:४४ मा प्रकाशित

नेपालगञ्ज, साउन २१ । दुई जना पुरुषले तीन जना महिलालाई नगर बसबाट थुतेर तल झारे । वीरेन्द्र चोक नजिकै प्रहरी विट छ । त्यहीं सबैका अगाडि लछारपछार र कुटपिट गरे । हेर्नेहरूको घुइँचो लाग्यो । किन हातपात भइरहेको छ ? धेरैको जिज्ञासा थियो । निकै व्यस्त सार्वजनिक चोकमा कुटाई खाँदै गरेका महिलाहरू चिच्चाउँदै थिए । ‘घूस माग्ने नदिएपछि उल्टो कुट्ने ?,’ ती महिलाहरू भन्दै थिए ।

तुरुन्तै हातपातको रहस्य खुल्यो । उनीहरूमध्ये एकजना सशस्त्र प्रहरी बल, सीमा सुरक्षा कार्यालयका निमित्त प्रमुख डीएसपी प्रेमप्रसाद पाण्डे र अर्का त्यहीका घुमुवा प्रहरी र कुटाई खानेहरू भन्सार छलेर सामान ओसारपसार गर्नेहरू थिए । ती महिलाहरू सीमापारी रुपैडिहाबाट बजारका ठूला व्यापारीले भने अनुरूप वस्तु ‘क्यारिङ’ गर्दै आएका रहेछन् । आइतबार बिहान १० बजे भन्सार छलेर वस्तु क्यारिङ गर्ने महिला र प्रहरीको निकै बेर लडाइ चल्यो । सशस्त्रका घुमुवालाई नेपाल प्रहरीको बिटभित्र राखेर जोगाइयो । प्रहरीको कुटाइ खाँदै र प्रतिकार गर्दै आएका अस्मिता घर्ती, ललिता चौधरी र बिना खड्कालाई नियन्त्रणमा लिन नगर प्रहरीबाट प्रहरी निरीक्षक ऐनबहादुर मल्लको नेतृत्वमा थप मद्दत आइपुग्यो ।

प्रहरीले घूस मागेको आरोप लागेका सशस्त्र प्रहरी बलका दुई जना र तस्करी गर्दै आएका तीन महिलाको झडप नियन्त्रणमा लियो । ‘सधैं घूस माग्छन् । आज पनि नदिएपछि यस्तो गरे,’ भ्यानमा हालेर जिल्ला प्रहरी पठाउँदै गर्दा ती महिलाले भने ।

सशस्त्र प्रहरी नायव उपरीक्षक पाण्डेले आफूले घूस नमागेको बताए । ‘दुई सय पिस सुट बसको सिटमुनी लुकाएर लाँदैछन् भन्ने खबर पाएपछि मोटरसाइकलमा पिछा गरेर समात्यौं,’ प्रहरी उपरीक्षक पाण्डेले भने, ‘हामी दुई, उनीहरू तीन जना भएकाले सामान नियन्त्रणमा लिन सकेनौं ।’ ती प्रहरी अधिकृत पाण्डेले सीमापारीबाट धेरै महिलाले सामान क्यारिङ गर्दै आएको बताए । यस्ता महिलासँग प्रहरीको झडप भएको यो पहिलो घटना हो ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक उदय तामाङले ती महिलाले ‘क्यारिङ’ गर्दै आएको स्वीकारे पनि मुद्दा चलाउन मिल्ने कुनै आधार नभएकाले छाडिदिने बताए ।

प्रतिक्रिया
सम्बन्धित खवर

सर्लाही । सर्लाहीको ब्रह्मपुरी गाउँपालिका–३ भेल्हीस्थित निजी पोखरीमा डुबेर मृत्यु भएको अवस्थामा नौ दिनको शिशुसहित तीन जनाको शव फेला परेको

काठमाडौं । सिन्धुलीगढीमा नेपाली सेनाले शुरु गरेको युद्ध सङ्ग्रहालयको निर्माण सम्पन्न भएको छ । युद्ध सङ्ग्रहालयको आज राष्ट्रपति विद्यादेवी भण्डारीले

काठमाडौं । चितवनमा दैनिक पाँच हजार रुपैयाँ दिएर यौन धन्दामा लगाइएका १० जनाको उद्धार गरिएको छ । प्रहरीका अनुसार चितवनको

काठमाडौं । पूर्वसभामुख कृष्णबहादुर महराले उच्च अदालतबाट पनि सफाइ पाएका छन् । जवर्जस्ती करणी उद्योग मुद्दामा अदालतले सफाइ दिएको हो