एक साताभित्र टेलिकम कम्पनीहरुवीच् ईन्टरकनेक्सन हुने

१ चैत्र २०६८, बुधबार ०९:१६ मा प्रकाशित

काठमाडौ, १ चैत । लामो समयदेखि साना कम्पनीबीच हुन नसकेको अन्तरआबद्धता अब हुने भएको छ । ग्रामीण क्षेत्रमा दूरसञ्चार सेवा सञ्चालन लाइसेन्स पाएका तीन साना कम्पनीका ग्राहकले बढीमा एक महिनाभित्र एकअर्काको नेटवर्कमा कुरा गर्न पाउने भएका हुन् । उनीहरूले एक सातामा सम्झौतामा हस्ताक्षर भइसक्ने बताएका छन् ।

केही दिन अगाडि यी कम्पनीहरूबीच अन्तरआबद्धता कायम नभएको समाचार सार्वजनिक भएको थियो । त्यसपछि प्राधिरकणले १५ दिनभित्र अन्तरआबद्धता कायम गर्न यी कम्पनीलाई लिखित निर्देशन दिएको थियो । १५ दिनमा अन्तरआबद्धता कायम नभएका कानुनी कारबाही सुरु गर्ने प्राधिकरणको चेतावनीपछि तीनै कम्पनीले तीव्रताका साथ सम्झौता प्रक्रिया अगाडि बढाएका हुन् ।

स्मार्ट टेलिकम, नेपाल स्याटलाइट र एसटिएम सञ्चारबीच अन्तरआबद्धता नहुँदा ग्राहकले एक अर्को नेटवर्कमा कुराकानी गर्न पाएका छैनन् । यीमध्ये सबैभन्दा पछि सेवा सञ्चालन गर्ने स्मार्टले सेवा सुरु गरेको पनि दुई वर्ष पुगिसकेको छ । नेपाल स्याटलाइटले तीन वर्ष अगाडि सेवा सुरु गरेको थियो भने एसटिएमले सेवा सञ्चालन गरेको ८ वर्ष पुगेको छ । यति लामो समयसम्म अन्तरआबद्धता कायम हुन नसक्नुको कारण नियामक र कम्पनीहरूको गैरजिम्मेवारी हो ।

सञ्चार मन्त्रालयका एक अधिकारीले सेवा सुरु गर्नु अघि नै नेपालमा सबै दूरसञ्चार कम्पनीसँग सम्झौता गरिसक्नुपर्ने भए पनि नियामकको निष्त्रिmयताका कारण यस्तो भएको बताए ।

‘एक साताभित्र सम्झौता भइसक्छ,’ नेपाल स्याटलाइटका प्रमुख कार्यकारी अधिकृत मणि चौलागाईले भने, ‘सम्झौतापत्र साटासाटको काम भइसकेको छ ।’ उनले सम्झौतापछि अन्तरआबद्धताका आवश्यक पूर्वाधारको निर्माण सुरु गर्ने बताए । अन्तरआबद्धता कायम नभएका कम्पनीले पूर्वाधार निर्माणमा बराबर लगानी गर्ने भएका छन् । स्मार्ट र एसटिएम दुवैसँग सम्झौता नगरेको नेपाल स्याटलाइटले ५० प्रतिशत खर्च बेहोर्न तयार भएको उनले बताए । यसअघि पोर्ट शुल्क बुझाए मात्र सम्झौता गर्ने बताउँदै आएको स्याटलाइट खर्च बेहोर्न तयार भएकाले सम्झौता प्रक्रिया अगाडि बढेको हो । ग्राहकले फोन गर्न पाउने अवस्था नबनेपछि स्मार्ट र एसटिएमबीच अन्तरआबद्धता सेवा परीक्षण कालमा छ ।

पहिले अन्तरआबद्धता लिन खोज्ने र दिने खोज्ने को हो भन्ने द्विविधाले यी कम्पनीहरूबीच अन्तरआबद्धता सम्झौता हुन सकेको थिएन । ०६५ सालमा आएको अन्तरआबद्धता निर्देशिकामा अन्तरआबद्धता लिन खोज्ने कम्पनीले दिने कम्पनीलाई प्रतिपोर्ट शुल्क बापत वाषिर्क ३५ हजार रुपैयाँ तिर्नुपर्ने प्रावधान छ । यसले समस्या गरेको भन्दै प्राधिकरणले निर्देशिका संशोधनको तयारी सुरु गरेको छ ।

‘नेपाल स्याटलाइटबाट सम्झौताका लागि तयार भएको जानकारी आएको छ,’ स्मार्टका प्रमुख कार्यकारी अधिकृत सुवास बज्राचर्यले भने, ‘सम्झौतापत्र यसअघि नै स्याटलाइटलाई पठाइसकेको छौं । अब छिट्टै सम्झौता हुन्छ ।’ उनले बढीमा एक महिनाभित्र एक नेटवर्कका ग्राहकले अर्को नेटवर्कमा कुराकानी गर्न सक्ने अवस्था सिर्जना हुने बताए ।

अन्तरआबद्धता केबाट सुरु गर्ने भनी सेवा प्रदायकबीच छलफल सुरु भएको छ । ‘सम्झौतासँगै अप्टिकल फाइबर वा माइक्रोवेब लिंक कुनबाट अन्तरआबद्धता गर्ने निक्र्योल गर्छौं,’ बज्राचार्यले भने ।

प्रतिक्रिया
सम्बन्धित खवर

अमेरिकी अन्तरिक्ष निकाय नासाले मङ्गल ग्रहमा एक सानो हेलिकप्टर सफलतापूर्वक उडाएको छ। इन्जेन्युएटी नामको ड्रोन एक मिनेटभन्दा कम समय हावामा

काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले नेपालमा ‘फाइभजी’ सेवा चाँडै नै परीक्षण गर्ने तयारी भइरहेको बताउनुभएको छ ।

काठमाडौँ । विदेशी वायुसेवा कम्पनीहरुले नेपाली आकाशमा उडान गर्दा अब दूरसञ्चार सेवा उपयोग गर्न पाउने भएका छन् । नेपाल दूरसञ्चार

नेपालको आफ्नै भू–उपग्रह (स्याटेलाइट) राख्न आवश्यक अध्ययनका लागि पाँच कम्पनी छनोट (सर्टलिस्ट) मा परेका छन् । स्याटेलाइटको अध्ययन गर्न नौ