एमाओवादी केन्द्रीय पदाधिकारीमा व्यापक हेरफेर ः आगामी माघ १४ का लागि महाधिवेशनको घोषणा

२१ श्रावण २०६९, आईतवार ०६:४६ मा प्रकाशित

काठमाडौं, २१ साउन । एकीकृत नेकपा माओवादीले आगामी माघ १४ गते काठमाडौंमा महाधिवेशन गर्ने निर्णय गरेको छ । सातौं विस्तारित बैठकको निर्णयअनुसार माओवादीले माघको दोस्रो साता महाधिवेशन गर्न लागेको हो । महाधिवेशन आयोजक समितिको शनिबारको बैठकले महाधिवेशनको मिति टुङ्गो लगाउंदै केन्द्रीय तहका नेताहरुको जिम्मेवारीसमेत व्यापक हेरफेर गरेको छ । माओवादीले सबै नेताहरुको एकैपटक यसरी जिम्मेवारी हेरफेर गरेको यो पहिलोपटक हो ।
केही पहुंचवाला नेताले एउटै कार्यक्षेत्रमा लामो समय घर गरेको आरोप लाग्दै आइरहेको सन्दर्भमा महाधिवेशन आयोजक समितिको हिजो बसेको बैठकले तोकेअनुसार सरकारमा रहेका नेताहरुले खासै जिम्मेवारी पाएका छैनन् । यसअघि खास जिम्मेवारी नपाएका नेताले यसपटक जिम्मेवारी भेटेका छन् । यसमा खासगरी अध्यक्ष प्रचण्ड, उपाध्यक्षद्वय बाबुराम भट्टराई र नारायणकाजी श्रेष्ठ पक्षले सन्तुलन मिलाएको एक नेताले जानकारी दिए ।
निर्णयअनुसार अध्यक्ष प्रचण्डले समग्र पार्टी, प्रधानमन्त्री तथा उपाध्यक्ष बाबुराम भट्टराई र परराष्ट्रमन्त्री एवम् उपाध्यक्ष नारायणकाजी श्रेष्ठले सरकार र केन्द्रीय कार्यालय, मन्त्री पोष्टबहादुर बोगटीले पनि सरकार र केन्द्रीय कार्यालयको जिम्मेवारी पाएका छन् । यसैगरी अन्य नेताहरुलाई पनि कार्य बिभाजन गरिएको एमाओवादीका नवनियुक्त प्रवक्ता अग्नी सापकोटाले जनाएका छन् । तत्कालीन उपाध्यक्ष मोहन बैद्यले लिएको संगठन बिभागको जिम्मेवारी स्थायी समिति सदस्य कृष्णबहादुर महराले पाएका छन् भने उनले सम्हाल्दै आएको विदेश विभागमा राम कार्कीलाई ल्याइएको छ । मधेस ब्युरो प्रमुख गिरीराजमणि पोखरेललाई पूर्वी ब्यूरोमा सरुवा गरिएको छ भने उर्जा विभाग हेर्दै आएका लीलामणि पोखरेलले पश्चिम ब्यूरोको जिम्मेवारी पाएका छन् । यस्तै शान्तिमन्त्री टोपबहादुर रायमाझीलाई खेलकुद र उद्योग विभागमा ल्याइएको छ ।
संयुक्त मोर्चा र नेताहरुको सम्पत्ति छानबिन आयोगका प्रमुख अमकि शेरचन यथावत छन् भने माओवादी लडाकू हेर्दैआएका वर्षमान पुनलाई शिक्षक संगठनको जिम्मेवारीमा थन्क्याइएको छ । प्रवक्ता दीनानाथ शर्मा बुद्धिजीवि विभागमा सारिएका छन् । निनू चापागाई सांस्कृतिक विभागमा यथावत छन् भने जनवर्गीय संगठनको जिम्मेवारीमा जनार्दन शर्मालाई ल्याइएको छ । स्वनाम साथीलाई स्कूल विभाग, नन्दकिशोर पुनलाई लडाकूसहित युवा विभाग र चन्द्रप्रकाश खनाललाई अवधको इन्चार्ज बनाइएको छ । यस्तै, नेवा राज्य समितिको इन्चार्जमा देवेन्द्र पौडेल, ताम्सालिङमा विश्वभक्त दुलाल, मधेसमा हरिबोल गजुरेल, सुदुरपश्चिममा शक्ति बस्नेत र मगरातमा लोकेन्द्र बिष्ट मगरलाई जिम्मेवारी दिएको छ भने मिथिलामा भीमप्रसाद गौतम र लिम्बुवानमा तेजप्रकाश ओलीलाई इन्चार्र्ज तोकिएको छ ।
बताइएअनुसार आगामी मंसीर १५ गतेभित्र पार्टीको जिल्ला तह र १५ देखि मसान्तभित्र राज्य समितिका अधिवेशनहरु सम्पन्न गरिने छन् ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौँ।सरकारले स्यानिटरी प्याडमा कुनै पनि कर वृद्धि नगरेको स्पष्ट पारेको छ । महिनावारी हुँदा महिलाले प्रयोग गर्ने स्यानिटरी प्याडमा मूल्यवृद्धि

काठमाडौँ । नेकपा एमालेको केन्द्रीय कमिटीको बैठक आजबाट सुरु हुँदैछ। ललितपुरको च्यासलस्थित तुलसीलाल प्रतिष्ठानमा विहान ११ बजे बैठक बस्ने तय

काठमाडौं । नेपाली कांग्रेसले हिमाली जिल्लाको अधिवेशन दशैँअघि नै गर्ने निर्णय गरेको छ। बिहीबार कांग्रेस पदाधिकारी र निर्वाचन समितिको छलफलबाट

चितवन । इच्छाकामना गाउँपालिका–५ नाग्दीखोलास्थित पृथ्वी राजमार्गमा काठमाडौँबाट पोखरातर्फ जाँदै गरेको कार त्रिशूली नदीमा खस्दा तीन जना बेपत्ता भएका छन्