“मेरो भगवानलाई एउटा प्रश्न”

२० श्रावण २०६९, शनिबार १९:२० मा प्रकाशित

मेरो आत्माले परमात्मा भेटेको दिन
मान्छे भेटिनु वा भेट्टाउनु पूर्ण नहुन सक्छ
हाम्रो मिलन बिजय उत्सव नहुन सक्छ
म भित्रको मेरो म
उन्मुक्त नहुन सक्छ
स्वछन्द नहुन सक्छ
तर निसब्द निराकार शुन्यताको त्यो पल
हो त्यही पल
म भित्रको भगवान मुक्त र मोक्ष दुवै हुन सक्छ ।

***********
नभेटिएको पनि हुन सक्छ
भेट्नै पर्ने पनि नहुन सक्छ
टुट्नु र छुट्नु मायाँ हो भने
जुट्नु र जोडिनु मायाँ हो भने
नासोधिएको, नभेटिएको, नखोजिएको र नदेखिएको एउटा आकृति
जहाँ निराकार निष्पट्ट मात्र हुन्छ
तर पूर्ण जीवन जिउन सक्छ मान्छे
र ज्ञात गर्छ मान्छे
टुट्नु र छुट्नु भन्दा परपो रहेछ मायाँ
जुट्नु र जोडिनु भन्दा नजिकै रहेछ मायाँ ।

***********
भेट्नै पर्ने यो कस्तो चलन
जोडिने पर्ने यो कस्तो मोह
एउटा आकाशको अनगिन्ति प्राणी
एउटा छतभित्र सिमित मायाँको इहलिला
ठोक्किदै रमाउने मान्छेको हासों र खुसि
होइन है यो मायाँ, मात्र हो जिबन लिला ।

***********
नदेखेको पनि हुन सक्छ
नजिकै तर नपुगेको त्यो ठाउं
मायाँ मिलन हो भने पनि नमिलेको हुन सक्छ
त्यो मिलन जहाँ
अदृश्य नहोस दृश्य बिनाको
शरीर नहोस आत्मा बिनाको
आत्मा नरहोस् परात्मा बिनाको
एउटा ठाउं, परमात्मा भेट्ने मेरो भगवानको गाउँ ।

***********
वक्दै गरेको वाचनको भरमा
कोरिएको सिं रेखालाई
डोरिएको यात्रीले
पहिल्याउन धौ पर्ला
बग्दै गरेको नदि र झर्दै गरेको झरना
पौडदै तर्ने हामी अभिलाषी
पारि पुग्न बल पर्ला
तर बगेर नदीमा सागर चुम्न
मेरो भगवानलाई न ग्राहो पर्ला न सार्हो पर्ला ।

***********
भूगोलको वल्लो छेउमा
पल्लो छेउले हल्लाउछ
यताको आकार उता निराकार सल्बलाउछ
जिते भन्ने श्रेष्ठ मान्छेको बगर भरि लाश
तर कल कल झरना निरन्तर कल-कलाउछ ।

***********
जन्माई भन्छे आमा
हुर्काइ भन्छ बाबु
जिउन सिकाउने-मायाँ सिकाई भन्ने प्रियतमा
तर म एक्लो- एक्लो, रित्तो-रित्तो
जब मेरो आत्माले परमात्मा भेट्यो
मेरो भगवानले भन्छ
म एउटा फगत प्राणि, तुच्छ मान्छे
बन्न सकिन पूर्ण प्राणि
हुन सकिन जीवित, रहे जगतको ऋणी ।

***********
यता दर्क्यो झरी
उता प्रचण्ड घाम
हिउँ खस्दा बेशी रमाउने
गाउँ बगेरै सकियो
म कल्पिएरै सकिए
सग्लो शरीर छ बाँकि
कस्तो बनायौ भगवान मलाई
मन मुटु जलेरै सकिए ।

***********
सकिए म, ठानेर जल्नु मायाँ
जल्यो आत्मा नभेटेर परमात्मा
बोल्न सक्तिन निश्फिक्री
बग्न सक्तिन सहर्ष
बन्यो जीवन घाम छायाँ
मानेर मन्दिर धाएँ
ठानेर देव तुल्य साह्रा सुख पाएँ
देह यस्तै रहेछ सुख संगै दुख
योत फगत मिर्ग तृष्णा रहेछ
मेरो भगवानलाई एउटा प्रश्न
एउटा वृक्षको छहारी आत्मात पाएँ
मेरो परमात्मा वृक्षहरुको बाटिका
म भित्रको मेरो भगवानलाई मैले किन ढिलो पाएँ । ।

मनको कुरा : म भित्रको मेरो भगवानलाई मेरो एउटा प्रश्न मेरो भगवानलाई मैले किन ढिलो पाएँ ।

पुरुषोत्तम ढकाल
ह्यारिसवर्ग, पेन्सिलभानिया, संयुक्तराज्य अमेरिका
२० जुलाई २०१२

प्रतिक्रिया
सम्बन्धित खवर

गैरआवासीय नेपाली संघ भाषा, साहित्य, संस्कृति तथा सम्पदा समितिको साप्ताहिक कार्यक्रम प्रवासी प्रवाहको चवालिसौ शृङ्खलामा नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति गंगाप्रसाद

वाग्मती प्रदेशको राजधानी हेटौँडाबाट साहित्य सङ्गम मकवानपुरले यस वर्ष प्रदान गर्ने साहित्य क्षेत्रमा क्रियाशील २० जनालाई विभिन्न सम्मान तथा पुरस्कारको

काठमाडौँ । साहित्यकार विन्दु अधिकारी ढकाल नवीनतम् कथासङ्ग्रह मावली दिदी लिएर आउनुभएको छ । ढकालको दोस्रो कृतिको रूपमा आएको पहिलो

जिन्दगीको परीक्षार्थीलाई मूल ग्रन्थ बेच्दैन सन्दर्भ पुस्तक पनि बेच्दैन केवल गेसपेपर बेच्छ आजको बजार । विद्रोह चेत बोकेर कविता लेख्ने