फास्टाएनन् चितवनमा साना उद्योग

२० श्रावण २०६९, शनिबार १७:३५ मा प्रकाशित

चितवन, २० साउन । राजनीतिक स्थिरता हुन नसक्दा जिल्लामा साना उद्योगहरूको सङ्ख्या उत्साहजनक ढङ्गले बढ्न सकेको छैन । बर्सेनि केही उद्योग दर्ता हुने भए पनि निरन्तर सञ्चालन गरेको पाइँदैन ।
गत आर्थिक वर्षमा घरेलु तथा साना उद्योग कार्यालय चितवनमा ६१७ वटा नयाँ फर्म दर्ता भएका छन् । जसमध्ये १५ प्रतिशत जतिमात्र उद्योग छन् भने अन्य वाणिज्य क्षेत्रका छन् ।
दर्ता भएका उद्योगहरू उत्पादनमूलक, ऊर्जामूलक, कृषि तथा वनमूलक, पर्यटनमूलक, सेवामूलक र निर्माणमूलक रहेको घरेलु तथा साना उद्योग कार्यालय चितवनका नासु रमेश सुवेदीले बताउनुभयो ।
कार्यालयमा दर्ता हुने क्रममा परामर्शका लागि उद्योग सङ्घमा जाने प्रावधान छ । उद्योग सङ्घ चितवनका अध्यक्ष कृष्ण अधिकारी विविध कठिनाइका कारण उत्साहजनक ढङ्गले उद्योग दर्ता नभएको बताउनुहुन्छ ।
राजनीतिक अस्थिरता, औद्योगिक क्षेत्र असुरक्षित हुनु, लोडसेडिङ, लगानीमैत्री वातावरण नबन्नु, बैंकको ब्याज महँगो हुनु, व्यावसायिक व्यक्तिहरूको पैसा घर जग्गामा गएर फस्नुले उद्योगतर्फको आकर्षण कमी भएको सङ्घका अध्यक्ष अधिकारीको तर्क छ । अधिकारीले सञ्चालनमा आएका उद्योगसमेत यिनै कठिनाइका कारण अगाडि बढ्न नसकेको बताउनुभयो । उद्योग सङ्घ चितवनमा ४१२ वटा उद्योग दर्ता भएका छन् । पछिल्लो समय दर्ता भएका उद्योगहरू कृषिमा आधारित रहेको सङ्घले जनाएको छ ।
डेरी फर्मतर्फ व्यवसायीको आकर्षण बढेको छ भने केही मात्रामा पोल्ट्री उद्योग पनि दर्ता भएको घरेलु तथा साना उद्योग कार्यालयले जनाएको छ ।
चितवनमा हालसम्म खनिजमूलक उद्योग सञ्चालनमा आएको छैन । त्यस्तै ऊर्जामूलक उद्योग एउटा मात्रै सञ्चालनमा आएको पनि कार्यालयले जनाएको छ ।
चितवनमा टेक्सटाइल, आइसक्रिम, अल्लो कपडा, मेटल, मौरीघार, भेनियर, जुत्ता, पाउरोटी, फर्निचर, इँटा, चाउचाउजस्ता उत्पादनमूलक उद्योग पनि ठूलो मात्रामा सञ्चालनमा आएका तर तिनीहरूको यकिन तथ्याङ्क भने उपलब्ध भइनसकेको कार्यालयले जनाएको छ ।
चितवनमा पर्यटनमूलक उद्योगको हिसाबले होटल व्यवसाय गर्न ३० जनाभन्दा बढीले उद्योग दर्ता गराएका छन् । सेवामूलकतर्फ छापा, टुर्स एन्ड ट्राभल, ब्युटिपार्लर, दन्त सेवा, अल्लो कपडा प्रेसिङ, फोटो स्टुडियो, पुल हाउस, प्याथोलोजी, सिलाइकटाइ, मिल, निर्माण सेवा, यान्त्रिक पुल, कम्प्युटर इन्स्टिच्युट र तेल मिल गरी १०० भन्दा बढी उद्योगको दर्ता भएको कार्यालयले जनाएको छ । कार्यालयमा दर्ता भएका उद्योगहरू धरासाही बन्दै गएपछि नवीकरणको क्रमसमेत घटेर गएको छ । गत आर्थिक वर्षमा २१ वटा उद्योगले मात्र नवीकरण गराएका छन् ।
कार्यालयले दिएको जानकारीअनुसार पहिले प्रत्येक वर्ष साना उद्योग नवीकरण गर्नुपर्ने प्रावधान रहेकामा पछि तीन÷तीन वर्षमा र त्यसपछि प्रत्येक पाँच वर्षमा नवीकरण गर्नुपर्ने प्रावधान रहिआएको छ ।
यसैबीच, उद्योग दर्ता तथा नवीकरणबाट गत आर्थिक वर्ष ६८÷६९ मा रु ८८ लाख ७५ हजार ४८५ राजस्व सङ्कलन भएको छ । जसमध्ये दर्ता तथा नवीकरणबाट रु ६९ लाख २१ हजार ५३५ राजस्व सङ्कलन भएको होे ।

प्रतिक्रिया
सम्बन्धित खवर

कैलाली । भारतको उत्तर प्रदेशसँग सीमा जोडिएको कैलालीको गौरीफन्टा सीमा नाकामा भोलिसम्मका लागि आवागमन बन्द गरिएको छ । उत्तर प्रदेशका

काठमाडौं । नेपाल आयल निगमले पुनः पेट्रोलियम पदार्थको मूल्य वृद्धि गरेको छ । इण्डियन आयल कर्पोरेशनबाट शुक्रबार प्राप्त मूल्य सूचीअनुसार

काभ्रेपलाञ्चोक । जिल्लाको पुराना तीन नगर बनेपा, धुलिखेल र पनौती ‘काभ्रे’ स्मार्ट सिटीका नामले परिचित हुन संरचना निर्माण प्रक्रियालाई तीव्रता

काठमाडौं । चालु आर्थिक वर्षको आठ महिनाको अवधिमा रु छ खर्ब ४२ अर्ब १४ करोड बराबरको विप्रेषण मुलुक भित्रिएको छ