कुलमानलाई कारबाही सिफारिस गर्नुपर्ने सांसदहरुको माग

७ जेष्ठ २०७६, मंगलवार १६:५२ मा प्रकाशित

निरोज कुमार थापा, काठमाडौँ, ७ जेठ । ट्रंक लाइन र डेडिकेटेड फिडर प्रयोग गरेका उद्योगको महसुल नउठाई राजश्व अपचलन गरेको भन्दै सांसदहरूले नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई कारबाही गर्नुपर्ने धारणा राखेका छन् । लामो समयसम्म बिलिङ नगरी एक्कासी करोडौं रुपैयाँको बिल पठाएको र यसमा घिसिङको संलग्नता पुष्टि हुँदै आएको भन्दै उनीहरूले कारबाहीको माग गरेका हुन् ।

संसदको सार्वजनिक लेखा समितिको मंगलबारको बैठकमा अधिंकाश सांसदले उनको आलोचना गरेका थिए । लोडसेडिङ अन्त्य गरेको नाममा जे गर्न पनि छुट हुन्छ भन्ने मानसिकताका आधारमा घिसिङले काम गरेको सांसदहरूको आरोप छ । ट्रक लाइन र डेडिकेटेड फिडरबाट विद्युत प्रयोग गरेका उद्योगबाट २०७५ चैतसम्म ९ अर्ब ९ करोड ४० लाख ४६ हजार ६४१ रुपैयाँ उठाउन बाँकी रहेको प्राधिकरणले नै जनाएको छ । यति ठूलो परिमाणको रकम लामो समयदेखि नउठाएर संस्थालाई नोक्सानी पुर्याउन घिसिङले मुख्य भूमिका खेलेको सांसदहरूको आरोप छ ।

समितिका सभापति भरत शाहले ‘विगतका कर्मचारीले बदमासी गरेको भन्ने उहाँले आफू आएपछि महसुल उठाउन किन प्रयास गर्नुभएन’ भन्ने प्रश्न गरेका थिए । ‘महसुलका विषयमा विगतदेखि नै प्राधिकरणका गतिविधिमा शंका गर्ने प्रशस्त ठाउँ छन्,’ उनले भने, ‘संस्थालाई नोक्सान पुर्याएर महसुल नउठाउनु राजस्व अपचलन हो । यसलाई समितिले गम्भीरताका साथ लिएको छ ।’

२०७३ सालमा विद्युत महसुल संकलन विनियमावली आएपछि निरन्तर ट्रंक लाइनको महसुल नउठाएको भन्दै संसद राजेन्द्रकुमार केसीले आपत्ति जनाए । ‘विनियमावली आएपछि उद्योगीहरूले निरन्तर महसुल तिर्ने बिल पाए कि पाएनन्,’ उनले प्रश्न गरे, ‘आफ्नो अनियमितता ढाकछोप गर्न दोष उद्योगीको टाउकोमा थुपारेको देखिन्छ ।’

प्राधिकरण तथा यसको नेतृत्वले नीतिगत भ्रष्टाचार गरेको अर्का सांसद अमनकुमार मोदीले बताए । ‘देशमा लोडसेडिङ उहाँको मात्र कारणले अन्त्य भएको होइन, मन्त्री, सचिव, टिम र विगतका कामले भएको हो’ उनले भने, ‘घिसिङ आफूले लोडसेडिङ अन्त्य गरेँ भन्ने दम्भले व्यापक भ्रष्टाचार भइरहँदा पनि जनता चुप लागेर बसेको अवस्था छ ।’ समितिले उपसमिति बनाएर यसको छानबिन गर्नुपर्ने र अख्तियारलाई छानबिनको सिफारिस गर्नुपर्ने पनि मोदीले बताए ।

प्राधिकरणभित्र भइरहेको काम र अनियमिततामा नेतृत्वले नै अस्पष्ट कुरा राखेको सांसद लेखराज भट्टको भनाई छ । सांसद शरदसिंह भण्डारीले पनि प्राधिकरणभित्र व्यापक भ्रष्टाचार भएको आरोप लगाए । उपसमिति बनाएर थप छानबिन गर्नुपर्नेमा अधिकांश सांसदहरूले सभापतिको ध्यानाकर्षण गराएका थिए । समितिले यसबारे अर्को बैठकमा छलफल गर्ने निर्णय गरेको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौँ । गृह मन्त्रालयले केही जिल्लाका प्रमुख जिल्ला अधिकारी(प्रजिअ)को सरुवा गरेको छ । गृहमन्त्री बालकृष्ण खाणले मन्त्रीस्तरीय निर्णयबाट दसैंपछि कार्यालय

जनकपुरधाम । नेपाल भारतको सीमावर्ती क्षेत्र धनुषाको नगराइन नगरपालिाका एक युवकको घाँटी रेटेर हत्या गरिएको छ । सिरहा जिल्लाको मिर्चैया

‘हिट ४९ प्रोफेसनल बक्सिङ च्याम्पियनसीप २०२१’को उपाधि बक्सर खेलाडी अविरल घिमिरेले चुमेका छन् । विश्वका युवा पुस्ताका चर्चित र अनुभवि

जुम्ला । जुम्लाका किसानलाई काली मार्सी धान काट्न चटारो भएको छ । जुम्लाका आठवटै स्थानीय तहमा रहेका खेतका फाँटमा मार्सी