११ वर्षपछि बढ्यो भिसा शुल्क

६ जेष्ठ २०७६, सोमबार ०७:१५ मा प्रकाशित

काठमाडौँ, ६ जेष्ठ । सरकारले विदेशीका लागि भिसा शुल्क बढाएको छ । ११ वर्षपछि विदेशी पर्यटकका लागि भिसा शुल्क बढेको हो ।

सरकारले विदेशीलाई न्यूनतम १५ दिनको भिसा दिँदै आएको छ । नयाँ दस्तुरअनुसार भिसा शुल्क ३० अमेरिकी डलर पुर्याईएको छ । यसअघि उनीहरूले २५ डलर तिर्दै आएका थिए । त्यस्तै ३० दिनको बहुप्रवेशी भिसाको शुल्क ४० बाट ५० तथा ९० दिनको भिसा शुल्क सयबाट एक सय २५ अमेरिकी डलर पुर्याईएको छ ।

पर्यटक भिसाको म्याद थप्न विगतमा प्रतिदिन दुई डलर लाग्थ्यो । अब तीन डलर लाग्नेछ । म्याद थप अवधिका लागि बहुप्रवेशी भिसा शुल्क विगतमा २० डलर रहेकोमा २५ डलर पुर्याईएको छ । भिसाको म्याद सकिएर नियमित गर्नुपर्ने अवस्थामा अब एक दिनको पाँच डलर लाग्छ । पहिले यो शुल्क तीन डलर थियो । भिसा शुल्क वृद्धि नभएको करिब ११ वर्ष भएकाले समसामयिक बनाइएको अध्यागमन विभागका प्रवक्ता रामचन्द्र तिवारीले बताए । १ साउन ०६५ देखि भिसा शुल्क बढेको थिएन ।

अध्ययन भिसाको शुल्क पनि वृद्धि

नेपालमा अध्ययनका लागि आउने विद्यार्थीको भिसा शुल्क पनि बढेको छ । डिग्री प्रोग्रामअन्तर्गत नेपाल आउने विदेशी विद्यार्थीले भिसा लिँदा तिर्नुपर्ने शुल्क पाँच डलर बढेर ३० डलर पुगेको छ । अध्यापन तथा अनुसन्धान गर्न आउने विदेशी र तिनका आश्रितले यसअघि मासिक ४० डलर तिर्नुपर्नेमा अब ५० डलर तिर्नुपर्नेछ । शिक्षक आदान–प्रदान कार्यक्रमअन्तर्गत आएका विदेशीले तिर्नुपर्ने शुल्क पनि पाँच डलरबाट बढेर १५ डलर तिर्नुपर्ने भएको छ ।

त्यस्तै, नेपाली मूलका विदेशी, नेपाली बाबु तथा आमाका विदेशी राहदानीबाहक सन्तानले मासिक १० डलर तिर्नुपर्नेछ । पत्रकार तथा तिनका आश्रित र नेपाली नागरिकसँग विवाह गर्ने विदेशीलाई मासिक १५ डलर शुल्क तोकिएको छ । दातृराष्ट्र र नेपाल सरकारबीच सम्झौता भई दातृराष्ट्रको प्रत्यक्ष लगानीमा सरकारी संस्थामा कार्यरत विदेशी र उनीहरूका परिवारले प्रतिमहिना ३० डलर तिर्दै आएकामा अब ५० डलर तिनुपर्ने भएको छ । बहुप्रवेशी सुविधासहितको आवासीय भिसा जारी गर्न प्रथमपटक पाँच सय डलर नवीकरण गर्दा वार्षिक दुई सय डलर तिनुपर्नेछ । विगतमा भिसा जारी गर्दा दुई सय तथा नवीकरण गर्दा एक सय डलर थियो ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । पछिल्लो समयमा परेको भारी वर्षापछि आएको बाढीपहिरो र डुबानमा परी देशका विभिन्न जिल्लाका १०१ जनाको मृत्यु भएको छ

काठमाडौँ- नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्रको विवाद समाधानका लागि असार २७ गते गरिएको १० बुँदे सहमति अर्थहीन रहेको

काठमाडौं । बाग्मती प्रदेशसभामा बैठकमा गठबन्धनकातर्फबाट मुख्यमन्त्रीमा नेकपा (एकीकृत समाजवादी)का प्रदेशसभा संसदीय दलका नेता राजेन्द्र पाण्डेको नाम प्रस्ताव गरिएको छ

बझाङ । केही दिनयता परेको अविरल वर्षाका कारण आएको बाढीपहिरोमा परी बझाङमा हालसम्म नौ जनाको मृत्यु भएको छ । २१