काठमाडौं उपत्यकामा गाइजात्रा उत्सव

१९ श्रावण २०६९, शुक्रबार १२:३१ मा प्रकाशित

काठमाडौं, १९ साउन । आज गाईजात्रा । वर्षभरि दिवंगत भएका आफन्तले यमलोक जाँदा बाटोमा पर्ने वैतरणी नदी सजिलै पार तरेर मोक्ष प्राप्त गरुन् भन्ने कामनासाथ नेवार समुदायले मनाउने मृत्यु संस्कारमध्येको एक महत्त्वपूर्ण पर्व हो यो । यो परम्परागत साँस्कृतिक उत्सव आजदेखि आठदिनसम्म काठमाडौँ उपत्यकाका तीनै सहरमा मनाइदैछ । आजका दिन एक वर्षभित्र दिवंगत भएका आफन्तहरूको सम्झनामा गाई वा मानिसलाई गाईका रूपमा सिँगारी आआफ्ना इलाकामा परिक्रमा गराउने र उनीहरूलाई श्रद्धालुहरूद्वारा दूध, फलफूल, रोटी, चिउरा, दहीका साथै अन्न र द्रव्य दान गर्ने गरिन्छ । यसरी नगरपरिक्रमा गर्नाले वर्षभरि मृत्यु भएका व्यक्तिहरू गाईको पुच्छर समाई वैतरणी पार हुन्छन् भन्ने धार्मिक विश्वास रहेको छ ।
यस दिन बिहानैदेखि एकातिर गाईको अनुहार र अर्कोतर्फ गणेशको चित्र अंकित पेरुंगाको टोपी लगाईदिएर केटाहरूलाई रंगीविरंगी चोलो र जामा लगाई पटुकाको दुई टुप्पो भुइँमा लतार्न लगाएर गाई बनाई नगर परिक्रमा गराइन्छ । कसैले त्यसरी गाई नबनाइकन जोगीको भेष धारण गराएर पनि परिक्रमा गराउने गर्छन् भने कसैले साँच्चिकै गाईलाई पूजा गरेर नगर परिक्रमा गराउने गर्छन् । नगर परिक्रमा गराउँदा साथमा सांस्कृतिक बाजागाजाहरू पनि साथै जाने गर्छन् ।
भाद्र कृष्ण अष्टमीका दिनसम्म मनाइने यस पर्वका क्रममा प्रहसन, सामाजिक विकृतिहरूप्रति व्यङ्ग्यात्मक प्रदर्शन, नाचगान तथा मृत व्यक्तिको सम्झनामा रामायणको करुण रसका गीतहरू पनि गाइन्छन् । जात्राका क्रममा पाटनमा देखाइने सत्य युगको धान, चामलको नमुना, काठमाडौँको ठमेलमा देखाइने स्वर्ण तथा रजताक्षरमा लेखिएका पुस्तकहरू विशेष दर्शनीय छन् । आजभोलि गाईजात्राका अवसरमा समाजमा विद्यमान विकृति र विसङ्गति उजागर गर्न सार्वजनिकरूपमा मनोरञ्जनात्मक तथा व्यङ्ग्यात्मक ढङ्गले विविध कार्यक्रमको आयोजना गर्ने र पत्रपत्रिकाहरूमा पनि सामाजिक कुरीतिलाई समेटेर हास्यव्यङ्ग्य अङ्क प्रकाशित गर्ने गरिन्छ ।
गाईजात्रा परम्पराबारे ईस्वीको १७ औं शताब्दीका राजा प्रताप मल्लले उनका छोरा चक्रपतेन्द्र मल्लको असामयिक मृत्युले विरहमा परेकी उनकी आमालाई तिम्रो छोरा मात्र होइन असंख्य प्रजाका छोराछोरी पनि मर्ने गरेका छन भनी देखाउन यस जात्राको परम्परा बसालेका हुन् भन्ने जनधारणा रहँदै आएको छ । तर त्यसभन्दा पहिले १४ औं शताब्दीमा लेखिएको गोपालराज वंशावलीमा साया गाईजात्रा शब्द उल्लेख भएकाले प्रताप मल्लकालीनभन्दा पहिले नै यस जात्राको परम्परा चलिसकेको संस्कृतिविद्हरूको कथन पनि रहँदै आएको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । नेकपा एमालेका महासचिव ईश्वर पोखरेलले माधवकुमार नेपाल पक्षलाई धेरै प्रतीक्षा गर्न उचित नहुने बताएका छन् । शुक्रबार पार्टी

काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष एवं सांसद भीम रावलले मिलेनियम च्यालेन्स कर्पोरेसन (एमसीसी) सम्झौता संशोधनपछि मात्र पारित गर्न माग गर्नुभएको

काठमाडौँ । बझाङकी हेवन उपाध्याय ‘खामोशी विथ लाइफ’को अन्तर्राष्ट्रिय विजेता बनेकी छिन् । बहिरा व्यक्तिहरूको सीप, क्षमता र कौशलता प्रदर्शन

लण्डन । बेलायतमा लामो समयदेखि बस्दै आउनुभएकी कवयित्री प्रतिभा केसी यस वर्ष अनेसास सुप्रमा इप्रमा पुरस्कारबाट सम्मानित हुनुभएको छ ।