नेपाल र भारतका साहित्यकारको भेला काठमाडौँमा

२९ बैशाख २०७६, आईतवार २३:०८ मा प्रकाशित

काठमाडौँ, २९ वैशाख । नेपाल र भारतका साहित्यकारको भेला काठमाडौँमा सम्पन्न भएको छ । नेपाल प्रज्ञा भवनमा भेला भएका साहित्यकारले कविता वाचनमार्फत दुई देश बीचको सम्बन्धका बारेमा चर्चा गरे । नेपाली र हिन्दी मात्र नभई नेपालमा बोलिने विभिन्न भाषामा कविता वाचन गर्दा प्रज्ञा भवनको देवकोटा कक्ष साहित्यमय बनेको थियो ।

साहित्यकार रमेश शुभेच्छुले नेपालीमा, हंशावर्ती कुर्मीले अवधिमा, विजेता चौधरीले मैथिलीमा, गोपाल अश्कले हिन्दीमा र लक्की चौधरीले थारु भाषामा कविता वाचन गर्नुभयो । यस्तै भारतका साहित्यकार अमिता दुवे, कुशुम बर्मा, शिव पुजन शुक्ल र कसेन्द्रकुमार पुष्पले पनि कविता वाचन गरे ।

नेपाल प्रज्ञा–प्रतिष्ठानका पूर्वकुलपति वरिष्ठ साहित्यकार वैरागी काइँलाले दुवै देशका साहित्यकारको भेटघाटले एकअर्काको साहित्य र भाषाका बारेमा जानकारी लिन पाइएको बताउनुभयो । उहाँले साहित्यमार्फत देशमा बोलिने सबैखाले मातृभाषाको संरक्षण र सम्वद्र्धन सकिने बताउनुभयो । उहाँले प्रतिष्ठानले भाषा र साहित्यको विकासका लागि आवश्यक कदम चालिरहेको बताउनुभयो । “अवधि भाषाको विकासका लागि शब्द कोष र व्याकरण तयार पारेका छौँ”, उहाँले भन्नुभयो, “थारु लोक साहित्यमा आधारित किताब पनि प्रकाशित भएको छ ।”

पूर्वउपकुलपति काइँलाले देश सङ्घीयतामा गइसकेकाले प्रदेश सरकारले आफ्नो प्रदेशमा बोलिने मातृभाषाको विकासमा ध्यान दिनुपर्ने बताउनुभयो । उहाँले भारतको साहित्यले नेपालमा स्थान पाएपनि नेपालको साहित्यले भारतमा स्थान नपाएको प्रति चिन्ता व्यक्त गर्नुभयो । नेपाली साहित्यलाई हिन्दीमा अनुवादका लागि सहयोग गर्न कार्यक्रममा सहभागी भारतीय राजदुतावासका उपप्रमुख मिसन अभय शर्मालाई आग्रह समेत गर्नुभयो ।

प्रतिष्ठानका कुलपति गंगा उप्रेतिले छिमेकी राष्ट्रसँग मिलेर साहित्य क्षेत्रमा धेरै काम गर्न बाँकी रहेको बताउनुभयो । “साँस्कृतिक र प्राज्ञिक क्षेत्रमा नेपाल र भारत बीच समन्वयात्मक सहकार्य हुँदै आएको छ”, उहाँले भन्नुभयो, “नेपाली साहित्यको विकासमा भारतले सहयोग पु¥याउँदै आएको छ ।” अवधि भाषा नेपाल र भारतमा बढि बोलिने भाषा भएकाले यो भाषाको विकासका लागि प्रज्ञा प्रतिष्ठानले अवधि साहित्य परिषद्सँग सहकार्य गरेर काम गरिरहेको बताउनुभयो ।

प्रतिष्ठानका उपकुलपति डा जगमान गुरुङले नेपाल र भारत दुइ देश भएपनि भाषा, धर्म संस्कृति एकै खालको भएको बताउनुभयो । “दुबै देशका बीचमा समन्वय, सहिष्णुता सहअस्तित्व र शान्तिकायम हुन आवश्यक छ” उहाँले भन्नुभयो, “यस प्रकारका कार्यक्रमहरुले मित्र राष्ट्रिसँगको सम्वन्धलाई बलियो बनाउन मद्दत गर्छन ।”

पूर्व हिन्दी विभागाध्यक्ष तथा भाषाविद् सूर्यप्रसाद दीक्षितले हिन्दी साहित्य र नेपाली साहित्य एकआपसमा अन्तरसम्बन्धित रहेकाले दुई देशको साहित्यमा सहकार्य अपरिहार्य रहेको बताउनुभयो । “यो अन्तरसंवाद पनि सहकार्यको एउटा गतिलो उदाहरण हो”, उहाँले भन्नुभयो, “साहित्य दुई देशबीचको सम्बन्धलाई बलियो बनाउने माध्यम पनि हो ।”

अवध भारतीय संस्थानका अध्यक्ष डा रामबहादुर मिश्रले नेपाल भारतको सदियौँदेखिको सम्बन्धलाई जीवन्त दिन साहित्यले टेवा पुर्याउने बताउनुभयो । कार्यक्रममा प्रज्ञा–प्रतिष्ठानका अनुवाद विभाग प्रमुख डा उषा ठाकुर, प्राध्यापक डा योगेन्द्रप्रसाद यादव, प्रज्ञा–प्रतिष्ठानका पूर्वसदस्य सचिव सनद रेग्मी, प्रवासी संसार न्यूदिल्लीका सम्पादक डा राकेश पाण्डेलगायतले मन्तव्य राख्दै नेपाल–भारत साहित्यका विषयमा चर्चा गरेका थिए ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौँ । २०७७ सालको मदन पुरस्कार भगिराज इङनामको लिम्बुवानको ऐतिहासिक दस्तावेज सङ्ग्रह (सम्वत् १७१९-२०२०) ले पाएको छ ।मदन पुरस्कार गुठीले

नुवाकोट स्थायी घर भई काठमाडौँमा रहेर साहित्य सिर्जनामा सक्रिय सर्जकको संस्था त्रिशूली वाङ्मय प्रतिष्ठानको बाह्रौँ साधारणसभाले आगामी दुई वर्षका लागि

काठमाडौं । मदन पुरस्कार २०७७ को प्रारम्भिक सूचीमा ९ वटा पुस्तक परेका छन् । मदन पुरस्कार गुठीले शुक्रबार ९ वटा

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले नेपाली वाङ्‍मय क्षेत्रका विभिन्न व्यक्तित्वलाई विभिन्न प्रज्ञा पुरस्कार प्रदान गर्नुभएको छ । नेपाल प्रज्ञा-प्रतिष्ठानद्वारा राष्ट्रपति