लेखापालले १६ वर्षमा असुले ५ करोड घुस, ४ श्रीमतीको खातामा फेला पर्यो  रकम

२३ बैशाख २०७६, सोमबार १८:५१ मा प्रकाशित

काठमाडौँ, २३ बैशाख । यातायात व्यवस्था कार्यालय सवारी शाखा कोशीका लेखापाल सुरेश अधिकारीले १६ वर्षमा पाँच करोड ९८ लाख रुपैयाँ आर्जन गरेको भेटिएको छ । उनले कमाएको मध्ये ८८ लाख रूपैयाँ मात्र बैध हो । बाँकी रकम घुस खाएर कमाएको पाईएको छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगका अनुसार २०५९ देखि जागीर खान थालेका अधिकारीले २०७५ सम्म बैधानिक रुपमा ८८ लाख ३४ हजार ८ सय ८५ रुपैयाँ कमाएका छन् ।

२०५९ देखि २०६० सम्म एक वर्ष रोल्पाको तेवाङ्गमा गाविस सचिव रहेका अधिकारी २०६० देखि २०६५ सम्म नेपाल टेलिकमको सहायकस्तर तह ४ को पदमा कार्यरत थिए ।

२०६५ चैतमा निजामती सेवाको लेखापाल पदमा नयाँ नियुक्ति भई कोष तथा लेखा नियन्त्रकको कार्यालय भोजपुरमा दुई वर्ष तथा २०६७ देखि २०७४ वैशाखसम्म यातायात व्यवस्था कार्यालय कोशी इटहरीमा लेखापालको पदमा कार्यरत रही २०७४ वैशाख ६ मा निलम्बनमा परेका थिए ।

उनको २०५९ असोजदेखि २०७५ वैशाख मसान्तसम्मको आयव्यय तथा सिर्जित सम्पत्तिहरु उपर बिश्लेषण गरी हेर्दा निजले तलवभत्ता, प्रोत्साहन भत्ता, जग्गा विक्री, नगद अंश भर्पाइ, कर्जा लगायतबाट जम्मा ८८ लाख ३४ हजार ८ सय ८५ रुपैयाँ आय आर्जन गरेको अख्तियारले जनाएको छ ।

सोही अवधिमा निजले आफू र श्रीमतीहरु दुर्गा अधिकारी, दिपा श्रेष्ठ (अधिकारी), सुस्मिता अधिकारी, सोममायाँ श्रेष्ठ लगायत सासू पुष्पकुमारी निरौला र मामा नाताका बलराम शर्मा समेतका नाममा खरिद गरी राखेका एवं लगानी गरेको चल अचल सम्पत्तिहरु जग्गा खरिद, घर निर्माण, सवारी साधन खरिद, लगानी तथा खर्च एवं विभिन्न बैंक तथा वित्तीय संस्थाहरुमा मौज्दात लगायतमा ५ करोड ९८ लाख ६८ हजार पाँच सय आठ रुपैयाँ खर्च तथा लगानी गरेको अख्तियारको अध्ययनले देखाएको छ ।

उनले कमाएको रकममध्येको पाँच करोड १० लाख ३३ हजार छ सय २३ रुपैयाँ बराबरको भागको स्रोत नखुलेको अख्तियारले जनाएको छ ।

सो आम्दानीको स्रोत पुष्टि गर्न नसकेबाट गैरकानूनी रुपमा सम्पत्ति आर्जन गरी प्रचलित भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा २० को उपदफा (१) बमोजिमको कसुर गरेको पुष्टि हुन आएको ठहर गर्दै अधिकारी उपर स्रोत नखुलेको रकम विगो कायम गरी विशेष अदालतमा मुद्दा दायर गरिएको छ ।

यस्तै, निजका श्रीमतीहरु दुर्गा, दिपा, सुस्मिता, सोममायाँ, सासू पुष्प कुमारी र मामा नाताका बलराम शर्मा समेतलाई प्रतिवादी कायम गरी विशेष सोमबार विशेषमा मुद्दा दर्ता गरिएको अख्तियारले जनाएको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

अंकारा । टर्कीकी महिला रुमेसा गेल्जी विश्वकै सबैभन्दा अग्ली महिला बनेकी छिन् । उनको उचाई दुई मिटर १५ सेन्टिमिटर छ

काठमाडौं । जुवातास खेल्नु कानुनविपरितको काम मानिन्छ । जुवा ऐन २०२० अनुसार जुवा खेल्दा वा खेलाउँदा पहिलोपटक पक्राउ परे दुई

काठमाडौं । विगत केही दिनदेखि परेको अविरल वर्षाका कारण आएको बाढी, पहिरो र डुबानमा परी आज बिहानसम्म ९५ जनाको मृत्यु

न्युयोर्क । कोभिड महामारी अर्को वर्ष पनि फैलिने विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) ले प्रक्षेपण गरेको छ । गरिब देशका नागरिकले