दाजुको ज्यान लिनेहरूबाटै भाइको जागिर खोस्ने प्रयास (समाचार टिप्पणी)

१८ श्रावण २०६९, बिहीबार ०९:४१ मा प्रकाशित

काठमाडौं, १८ साउन । नेपाली सेनाका कर्णेल राजु बस्नेतको बढुवामा छेकबार लगाउन सत्तारुढ माओवादीबाट भइरहेका प्रयासले नेपाली सेनाप्रति उनीहरू अहिलेसम्म अति पूर्वाग्रही रहेको पुष्टि गरेको छ । ‘द्वन्द्वका घाउहरू पुर्न र विगतका तीता कुराहरू बिर्सन’ सञ्चारमाध्यमहरूमार्फत बारम्बार आह्वान गर्ने माओवादीको सरकार आफैंले द्वन्द्वको घाउ बल्झाउन प्रयास गर्दा सर्वसाधारण जनतासमेत चकित परेका छन् र यस घटनाले उनीहरूको नियत उजागर गरेको पनि ठानिएको छ । तात्कालिक सरकारको आदेश पालन गर्ने कर्मचारी, सेना र प्रहरी अधिकारीहरूसंग एक–एक बदला लिंदै जाने माओवादी नेतृत्वको सरकारले आफ्नो पार्टीका हत्यारा प्रमाणित व्यक्तिहरूको भने मुद्दा फिर्ता लिने र उनीहरूलाई संरक्षण दिने कार्य गर्दै आएको छ । सर्वोच्च अदालतद्वारा हत्यारा प्रमाणित बालकृष्ण ढुङ्गेलको मुद्दा फिर्ता लिन गरेको प्रयास असफल भए पनि निजलाई संरक्षण दिने कार्य प्रधानमन्त्री स्वयम्बाट भइरहेको छ । त्यस्तै, हत्यामा संलग्न रहेको भनी पुष्टि भइसकेका अग्नि सापकोटाले पनि संरक्षण पाइरहेका छन् । आफ्नो घरमा मोटर धुंदै गरेका जनरल किरण बस्नेतलाई गोली हानी हत्या गर्ने र घरबाट कार्यालय जान भनी निस्कंदै गरेका जनरल रमीन्द्र क्षेत्रीलाई गोली हानी हत्या प्रयास गर्नेहरूलाई पनि माओवादीले संरक्षण दिइरहेको छ । सशस्त्र प्रहरीका तात्कालिक महानिरीक्षक कृष्णमोहन श्रेष्ठ र उहांकी पत्नीलाई ‘मर्निङवाक’मा निस्किएको बेला पारेर पछाडिबाट गोली हान्नेको पहिचान भइसक्दा पनि माओवादीले पार्टी कामको महत्वपूर्ण जिम्मेवारी दिइराखेको छ । कोटेश्वरका व्यापारी रामहरि श्रेष्ठको हत्यारा कालीबहादुर खामलाई बढुवा गरेर माओवादीले केन्द्रीय नेतृत्वमै पुर्याएको छ । कर्णाली पुग्ने सडक निर्माणमा खटिएका निशस्त्र सेनाका जवानहरूलाई गोली हानी हत्या गर्ने र गोली लागेर ढलेका सिपाहीहरूको निजी अङ्ग काटी सम्बन्धित व्यक्तिको मुखमा राखिदिनेजस्ता जघन्य अपराध गर्ने हत्याकाण्डका नाइकेहरूलाई पनि माओवादीले केन्द्रीय तहको महत्वपूर्ण जिम्मेवारी दिएरै राखिरहेको छ । आफ्नो निजी कामका हिंडेका प्राविधिक जनरल सागर पाण्डेको यात्रा गरिरहेको अवस्थामा हत्या गर्नेहरूलाई पनि माओवादीले पदोन्नति दिई पार्टी काममा लगाइरहेको छ । शिक्षक मुक्तिनाथ आचार्यदेखि पत्रकार डेकेन्द्र थापासम्मका हत्याराहरूलाई पनि माओवादीले अहिलेसम्म पालनपोषण गरेरै राखिरहेको छ । तर, नेपाली सेनाका एउटा कर्णेल जसले तात्कालिक सरकारको निर्देशन पालना मात्र गरेका थिए, तिनलाई भने स्वाभाविक रूपले पाउनुपर्ने पदोन्नतिमा पनि बाधा पुर्याएको छ ।

प्राप्त जानकारीअनुसार प्रधानमन्त्री डा। बाबुराम भट्टराई स्वयम्ले कर्णेल राजु बस्नेतको बढुवा प्रक्रिया अघि नबढाउन निर्देशन दिएका छन् । रक्षा मन्त्रालयको समेत जिम्मेवारी पाएका प्रधानमन्त्री बाबुरामको निर्देशनपश्चात् रक्षा मन्त्रालयले कर्णेल बस्नेतको फाइल त्यत्तिकै थन्क्याएको छ । आगामी सात दिनभित्र उनको बढुवा भएन भने कर्णेलको सेवाअवधि सकिएर उनले स्वतः अवकाश प्राप्त गर्नेछन् । भैरवनाथ गणमा जिम्मेवारी लिएकै कारण यसअघि जनरल तोरणबहादुर सिंहको बढुवामा पनि अड्चन पैदा गर्ने प्रयास माओवादीले गरेको थियो । तर, त्यसबेला रक्षामन्त्री रहनुभएकी विद्यादेवी भण्डारीको प्रयासले माओवादीको अवरोध छिचोल्दै सिंहको बढुवा गरिएको थियो । अहिले आफ्नै नेतृत्वको सरकार भएको मौका पारेर माओवादीले सैनिक अधिकारीसंग बदला लिन खोजेका छन् । आफ्ना दाजु किरण बस्नेतको ज्यान लिने माओवादीले अहिले आफ्नो रोजगारी हरण गर्न खोज्दा पनि कर्णेल राजु बस्नेत भने मौन बसिरहेको बुझिएको छ । यसरी नेपाली सेनाप्रति प्रधानमन्त्री र उनको पक्षबाट पूर्वाग्रहपूर्ण व्यवहार हुंदा पनि प्रधानसेनापति छत्रमान गुरुङले आफूमातहतका अधिकारीलाई न्याय दिलाउन कुनै पहल गरेका छैनन् । एक सूत्रले जनाएअनुसार प्रधानमन्त्रीले बढुवामा रोक लगाउन खोज्छन् भने प्रधानसेनापति आफैंले बस्नेतको बढुवा गरी कामको जिम्मेवारी दिने प्रक्रिया अगाडि बढाउन उच्च सैन्य अधिकारीहरूले प्रधानसेनापतिमाथि दबाब दिइरहेका छन् । बस्नेतको बढुवा नगरिए सेनामा तीव्र असन्तुष्टि पैदा हुने र त्यसले सैन्य सङ्गठनको तेजोबध हुनसक्ने तर्क उच्च सैन्य अधिकृतहरूको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

नेपालगन्ज । बाँकेको भेरी अस्पतालमा १९० नमुना परीक्षण गर्दा ५५.७८ प्रतिशतमा कोरोना पोजेटिभ देखिएको छ । पछिल्लो २४ घण्टामा १९०

बैतडी । हतौडा प्रहारबाट बैतडीमा आज एक बालकको हत्या भएको छ । दशरथचन्द नगरपालिका–१ झोकालीका १५ वर्षीय महेश भुलको हत्या

काठमाडौ । सरकारले शहरी क्षेत्रका विद्यालयहरु आगामी वैशाख मसान्तसम्म बन्द गर्न सिफारिस गरेको छ । कोभिड – १९ व्यवस्थापन केन्द्र

काठमाडौँ। प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना भाइरस (कोभिड–१९) को समस्या समाधानका लागि सबै दलसँग सहयोगको आग्रह गरेका छन् । प्रधानमन्त्री