‘नेपाल सन् २०३० अगावै मध्यम आय भएको मुलुक बन्न चाहन्छ’ : राष्ट्रपति भण्डारी

१३ बैशाख २०७६, शुक्रबार २१:३३ मा प्रकाशित

सुरेन्द्रबहादुर नेपाली, बेइजिङ, १३ वैशाख । राष्ट्रपति विद्यादेवी भण्डारीले अतिकम विकसित राष्ट्रबाट स्तरोन्नति हुने नेपालको तत्कालको उद्देश्य भएको बताउनुभएको छ । अन्तरराष्ट्रिय सहयोगका लागि दोस्रो बेल्ट एण्ड रोड मञ्चको आज यहाँ आयोजित उच्चस्तरीय बैठकमा राष्ट्रपति भण्डारीले सन् २०३० अघि नै दिगो विकासका लक्ष्य हासिल गर्दै मध्यम आय भएको राष्ट्र बन्न नेपाल दृढताका साथ अगाडि बढेको बताउनुभयो ।

उहाँले नेपालले विकासका चुनौती सामना गर्न छिमेकीलगायत अन्य मित्रराष्ट्र तथा विकास साझेदारसँग द्विपक्षीय तथा बहुपक्षीय सहकार्य र सहयोग बढाउन चाहेको स्पष्ट गर्नुभयो । “अबको उद्देश्य भनेको जनताको जीवनस्तरमा देखिने गरी परिवर्तन ल्याउने होे”, उहाँले भन्नुभयो ।

नेपाल–चीन सीमापार रेलवेलगायत हिमालय वारपार बहुआयामिक सञ्जालकोे विकासले नेपाल र चीनबीच मात्र नभई यस क्षेत्रका अन्य देशसँग समेत सम्पर्क सञ्जाललाई प्रवद्र्धन गर्ने धारणा उहाँले व्यक्त गर्नुभयो ।

उहाँले बिएण्डआर सहकार्य, सहयोग र सम्पर्कका लागि एक महत्वपूर्ण ढाँचा भएको र आपसी हितका लागि संयुक्त प्रयास, न्यायोचित र समतामूलक विश्व व्यवस्थाका लागि समावेशी विकास र मानव जाति तथा पृथ्वीको सुरक्षाका लागि हरित विकास यसको मर्म भएको उल्लेख गर्नुभयो ।

राष्ट्रपति भण्डारीले विश्व अर्थतन्त्रको एक प्रमुख शक्ति तथा समृद्ध सभ्यतायुक्त एशियाले समृद्ध विश्वको भविष्यका लागि महत्वपूर्ण भूमिका निर्वाह गर्न सक्ने भएकाले यसको भविष्य समावेशिता र सहकार्यमा आधारित हुनुपर्ने धारणा व्यक्त गर्नुभयो । उहाँले चिनियाँ राष्ट्रपति सी चीन फिङको बेल्ट एण्ड रोड इनिसिएटिभ अवधारणामार्फत मानव जातिको साझा भविष्य निर्माण गर्ने दूरदृष्टिले विशाल सम्भावना बोकेको बताउँदै भन्नुभयो, “यसले कनेक्टिभिटीको प्रवद्र्धन, पूर्वाधार विकास, बजारलाई जोड्ने तथा यस क्षेत्र एवं बाहिरका देशहरुमाझ विभिन्न क्षेत्रमा सहयोगको अभिवृद्धिमा जोड दिएको छ । यसले एकाकीपनको सट्टा खुलापन, टकरावको सट्टा सहयोग तथा अर्थहीन खेलको सट्टा लाभमा आधारित सहयोगको प्रवद्र्धन गर्छ । विश्वव्यापी रुपमा स्रोत साधनको ठूलो अभाव रहेको परिप्रेक्ष्यमा दिगो विकासका लक्ष्य कार्यान्वयन गर्न बिआरआइले महत्वपूर्ण भूमिका निर्वाह गर्न सक्छ ।”

उहाँले बिआरआइ विकासको फलबाट कुनै पनि राष्ट्र विमुख नहुने किसिमको समृद्ध भविष्यका लागि एक संयन्त्र भएको र बढ्दो कनेक्टिभिटीसँगै व्यापार, लगानी, पर्यटन तथा जनस्तरको सम्बन्धको लागि व्यापक अवसरको ढोका खुल्ने भएकाले नेपाल जस्तो भूपरिवेष्ठित राष्ट्रको सामाजिक आर्थिक विकासका लागि यस संयन्त्रबाट सिर्जना हुने कनेक्टिभिटी सर्वाधिक महत्वपूर्ण भएको बताउनुभयो ।

उहाँले दिगो विश्व शान्ति र समृद्धि हासिल गर्न न्यायपूर्ण, निष्पक्ष, समतामूलक, समावेशी र नियममा आधारित विश्व व्यवस्था निर्माण गर्नेतर्फ सामूहिक प्रयास अघि बढाउन अन्तर्राष्ट्रिय सहयोगका लागि दोस्रो बेल्ट एण्ड रोड मञ्च सक्षम हुने विश्वास व्यक्त गर्नुभयो । राष्ट्रपति भण्डारीले आफूले बुद्धको भूमि तथा सर्वोच्च शिखर सगरमाथाको देश नेपालको सरकार तथा जनताका तर्फबाट न्यानो अभिवादन तथा शुभेच्छा ल्याएको बताउँदै कार्यक्रममा सहभागिता तथा तथा न्यानो आतिथ्यका लागि चिनियाँ राष्ट्रपतिलाई धन्यवाद ज्ञापनका साथ जनगणतन्त्र चीन स्थापनाको ७० औँ वार्षिकोत्सवका अवसरमा चीन सरकार र चिनियाँ जनतालाई बधाई व्यक्त गर्नुभयो । बैठकमा कम्बोडिया, सिङ्गापुर, फिलिपिन्स, थाइल्यान्ड, ग्रीस, इथियोपिया र म्यान्माका नेताहरुले पनि बोल्नुभएको थियो । रासस

राष्ट्रपति भण्डारीको मन्तव्यको पूर्ण पाठ:

बेल्ट एण्ड रोड सहयोगः एक उज्ज्वल साझा भविष्यको निर्माण
जनवादी गणतन्त्र चीनका महामहिम राष्ट्रपति सी चिनफिङ,
महामहिमज्यूहरु,
महिला तथा सञ्जनवृन्द

मैले यहाँहरु सबैका लागि बुद्धको भूमि तथा सर्वोच्च शिखर सगरमाथाको देश नेपालको सरकार तथा जनताका तर्फबाट न्यानो अभिवादन तथा शुभेच्छा ल्याएको छु । यस महत्वपूर्ण कार्यक्रममा सहभागिताका लागि आमन्त्रण गर्नुभएकोमा तथा न्यानो आतिथ्य प्रदान गर्नुभएकोमा म महामहिम सी चिनफिङलाई हार्दिक धन्यवाद ज्ञापन गर्न चाहन्छु । जनगणतन्त्र चीन स्थापना भएको ७० औँ वार्षिकोत्सवको अवसरमा चीन सरकार र चिनियाँ जनतालाई बधाई ज्ञापन गर्न चाहन्छु ।

विश्व आज गम्भीर परिवर्तनको मोडमा छ । संसारका धेरैजसो भागमा गरीबी घटेको छ, स्वास्थ्य तथा शिक्षामा पहुँच सहज बनेको छ र धेरै अर्थतन्त्र समृद्ध बन्दै गइरहेका छन् । अभूतपूर्वस्तरको प्राविधिक क्रान्तिले सम्भावनाको ढोका खोलिदिएको छ । आपसी सहयोग नभएको भए ती उपलब्धि सम्भव हुने थिएनन् । आपसी सहकार्यविना ती सफलता सोच्न सकिने थिएनन् ।

१. यसका बाबजुद नयाँ तथा पुराना चुनौती स्पष्टरुपमा देखा परेका छन् । सम्पत्तिको असमान वितरण व्याप्त छ । धेरैका लागि विकासका प्रतिबद्धता पूरा भएका छैनन् । करोडौँ मानिस गरीबीको अमानवीय चक्रमा बाँधिएका छन् ।

२. सहयोग र सहकार्यको जगले नै सन्देहको सामना गरिरहेको छ । संरक्षणवाद र एकाङ्गी प्रवृत्ति सतहमा आइरहेका छन् ।

३. यस प्रकारको पश्चगामी सोचले कठिन रुपले आर्जन गरिएका उपलब्धिलाई सङ्कटमा पार्ने मात्र नभई भावी पुस्तालाई समेत अन्यायमा पार्नेछ ।

४. विश्वमा कुनै एक कुनामा व्याप्त गरीबी पूरै विश्वका लागि खतरा बन्न सक्छ भन्ने कुरा हामीले स्वीकार गर्नुपर्दछ ।

तसर्थ विविध चुनौतीको बढोत्तरीले कम होइन अझ बढी सहकार्यको माग गर्दछ । सम्पन्न हुन बाँकी विकासले कम होइन अझ बढी आपसी सहयोगको माग गर्दछ । उज्ज्वल र अझ राम्रो भविष्यको खोजले कम होइन अझ बढी कनेक्टिभिटीको माग गर्दछ । एशिया विश्व अर्थतन्त्रको एक प्रमुख शक्ति हो । समृद्ध विश्वको भविष्यका लागि यो क्षेत्र महत्वपूर्ण भूमिका निर्वाह गर्न सक्ने अवस्थामा छ । धेरै समृद्ध सभ्यता भएकाले एशियाको भविष्य समावेशिता र सहकार्यमा आधारित हुनुपर्दछ ।

बेल्ट एण्ड रोड इनिसिएटिभमार्फत मानव जातिको साझा भविष्य निर्माण गर्ने राष्ट्रपति सीको दूरदृष्टिले विशाल सम्भावना बोकेको छ । यो सहकार्य, सहयोग र सम्पर्कको लागि एक महत्वपूर्ण फ्रेमवर्क हो । आपसी हितका लागि संयुक्त प्रयास, न्यायोचित र समतामूलक विश्व व्यवस्थाका लागि समावेशी विकास र मानव जाति तथा पृथ्वीको सुरक्षाका लागि हरित विकास यसको मर्म हो । यसले कनेक्टिभिटीको प्रवद्र्धन, पूर्वाधार विकास, बजारलाई जोड्ने तथा यस क्षेत्र एवं बाहिरका देशमाझ विभिन्न क्षेत्रमा सहयोगको अभिवृद्धिमा जोड दिएको छ ।

यसले एकाङ्गीपनको सट्टा खुलापन, टकरावको सट्टा सहयोग तथा अर्थहीन खेलको सट्टा लाभमा आधारित सहयोगको प्रवद्र्धन गर्दछ । विश्वव्यापी रुपमा स्रोतसाधनको ठूलो अभाव रहेको परिप्रेक्ष्यमा दिगो विकासका लक्ष्य कार्यान्वयन गर्न बिआरआइले महत्वपूर्ण भूमिका निर्वाह गर्न सक्दछ ।

साथै विकासको फलबाट कुनै पनि राष्ट्र विमुख नहुने किसिमको समृद्ध भविष्यका लागि बिआरआइ एक संयन्त्र हो । नेपालजस्तो भूपरिवेष्ठित राष्ट्रको सामाजिक आर्थिक विकासका लागि कनेक्टिभिटी सर्वाधिक महत्वपूर्ण छ । बढ्दो कन्क्टिभिटीसँगै व्यापार, लगानी, पर्यटन तथा जनस्तरको सम्बन्धको लागि व्यापक अवसरको ढोका खुल्दछ ।

नेपाल चीन सीमापार रेलवेलगायत हिमालय वारपार बहुआयामिक कनेक्टिभिटीको विकासले नेपाल र चीनबीच मात्र नभई यस क्षेत्रका अन्य देशहरुसँग समेत सम्पर्क सञ्जाललाई प्रवद्र्धन गर्नेछ ।

लामो राजनीतिक सङ्क्रमणपश्चात् नेपालले राजनीतिक स्थायित्व प्राप्त गरेको छ । हाम्रो अबको उद्देश्य भनेको जनताको जीवनस्तरमा देखिने गरी परिवर्तन ल्याउनु हो । हाम्रो राष्ट्रिय चाहना ‘समृद्ध नेपाल, सुखी नेपाली’ को लक्ष्यद्वारा निर्देशित छ । अतिकम विकसित राष्ट्रबाट स्तरोन्नति हुनु हाम्रो तत्कालको उद्देश्य हो । सन् २०३० अघि नै दिगो विकासका लक्ष्य हासिल गर्दै मध्यम आय भएको राष्ट्र बन्न चाहन्छौँ । हाम्रा विकासका चुनौती सामना गर्न छिमेकीलगायत अन्य मित्रराष्ट्र तथा विकास साझेदारसँग द्विपक्षीय तथा बहुपक्षीय सहकार्य र सहयोग बढाउन चाहन्छौँ ।

अन्त्यमा दिगो विश्व शान्ति र समृद्धि हासिल गर्न न्यायपूर्ण, निष्पक्ष, समतामूलक, समावेशी र नियममा आधारित विश्व व्यवस्था निर्माण गर्नेतर्फ हाम्रो सामूहिक प्रयास अघि बढाउन अन्तरराष्ट्रिय सहयोगका लागि दोस्रो बेल्ट एण्ड रोड फोरम सक्षम हुनेछ भन्ने विश्वासका साथ यस सम्मेलनको भव्य सफलताको लागि शुभकामना व्यक्त गर्दछु ।

धन्यवाद

प्रतिक्रिया
सम्बन्धित खवर

कञ्चनपुर । लगातार चार दिनसम्मकोे वर्षा पछि घाम लाग्न सुरु भएको छ । कञ्चनपुरका किसान झरीले निथ्रुक्क भिजाएको धान सुकाउनमा

काठमाडौं ।नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधव नेपालले एमालेबाट विद्रोह गर्ने क्रममा आफूलाई साथ नदिएका नेताहरुको हरिबिजोग भएको टिप्पणी गरेका छन्।

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सत्तारुढ पाँच दलीय गठबन्धनको चर्को आलोचना गरेका छन्। पूर्वप्रधानमन्त्रीसमेत

काठमाडौँ । परराष्ट्रमन्त्री डा.नारायण खड्काले लिपुलेकमा तत्काल जनगणना नहुने संकेत गरेका छन् । शनिबार विराटनगर विमानस्थलमा सञ्चारकर्मीहरुसँगको कुराकानीमा परराष्ट्रमन्त्री खड्काले