रत्नपार्कमा पहिलो अन्तरिक्ष यात्री युरी गागरिनको शालिक

१२ बैशाख २०७६, बिहीबार १३:४९ मा प्रकाशित

निरोज कुमार थापा, काठमाडौँ, १२ बैशाख । काठमाण्डौ महानगरपालिकाले रत्नपार्कमा पहिलो अन्तरिक्ष यात्री युरी गागरिनको शालिक अनावरण गरेको छ । महानगरले गागरिनको ८५ औँ वार्षिकोत्सवको अवसरमा पारेर अन्तरिक्ष यात्राको कुममाथिको भाग अनावरण गरेको हो ।

महानगरका मेयर विद्यासुन्दर शाक्य र अन्तरिक्ष यात्री भिक्टोर पेट्रोभिच सभिन्खले संयुक्तरूपमा शालिक अनावरण गरेका हुन् । मेयर शाक्यले शङ्खपार्क मनोरञ्जनका लागि मात्रै नभई अध्ययनका लागि पनि उपयुक्त ठाउँ भएको बताउँदै रसियासँग नेपालको कुटनीतिक सम्बन्धबाट आपसी सिकाइ आदानप्रदान भइरहेको बताए । मेयर शाक्यले २७ वर्षको उमेरमा अन्तरिक्षको यात्रा गरेर ३४ वर्षको उमेरमा मृत्युवरण गरेका गागरिनको जीवन पद्धति युवा सशक्तिकरणको उदाहरण भएको बताए ।

बृहत्तर विकासका लागि रसिया नेपाललाई प्रविधिमा सहयोग गर्न तत्पर रहेको भन्दै अन्तरिक्ष यात्री भिक्टोरले एकीकृत विकासमा यस्तो सहयोग उपयोगी हुने बताए । साढे ६ फिट उचाइ र ५ फिट चौडाइमा निर्माण गरिएको अक्षले घेरेको पृथ्वी र त्यसको छेउमा ठड्याइएको स्तम्भमा गागरिनको कुम माथिको मूर्ति राखिएको छ । त्यस संरचना तयार पार्न झण्डै ३ लाख १५ हजार रूपैयाँ लागेको बताइएको छ ।

पहिलो अन्तरिक्ष यात्री गागरिनले सन् १९६१ अप्रिल १२ तारिखका दिन अन्तरिक्षको यात्रा गरेका थिए । त्यस यात्राका क्रममा उनले १०८ मिनेट पृथ्वीको परिक्रमा गरे । सन् १९३४ मार्च ९ मा रसियामा जन्मिएका गागरिनको सन् १९६८ मार्च २७ तारिखका दिन मृत्यु भएको थियो ।

प्रतिक्रिया
सम्बन्धित खवर

अंकारा । टर्कीकी महिला रुमेसा गेल्जी विश्वकै सबैभन्दा अग्ली महिला बनेकी छिन् । उनको उचाई दुई मिटर १५ सेन्टिमिटर छ

काठमाडौं । जुवातास खेल्नु कानुनविपरितको काम मानिन्छ । जुवा ऐन २०२० अनुसार जुवा खेल्दा वा खेलाउँदा पहिलोपटक पक्राउ परे दुई

काठमाडौं । विगत केही दिनदेखि परेको अविरल वर्षाका कारण आएको बाढी, पहिरो र डुबानमा परी आज बिहानसम्म ९५ जनाको मृत्यु

न्युयोर्क । कोभिड महामारी अर्को वर्ष पनि फैलिने विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) ले प्रक्षेपण गरेको छ । गरिब देशका नागरिकले