जनता आतङ्कित बनाउने समय होइन: अध्यक्ष दाहाल

८ बैशाख २०७६, आईतवार २२:२८ मा प्रकाशित

चितवन, ८ वैशाख । पूर्वप्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी नेकपामा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अहिलेको समय जनतालाई आतङ्कित बनाएर हिँड्ने समय नरहेको बताउनु भएको छ । कैलाशनगर माविको स्वर्ण महोत्सव उद्घाटन समारोहलाई आज यहाँ सम्बोधन गर्दै उहाँले वार्ता, सहमति र संवादबाटै समस्याको समाधान गर्न सकिने बताउनुभयो ।

चन्द नेतृत्वको माओवादीतर्फ लक्षित गर्दै उहाँले भन्नुभयो, “अहिले देश २०५२ सालमा छैन, २०७२ साल पनि होइन २०७६ साल हो । यो समय बम पड्काएर, जनता आतङ्कित बनाएर चन्दा उठाएर हिँड्ने समय होइन ।” परिस्थितिलाई विचार गरेर वार्ता, सहमति र संवादबाटै जाने वातावरण रहेको उहाँको भनाइ थियो । कम्युनिष्ट पार्टीकै सरकार र जनताले कम्युनिष्टलाई दुई तिहाइ मत दिएको समयमा यस्ता एकाध घटना गराएर परिवर्तनका कुरा गर्नुभन्दा ठूलो भ्रम अरू केही नहुने उहाँको बताउनुभयो ।

अध्यक्ष दाहालले चन्द समूहले पनि सहज वातावरण बनाउन वार्ता, संवादमा आउने र सबै मिलेर देशलाई समाजवाद उन्मुख राज्य बनाउन सहयोग गर्ने विश्वास व्यक्त गर्नुभयो । उहाँले भन्नुभयो, “देश विकासतर्फ जाँदै गरेको समयमा संवादमार्फत समस्या समाधान नभए बलिदान र नेपाली जनताको अपमान हुनेछ ।” आफूले बिप्लवलाई गलत बाटोमा हिँडेको जानकारी गराएको उहाँको भनाइ थियो ।

उहाँले अबको १० वर्षमा मुलुकलाई मध्यमस्तरीय विकसित देशमा लैजाने बताउनुभयो । राष्ट्रिय एकता, सामाजिक न्याय चाहन्छन्, समृद्धि आओस्, राष्ट्रिय स्वाधीनताको कुरालाई ध्यान दिने हो भने सहमतिको विकल्प नरहेको उहाँको भनाइ थियो । सरकारले ल्याउन लागेको नयाँ बजेटमा निर्वाचनमा गरिएका वाचा बजेटमार्फत आउने र राष्ट्रिय सहमतिमार्फत देशको विकास गर्ने अध्यक्ष दाहालले बताउनुभयो ।

कार्यक्रममा प्रतिनिधिसभा सदस्य उमा रेग्मी, नेपाली काङ्ग्रेस चितवनका सभापति जीतनारायण श्रेष्ठ, भरतपुर महानगरपालिका–५ का वडाध्यक्ष पदमपाणि सुवेदी, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष बैकुण्ठराज पौडेल, प्रधानाध्यापक रामजीप्रसाद अधिकारीलगायतले बोल्नुभएको थियो ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । नेकपा एकीकृत समाजवादी पार्टी नेपालले प्रदेशका इन्चार्ज तथा पदाधिकारीको जिम्मेवारी तोकेको छ । एकीकृत समाजवादीले उपत्यका प्रदेशसहित ८

गृहमन्त्री बालकृष्ण खाँणले नेत्र विक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) सँग नेपाल सरकारले गरेको सहमति कार्यान्वयनका लागि पहल सुरु

नेपाली काङ्ग्रेसका महामन्त्री डा. शशाङ्क कोइरालाले नेपाली काङ्ग्रेसको १४ औँ महाधिवेशनको रोकिएको प्रक्रिया तिहार लगत्तै सुरु हुने बताउनुभएको छ ।

पोखरा । गण्डकीमा नयाँ मन्त्रिमण्डल विस्तार गर्दा सल्लाह नभएको भन्दै सत्ता साझेदार दलहरूबीच नै मनमुटाव सुरु भएको छ । नेकपा