खेलकूदको विकासका लागि विशेष पहल आवश्यक छ : राष्ट्रपति भण्डारी

५ बैशाख २०७६, बिहीबार २२:४६ मा प्रकाशित

राँझा, ५ वैशाख । राष्ट्रपति विद्यादेवी भण्डारीले खेलकूदको विकास र खेलाडीको आवश्यकतालाई पूरा गर्न स्थानीय तहदेखि नै विशेष पहल गरिनुपर्ने बताउनुभएको छ । आठौँ राष्ट्रिय खेलकूद प्रतियोगिताको आज नेपालगञ्ज रङ्गशालामा उद्घाटन गर्दै उहाँले सुविधासम्पन्न खेलकूदका पूर्वाधार विकास र विस्तार गर्नुपर्नेमा जोड दिनुभयो ।

“सरकारले अघि सारेको ‘समृद्ध नेपाल र सुखी नेपाली’को राष्ट्रिय सङ्कल्प साकार पार्न खेलकूद क्षेत्रले मद्दत पुर्याउँछ भन्ने महसुस गरेको छु”, राष्ट्रपति भण्डारीले भन्नुभयो, “यसबाट नागरिकको स्वास्थ्य तथा खेल पर्यटन र आर्थिक विकासमा टेवा पुग्ने विश्वास लिएको छु ।” खेलकूद प्रतियोगिता निर्धारित मितिमै आयोजना भएकामा खुशी व्यक्त गर्दै उहाँले केही वर्षदेखि नेपाली खेलाडीले राष्ट्रिय र अन्तर्राष्ट्रिय खेलकूद प्रतियोगितामा हासिल गरेका उपलब्धि उत्साहप्रद रहेको उल्लेख गर्नुभयो ।

“राज्यले आफ्नो सीमित स्रोतसाधनका बाबजुद खेलकूदको विकासमा गरेको लगानीका कारण नेपाली खेलाडीमा प्रेरणा प्राप्त हुँदै प्रतिस्पर्धात्मक क्षमता बढेको महसुस गरेको छु”, राष्ट्रपति भण्डारीले भन्नुभयो, “खेलाडीको वृत्तिविकासमा यथोचित ध्यान पुर्याउदै खेलाडीको साथमा सधैँ राज्य छ भन्ने भावना अझ जागृत गर्न सम्बद्ध पक्षको ध्यानाकर्षण गराउन चाहन्छु ।”

सधैँ राष्ट्रिय झण्डा फहराएर देशको गौरव उँचो पार्न सक्षम खेलाडीले शिक्षा आर्जनमा समेत ध्यान पु¥याउनुपर्ने उल्लेख गर्दै उहाँले खेलकूदको जगका रुपमा रहेको विद्यालय तहदेखि नै खेलकूदमा विद्यार्थीको सहभागिता बढाएर देशलाई अन्तर्राष्ट्रिय जगतमा परिचित गराउन लाग्नुपर्नेमा जोड दिनुभयो । “खेल क्षेत्रका नीति निर्माता र व्यवस्थापक खेलकूदको विकासमा केन्द्रित बन्नुपर्दछ”, उहाँले भन्नुभयो । ठूलो लगानीसहित नेपालगञ्जले राष्ट्रिय खेलकूद प्रतियोगिता आयोजना गर्ने दोस्रो पटक अवसर पाएकाले यस क्षेत्रमा खेलकूदको पूर्वाधार विकास गर्न मद्दत पुगेको राष्ट्रपति भण्डारीले बताउनुभयो ।

खेलकूद प्रवर्द्धन तथा खेलाडीको क्षमता विकासमा महत्वपूर्ण योगदान पु¥याउने प्रतियोगिताको आयोजक राष्ट्रिय खेलकूद परिषद्का पदाधिकारीलाई राष्ट्रपति भण्डारीले धन्यवाद र खेलाडीलाई शुभकामनासमेत व्यक्त गर्नुभयो । आठौँ राष्ट्रिय खेलकूद प्रतियोगिताको उद्घाटन समारोहलाई युवा तथा खेलकूदमन्त्री जगतबहादुर विश्वकर्मा, प्रदेश ५ का मुख्यमन्त्री शङ्कर पोखरेल र राष्ट्रिय खेलकूद परिषद्का सदस्य सचिव केशवकुमार विष्टले प्रतियोगिता सफलताको कामना गर्नुभएको थियो । रासस

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । विगत केही दिनदेखि परेको अविरल वर्षाका कारण आएको बाढी, पहिरो र डुबानमा परी आज बिहानसम्म ९५ जनाको मृत्यु

न्युयोर्क । कोभिड महामारी अर्को वर्ष पनि फैलिने विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) ले प्रक्षेपण गरेको छ । गरिब देशका नागरिकले

  काठमाडौँ – दशैं मनाउन व्यस्त भएका जनतालाई दशैं पुरा मनाउन नपाउँदै दु.खले छोप्यो । विशेषगरी कृषकलाई भोकमरीको चिन्ताले सताउन

नेकपा (एमाले)ले यसवर्ष पनि दसैँ, तिहार, नेपाल सम्बत् र छठपर्वको अवसरमा चियापान नगर्ने भएको छ । कोरोना भाइरसको सङ्क्रमणको कारण