यू–१९ महिला फुटबल टोली चीन प्रस्थान

४ बैशाख २०७६, बुधबार २१:५३ मा प्रकाशित

काठमाडौँ, ४ वैशाख । थाइल्याण्डमा यही वैशाख १३ देखि १७ गतेसम्म आयोजना हुने एशियाली फुटबल महासङ्घ (एएफसी) यू–१९ महिला च्याम्पियनसिप छनोटको दोस्रो चरणको तयारीका लागि नेपाली यू–१९ महिला फुटबल टोली आज चीन प्रस्थान गरेको छ ।

चीनमा दुई अभ्यास खेल खेलेपछि नेपाली टोली प्रतियोगिता खेल्न थाइल्याण्ड जाने आज यहाँ आयोजित बिदाई कार्यक्रममा मुख्य प्रशिक्षक हरिओम श्रेष्ठले जानकारी दिनुभयो । सरु लिम्बुको कप्तानीमा रहेको २२ सदस्यीय नेपाली टोलीलाई अखिल नेपाल फुटबल सङ्घ (एन्फा)का अध्यक्ष कर्मा छिरिङ शेर्पालगायत एन्फाका पदाधिकारीले आज बिदाई गर्नुभयो ।

थाइल्याण्डमा दोस्रो चरणको छनोट यही वैशाख १३ देखि १७ गतेसम्म सञ्चालन हुनेछ । नेपालले समूह चरणमा अष्ट्रेलिया, उज्वेकिस्तान र म्यानमासँग खेल्नेछ । नेपाली टोलीमा गोलकिपर अन्जना रानामगर, रेविका राई, उषा नाथ, डिफेण्डरमा निशा थोकर, सुष्मा महर्जन, रोजिना श्रेष्ठ, समीक्षा घिमिरे, विमला विक, पुजा रानामगर, सलोनी रानामगर, सविता रानामगर, मिडफिल्डरमा सरु लिम्बू, मन्जली कुमारी योञ्जन, मेनुका आले मगर, अस्मिता बैद्य, मनिषा राउत, सुहानी कुशुवार, प्रीति राई, सम्झना लावती र स्ट्राइकरमा रश्मीकुमारी घिसिङ, एलिशा जिम्बा, रेखा पौडेल तथा निर्मला उपाध्याय छन् ।

एन्फाले उक्त प्रतियोगितामा सहभागी हुने टोलीको मङ्गलबार घोषणा गरेको थियो । यसअघि थाइल्याण्डमा भएको पहिलो चरणमा उत्कृष्ट प्रदर्शन गर्दै नेपाल दोस्रो चरणमा प्रवेश गरेको थियो । गत कात्तिक दोस्रो साता थाइल्याण्डको चोनबुरीमा भएको प्रतियोगितामा नेपालले तीन खेलबाट ६ अङ्क बनाउँदै दोस्रो चरणमा स्थान बनाएको थियो ।

पहिलो खेलमा आयोजक थाइल्याण्डसँग ४–० गोलले पराजित नेपालले दोस्रो खेलमा भारतलाई २–० गोलले पराजित गरेको थियो । भारतबिरुद्ध दुबै गोल रेखा पौडेलले गरेकी थिइन् । प्रतियोगिताको अन्तिम खेलमा नेपालले पाकिस्तानलाई ९–० गोलले पराजित गरेको थियो । दोस्रो चरणका खेल यही वैशाख १३ देखि १७ गतेसम्म थाइलाण्डमै हुनेछन् । छनोटको शीर्ष टोलीले एएफसी यू–१९ च्याम्पियनसिपमा स्थान बनाउने छ । छनोटको समूह ‘ए’ मा रहेको नेपालले अष्ट्रेलिया, उज्वेकिस्तान र म्यानमासँग खेल्नेछ । नेपालले पहिलो खेल वैशाख १३ गते अष्ट्रेलियासँग, १५ गते उज्वेकिस्तान तथा १७ गते म्यानमासँग खेल्नेछ ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । पहिलो पटक साफ च्याम्पियनसिप फुटबलमा उपविजेता बनेको नेपाली राष्ट्रिय फुटबल टिम स्वदेश फिर्ता भएको छ । माल्दिभ्सको मालेमा

‘हिट ४९ प्रोफेसनल बक्सिङ च्याम्पियनसीप २०२१’को उपाधि बक्सर खेलाडी अविरल घिमिरेले चुमेका छन् । विश्वका युवा पुस्ताका चर्चित र अनुभवि

काठमाडौं । नेपाललाई पराजित गर्दै भारत १३ औं संस्करणको साफ च्याम्पियनसिप फुटबल प्रतियोगिताको उपाधि जित्न सफल भएको छ । शनिबार

दुबई । भारतमा जारी १४ औं संस्करणको इण्डियन प्रिमियर लिग (आईपीएल) को उपाधि चेन्नई सुपर किंग्सले जितेको छ । गएराति