विश्वमा नेपाली साहित्य चिनाउन सगरमाथा आरोहण

४ बैशाख २०७६, बुधबार २१:४९ मा प्रकाशित

नारायण ढुङ्गाना, काठमाडौँ, ४ वैशाख । विश्वको सर्वाेच्च शिखर सगरमाथाको चुचुरोमा उभिएर नेपाली कला, संस्कृति र साहित्यलाई विश्वसामु चिनाउन काभ्रेका साहित्यकार लक्ष्मण सापकोटा सगरमाथाको आरोहण गर्दै हुनुहुन्छ । साहित्यिक विधामा विभिन्न विश्व कीर्तिमान कायम गर्न काभ्रेपलाञ्चोकको पनौती नगरपालिका–८ पाटीथुम्का निवासी ५१ वर्षीय सापकोटा सगरमाथा आरोहण गर्न लाग्नुभएको हो ।

महानन्द सापकोटा वाङ्मय प्रतिष्ठान काभ्रेका अध्यक्ष लक्ष्मणलाई आज सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले सगरमाथाको सफल आरोहणको शुभकामना दिँदै खादा ओढाएर बिदाइ गर्नुभयो । “सगरमाथा आरोहण गरेर नेपाली साहित्यकारले विश्व कीर्तिमान कायम गर्दै छन्, यो नेपाल र नेपालीका लागि गर्वको कुरा हो, सफलताको शुभकामना दिन चाहन्छु, तपाईंको आरोहणले नेपाली साहित्यलाई विश्वसामु परिचित गराउने विश्वास छ,” सापकोटालाई बिदाइ गर्दै मन्त्री बाँस्कोटाले भन्नुभयो । उहाँले लेखक आफैँ सगरमाथाको चुचुरोमा पुगेर ‘झड्केली’ सामाजिक उपन्यास विमोचन गरी विश्व कीर्तिमान कायम गर्न लागेको बताउनुभयो ।

मेची–कालीसहित बिपी राजमार्ग तथा झापाको कचनाकवलदेखि चन्द्रगढीसम्मको एक हजार ३२५ किलोमिटरको साहित्यिक दौड समेत गरिसक्नुभएका साहित्यकार सापकोटाका ‘प्रयास’ कविता सङ्ग्रह २०६४, ‘वास्तविकता’ कथा सङ्ग्रह २०६५ र ‘इम्जात्से हिमशिखर चुम्दा’ यात्रा संस्मरण २०७५ प्रकाशित छन् ।

सगरमाथा आरोहणको तयारीस्वरुप लक्ष्मणले यसअघि २०७४ सालमा सोलुखुम्बुको छ हजार ६५४ मिटर अग्लो ‘मेरापिक’मा उभिएर कवितावाचन गरी कीर्तिमान कायम गर्नुभएको थियो भने २०७५ सालमा सोलुखुम्बुमा रहेको छ हजार २०० मिटरको ‘इम्जात्से’ हिमालको आरोहण गरिसक्नुभएको छ ।

यही वैशाख ८ गते काठमाडौँबाट सगरमाथाका लागि प्रस्थान गर्न लाग्नुभएका लक्ष्मणले जेठको पहिला साता सगरमाथाको चुचुरोमा पुगेर नेपाली साहित्य, कला र संस्कृतिलाई विश्वसामु चिनाउन विभिन्न कीर्तिमान कायम गर्न लागिएको बताउनुभयो । उहाँलाई नेपाल प्रज्ञा–प्रतिष्ठानले आजै ‘प्रथम साहित्यिक सगरमाथा आरोही’को बिदाइसमेत गरेको छ ।

उहाँले यसपटक साहित्यिक ब्यानरमा पुग्ने पहिलो साहित्यकार बन्दै सगरमाथाको चुचुरोमा पुगेर कवितावाचन गर्ने पहिलो कविको कीर्तिमान कायम गर्न लागेको बताउनुभयो । उहाँले सगरमाथा चुचुरोबाट कृति विमोचन गर्ने, ‘ओम’ अक्षरसहित शिव, पशुपतिनाथ, गौतम बुद्ध र ऋषि कौडिण्यको फोटो अङ्कित व्यानर पहिलो पटक सगरमाथामा पु¥याउने, राष्ट्रकवि माधवप्रसाद घिमिरे र शताब्दी पुरुष सत्यमोहन जोशीद्वारा हस्ताक्षरित रामायण, लक्ष्मीप्रसाद देवकोटाको मुनामदन तथा श्रीमद्भागवत गीता पनि सगरमाथा पुर्याउदै हुनुहुन्छ ।

आफैँ मधुमेहका बिरामी भएकाले चुचुरोमा उभिएर साहस भए रोगलाई समेत जित्न सकिन्छ भन्ने सन्देश दिन लाग्नुभएको छ । पूर्वमार्सल आर्टमा खेलाडी लक्ष्मण विगतमा नेपाली सेनामा समेत जागिर गर्नुभएको थियो । दुबईको प्रहरी कमाण्डो फोर्सको अनुभवसमेत उहाँसँग छ । त्यसैले सगरमाथा चढ्ने जोस आएको बताउँदै उहाँले आफ्नो यात्रमा रु ६५ लाखभन्दा बढी खर्च लाग्ने अनुमान रहेको र अझै १२–१५ लाख अपुग भएकाले सरकारले समेत सहयोगको आश्वासन दिएको बताउनुभयो । “अब विश्वलाई ‘माउण्ट एभरेष्ट’ शब्द होइन नेपाली नाम ‘सगरमाथा’ नै भन्न लगाउनुपर्छ, यसले आफ्नो पहिचान मेटाइरहेको छ, नेपाली नामले चिनियोस् भन्ने उद्देश्य आफ्नो हो,” लक्ष्मणले भन्नुभयो ।

उहाँले थप्नुभयोे, “नेपालको प्रमुख साहित्य भनेको हिमाल, सगरमाथा, बुद्ध र पशुपतिनाथ हुनुपर्छ, तब मात्रै देशको विकास हुन्छ, यसतर्फ ध्यानाकर्षण गराउनु पनि आरोहणको उद्देश्य हो ।” नयाँ पुस्तालाई साहित्यको माध्यमद्वारा देशप्रति आशावादी बनाउने अभियान रहेको भन्दै उहाँले विश्वकै पुरानो नेपालको शैव सभ्यतालाई भुल्न नहुनेमा जोड दिनुभयो ।

दुबईमा बस्दा भेटे जति विदेशीले उहाँलाई सगरमाथाका बारेमा सोध्ने गरेका थिए । “कक्षा ४ मा प्रथम सगरमाथा आरोही तेञ्जिङ नोर्गे शेर्पा र सर एडमण्ड हिलारीका बारेमा पढेको थिएँँ, दुबईमा बस्दा विदेशीहरुले, तिमी त धेरै पटक सगरमाथा चढेका होलाऊ हैन भनेर प्रश्न गरे, त्यसपछि मलाई झस्का पस्यो र अहिले सगरमाथा आरोहण गर्न लागेको हुँ,” विगत सम्झँदै लक्ष्मणले भन्नुभयो । रासस

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौँ। पूर्व रानी कोमल शाह अस्पतालबाट डिस्चार्ज भएकी छन् । काठमाडौँको थापाथलीस्थित नर्भिक अन्तर्राष्ट्रिय अस्पतालमा उपचाररत शाह आज अपराह्न ४

काठमाडौं । ईस्लाम धर्मावलम्वीहरूको महान पर्व रमजान आज धुमधामसँग मनाउने तयारीमा जुटेका छन् । यो पर्वलाई ‘इद उल फित्तर’ भनिन्छ

काठमाडौं । उपप्रधानमन्त्री ईश्वर पोखरेलले कोरोनाविरुद्वको खोप र स्वास्थ्य सामग्री सहयोगका लागि अमेरिकी सरकारसँग आग्रह गर्नुभएको छ । कोभिड–१९ सङ्कट

काठमाडौं । नेकपा एमालेले ‘समानान्तर’ पार्टी गतिविधि सञ्चालन गरेको भन्दै पार्टीबाट निलम्बन गरेका वरिष्ठ नेता माधवकुमार नेपालसहित चार नेताको कारबाही