माओका होइन माओवादी चिनियां सम्राटका अनुयायी सावित – एस शाह

१६ श्रावण २०६९, मंगलवार २०:१७ मा प्रकाशित

मानचुवंशीय चिनियां सम्राट च्या छिङले सन् १८०० को समयमा बेलायत, फ्रान्स, भारत र अमेरिकाबाट चीनमा पैठारी गर्न ल्याउने गरिएको अफिममा प्रतिबन्ध लगाए र देशभित्र मौज्दात रहेको सम्पूर्ण अफिम जलाएर नष्ट गर्ने आदेश पनि दिए । चीन सरकारले अफिमको व्यापारमा प्रतिबन्ध लगाएपछि बेलायत, फ्रान्स र अमेरिकाको सेनाले सामूहिक रूपमा चीनको सीमाभित्रै घुसेर सशस्त्र आक्रमण गर्नुका साथसाथै व्यापारिक र सैन्य दृष्टिकोणले महत्वपूर्ण देखिएका अधिकांश भूभाग आफ्नो कब्जामा लियो । चीनको इतिहासमा ‘अफिम युद्ध’को नामले प्रसिद्ध बन्न गएको यो युद्धमा चिनियां सम्राटको सेना पराजित भएपछि आक्रमण गर्ने क्रममा हुन गएको तीनवटै देशको खर्च चीन सरकारले नै व्यहोर्नुपर्ने, अफ्रिकाको पैठारीमा पांच प्रतिशतभन्दा बढी महसुल लिन नपाइने र विजेता देशका व्यापारी र इसाई मिसनरीहरूलाई चीनको जुनसुकै भूभागमा बसोबास गर्न र आवागमन गर्न पाउने विशेषाधिकार हुनुपर्ने भन्ने सर्तहरूलाई स्वीकार गर्दै चीनका सम्राट च्या छिङले दुईवटा सम्झौता गरे जसलाई ‘नानचिङ सन्धि’ र ‘वाङरया सन्धि’ भन्ने गरिएको पाइन्छ । चिनियां सम्राट च्या छिङले आफ्ना स्वदेशी जनताको तुलनामा विदेशी नागरिकलाई बढी विशेषाधिकार दिनेगरी दुईवटा ‘राष्ट्रघाती र जनविरोधी सन्धि गरेपछि त्यो सन्धिका विरुद्धमा चिनियां जनताले निरन्तर रूपमा चारवटा विद्रोह गरेका थिए, जुन जनविद्रोह ‘थायफिङ क्रान्ति’ ‘न्येन विद्रोह’ ‘बक्सर युद्ध’ र ‘४ मई विद्रोह’का नामले प्रसिद्ध छन् ।
माओत्सेतुङको नेतृत्वमा लडिएको जनयुद्धलाई ‘अफिमयुद्ध’कै निरन्तरता मान्न सकिन्छ । चीनका जनता र त्यहांका विभिन्न नेताले राष्ट्रघाती र जनविरोधी सन्धि गर्ने राजा र राजतन्त्रका विरुद्धमा विद्रोह गरेका थिए भने नेपालका नेता र नेपाली जनताले राष्ट्रघाती सन्धि–सम्झौता गर्न नचाहने र विदेशीलाई विशेषाधिकार दिन नचाहने स्वाधीनतावादी र स्वतन्त्रतापे्रमी राजा र राजतन्त्रका विरुद्धमा विद्रोह गरेको स्पष्ट देखिन्छ । नियत, भूमिका, परिणाम र मैत्री सम्बन्धका दृष्टिकोणले हेर्ने हो भने नेपालका माओवादीहरू माओका अनुयायी नभएर चिनियां सम्राट च्या छिङका अनुयायी सावित भएका छन् किनकि नेपालमा माओवादीको जनयुद्ध न त विदेशी अफिमको विरोध गर्ने चिनियां जनताको ‘थायफिङ विद्रोह’जस्तो बन्न सक्यो न त गरिब र निर्धनहरूको पक्षपोषण गर्ने चिनियां जनताको ‘त्येन विद्रोह’ जस्तो बन्नसक्यो न त विदेशी हस्तक्षेप, अतिक्रमण र प्रभुत्वका विरुद्ध या उत्रिएको चिनियां जनताको ‘बक्सर युद्ध’जस्तो बन्न सक्यो न त माओत्सेतुङको विद्रोहले झैं विदेशी घुसपैठियाहरूलाई देश निकाला गर्न सक्यो । चीनका जनता र नेताले राष्ट्रघाती सम्झौता गर्ने स्वदेशी सम्राटलाई दण्ड दिएका थिए भने नेपालका तथाकथित माओवादीले राष्ट्रघाती सम्झौता नगर्ने सङ्कल्प लिएका राजा र राजतन्त्रलाई समाप्त पारे । राष्ट्रघाती सन्धि गरेर आफूलाई सुरक्षित बनाउन खोज्ने चीनका सम्राट च्या छिङ र नेपालका वर्तमान प्रधानमन्त्री डा. बाबुराम भट्टराईको नियतका बीचमा कुनै भिन्नता छैन । प्रधानमन्त्री भट्टराईले नेपाल र नेपालीको उपेक्षा कति धेरै गरेका छन् र विदेशी प्रभुलाई कति महत्वपूर्ण ठानेका छन् भन्ने कुरा यही साउन ४ गतेको कान्तिपुरमा प्रकाशित गरिएको माओवादी नेता देव गुरुङकै लेख पढ्दा पनि स्पष्ट हुन्छ । जनसमाजले महसुस गरिरहेको आवश्यकता कहिलेकाहीं पहिलेको भन्दा बिलकुल फरक किसिमको पनि हुन्छ र कहिलेकाहीं पहिलेकै जस्तो पनि हुन्छ, जस्तो कि आंखाको विकल्प आंखा मात्रै हुन सक्दछ तर विकार रहित हुनुपर्छ । क्षतिग्रस्त भएको मिर्गौलाले परिवर्तन र विकल्पको माग गरिरहेको भर पनि भिन्नै प्रयोजनको अङ्गले स्थान लिनसक्ने गुञ्जाइस हुंदैन । राजनीतिमा वैकल्पिक प्रतिपक्षी शक्ति बन्नका निम्ति कहिलेकाहीं विरोधी शक्तिभन्दा ठीक उल्टो दृष्टिकोणको पनि हुनुपर्ने हुन्छ र कहिलेकाहीं विरोधीको स्थान लिन सक्नुपर्ने बाध्यता पनि हुन्छ ।
विदेशी दबाब, हस्तक्षेप र अतिक्रमणलाई न्यूनीकरण गरेर राष्ट्रिय स्वाधीनता र भौगोलिक अखण्डतालाई अक्षुण राखिरहने दायित्वको सवालमा राजतन्त्रको अनुशरण गर्दै जिम्मेवारीको प्रश्नमा राजाको स्थान ओगट्न नसकेसम्म नेपालका कुनै पनि राष्ट्रपति र प्रधानमन्त्रीहरू राजतन्त्रको सटिक विकल्प बन्न सकेका छैनन् । नेपाल र नेपालीका लागि दुर्लभ नेता स्व. बीपी कोइरालालाई स्वाधीनताविरोधी सन्धि गराउनका निम्ति ब्ल्याकमेल गरिएको जननेता मदन भण्डारी र राजा वीरेन्द्रलाई षड्यन्त्रपूर्वक मारिएको र राजा ज्ञानेन्द्रलाई षड्यन्त्रपूर्वक बद्नाम गराएर नारायणहिटीबाट निकाला गरिएको सन्दर्भमा नेपाल र नेपालीको हितप्रति समर्पित रहेका व्यक्ति मात्र विदेशी शक्तिद्वारा उपेक्षित र उत्पीडित हुन सक्दछ भन्ने अनुभवसिद्ध प्रमाण स्थापित हुन गएको देखिन्छ र सत्तामा पुग्न एवम् टिक्न सफल भएका साम्राज्यवादी र विस्तारवादीको कालोसूचीमा नपरेका, लामो आयु बांच्ने अभयदान पाएका र महत्वपूर्ण जिम्मेवारीको आश्वासन प्राप्त गरेका व्यक्तिहरू सबै नै घुसपैठिया सुराकी हुन् भनेर नेपाली जनताले बुझ्ने÷उभ्याउने अभियान चलाइसकेका छन् । जननेता मदन भण्डारीसंग खतरा महसुस गरेका विदेशी शक्तिहरूले माओवादीका नेता प्रचण्ड र डा. बाबुराम भट्टराईप्रति शङ्कासमेत प्रकट नगर्नु नै आफैंमा एउटा रहस्यमय बेइमानीको उदाहरण हो । नेपाली समाजमा जताततै शोषण मात्र देखिरहेका माओवादीले आफैंबाट भइरहेको शोषणलाई चाहिं देखिरहेका छैनन् । आफ्नो राजनीतिक दर्शन र वैचारिक कार्ययोजनाप्रति सहमति नजनाएसम्म गांस, बास शान्तिसुरक्षा, स्वास्थ्य र शिक्षाको ग्यारेन्टी (प्रत्याभूति) पाउने छैनन् भनेर यदि कुनै नेता, पार्टी र सरकारले प्रत्यक्ष र अप्रत्यक्ष रूपमा जनतालाई धम्कीका साथ ब्ल्याकमेल गरिरहन्छ भने त्योभन्दा ठूलो शोषण र अत्याचार अरू के हुन सक्दछ ? निरङ्कुश र स्वेच्छाचारी तानाशाही भन्ने गरिएको राजतन्त्रले यदि यसरी नै विरोधीको हातखुट्टा भांच्ने, गांसबास खोस्ने र अपहरण गर्ने अभियान चलाएको भए सायद आज विरोधीहरूको यति ठूलो सङ्ख्या भेटिने थिएन होला । माओवादीका ठूलाठूला नेताहरू कसैको धाकधम्की र अपहरणमा परेर माओवादीको हिमायती बन्न विवश भएका नभईकन आफ्नै अध्ययन, चिन्तन र विश्लेषणका आधारमा मात्र माओवादी बन्न पुगेका हुन् । तर, आफ्नै अनुभव र अध्ययनका आधारमा मात्र कुनै दर्शन र विचारको अनुयायी बन्न पाउने स्वतन्त्रताको सहुलियत आमजनतालाई किन दिइएन ? किन जनताका घांटी रेटिए, किन हातखुट्टा भांचिए किन गांसबास खोसी किन गाउंघरबाट निकाला गरिए ? जनयुद्धकालदेखि आजसम्म गरिएका निर्णय र कामकारबाही हेर्दाखेरी माओवादीको सङ्गठन नेपाल र नेपालीको शुभचिन्तक थियो र अहिले पनि छ भन्न सकिने साङ्केतिक लक्षण एउटा पनि देखिएको छैन । माओवादीको नेतृत्वका दुईवटा सरकारले सन्धि–सम्झौताका न्यायमा विदेशी शक्तिलाई जे–जस्ता निर्णायक अधिकार स्थानान्तरण गरेको छ त्यसको तुलनामा नेपाली जनतालाई ऐतिहासिक महत्ववको स्थायी उपलब्धि एउटा पनि दिन सकेको छैन । माओवादी नेताहरूले वर्तमान नेपाललाई माओकालीन चीनको अवस्थामा होइन कि अठारौं र उन्नाइसौं शताब्दीको चीनजस्तो बनाइरहेका छन् । सन् १८०० देखि सन् १९१९ को अवधिसम्म विदेशीहरूले चिनियां जनतालाई आफ्नै देशभित्र जारी असहाय र लाचार बनाइरहेका थिए, त्यस्तै अवस्था आज नेपालीको छ । नेपालीको आन्दोलन र चक्काजामले हासिल गर्न नसकेको माग एकजना भारतीयको एउटै फोनले हासिल गर्न सक्नेछ जवाहरलाल नेहरू विश्वविद्यालयमा निःशुल्क पढेका डा. बाबुराम भट्टराईले नेपालका प्राकृतिक स्रोत र स्वतन्त्र राज्यको अस्तित्व पनि गुरुभेटीको रूपमा निःशुल्क नै दिने भए । फरक संविधान, फरक झन्डा र फरक शासक हुंदैमा मात्र कुनै देश स्वतन्त्र रहिरहेको ठहरिन सक्दैन भन्ने विचारको पुष्ट्याइं कस्मिर राज्यको प्रत्यक्ष रूपमा गरिरहेकै छ । किनकि कस्मिरका शेर उपाधि पाएका शेरन अब्दुल्लाहको ‘फरक निसान’, ‘फरक प्रधान’ र ‘फरक संविधान’को सर्तलाई भारतले स्वीकार गरिरहनुको बाबजुद कस्मिरलाई स्वतन्त्र देश मान्न सकिने अन्य आधारहरू छैनन् । माओवादीहरूले आज नेपाललाई पनि फरक झन्डा भएकै आधारमा मात्र स्वतन्त्र राष्ट्र ठान्न नमिल्ने अवस्थामा पु¥याइसकेका छन् ।
कुकुर र घोडाले त्यसैलाई मात्र महत्व दिएका हुन्छन् जसले आफूलाई पालेको हुन्छ । जननी र जन्मस्थानप्रति कुकुर र घोडाले मोह–ममता देखाउंदैनन् र उनीहरूको मनमा स्वामीभक्ति भए पनि भ्रातृत्व र बन्धुत्वको भावना हुंदैन । परीक्षामा जहिले पनि प्रथम हुनुभएका डा. बाबुराम भट्टराई इतिहासकै उदहरणीय प्रधानमन्त्री बन्नुहुनेछ भनेर अग्रणी रूपमा उधारो प्रशंसा गर्दै आएका नेपाली जनतालाई उहांले कुकुरे चरित्र र घोडे निष्ठा देखाएर चकित पारिदिनुभएको छ । लेण्डुप दोर्जे नभएको देशमा पहिलो लेण्डुप दोर्जे हुनु पनि परीक्षामा प्रथम भएसरह नै हो ।

प्रतिक्रिया
सम्बन्धित खवर

समयको गति पनि कस्तो ? पच्छ्याउदा, पच्छ्याउदै हामी कतिबेला छुट्छौं थाहै हुन्न । आज हामी जुन गतिमा छौं । भोलि

भाषा मानव जातिले मौखिक, लिखित वा सांकेतिक माध्यममा प्रयोग गर्ने संचार माध्यम हो। संसारका कतिवटा भाषाहरू छन् भनेर एकिन का

बाबा राजेश्वरी थापा, भिएना, अस्ट्रिया: थोरै घाम लाग्ने युरोपमा घाम लागेको दिन मन फुरुंग हुन्छ।  केहि दिन अघि घाम लागेको

भक्त वाग्ले तत्कालीन नेपाल कम्युनिष्ट पार्टी एकिकरण हुंदाका दुई पार्टीहरु नेकपा एमाले र नेकपा माओवादी केन्द्र मध्ये व्यवस्थित,अनुशासित र विधिमा