छलिया नर्तकहरुलाई जीवन धान्नै मुश्किल

३ बैशाख २०७६, मंगलवार २२:२८ मा प्रकाशित

राजेन्द्रप्रसाद पनेरु, कञ्चनपुर, ३ वैशाख । कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका ११ दीपनगरका श्याम दमाईले छलिया नृत्य देखाउन थालेको डेढ दशक भयो । नृत्य देखाएवापत मुश्किलले उहाँको महीनामा पाँच हजार रुपैयाँ जति कमाइ हुन्छ । कुनै महीना नृत्यका लागि माग नआए खाली हात घरमै बस्नु पर्ने हुन्छ ।

छलिया नृत्यमा सहभागी हुने दशजनाको टोली उहाँसँग छ । टोलीका सदस्यहरुमध्ये दुई जनाले नृत्य देखाउने, गीत गाउने र अरुले बाजा बजाउने गर्छन् ।

टोलीले छलिया नृत्य देखाए वापत विवाह, व्रतबन्ध र अन्य कार्यक्रममा रु १० हजारदेखि रु २५ हजारसम्म लिने गर्छ । आम्दानी दश जनामा बाँड्दा हरेकलाई थोरै मात्र हात पर्छ । महीनामा दुईदेखि तीन वटासम्म छलिया नृत्य देखाउने माग आउने गरेको दमाई बताउनुहुन्छ ।

पहिला विवाह, व्रतबन्ध, न्वारानलगायतका कार्यका लागि मात्रै छलिया नृत्य देखाउने माग आउने गथ्र्याे । दमाईले भन्नुभयो – “हाल यसको क्षेत्र विस्तार भएको छ । राजनीतिक र सांस्कृतिक समारोहमा माग छ तर, दाम छैन ।”

उहाँले भन्नुभयो – “कुनैमा निःशुल्क छलिया नाच देखाउने माग हुन्छ । कुनैमा खाना खर्च दिएर विदा गरिन्छ । यसरी जीविका चलाउन सकिँदैन ।”

छलिया नृत्य देखाएर मात्रै जीविका नचल्ने भएकाले धेरैले सिलाइ पेशा अङ्गाल्दै आएका छन् । यसबाट परिवारको खर्च जेनतेन धानिन्छ । सिलाइ पेशा पहिला दमाई समुदायसँग मात्रै थियो । अहिले अन्य समुदायले पनि यो पेशा अपनाउन थालेपछि यसबाट समेत दमाई समुदाय विमुख हुन पुगेको छ । पुस्तौंदेखि छलिया नृत्य पिंढी दर पिंढीमा हस्तान्तरण हँुदै आएको छ ।
सुदूरपश्चिम प्रदेशको लोकनृत्यका रुपमा रहेकोे छलिया नृत्यका नर्तकहरुको कमाइ गतिलो नहुँदा धेरैले पेशा छाडेका हुन् । पुस्तौंदेखि छलिया नृत्य दमाई, आउजीलगायतका दलित समुदायले देखाउँदै आएका छन् ।

पहिले पहिले यो नृत्य देखाउँदा नर्तकहरुले पारिश्रमिकका रुपमा खसी, बोका, गाई, भैंसी र केही बक्सिसका रुपमा नगद पाउने गर्थे । अहिले परिवर्तित समयानुसार पारिश्रमिकका रुपमा उनीहरुले नगद पाउन थाले तर त्यो ज्यादै थोरै हुन्छ । करे दमाईले भन्नुभयो – “न्यून पारिश्रमिकले पेशा चलाउन निकै मुश्किल छ ।”

यथेष्ट कमाइ नहुने भएपछि युवा पिंढीले छलिया नृत्य सिक्न नाइँनास्ति गर्न थालेका छन् । उनीहरु छलियाको विकल्पका रुपमा अन्य पेशा रोज्न थालेका छन् । छलिया नृत्य देखाउने दलित समुदायकै हुने भएकाले जातीय विभेदसमेत हुने गरेको छ ।

“विवाह, व्रतबन्ध, न्वारानलगायतका कार्यक्रममा अहिले पनि एक छेउमै बसेर नृत्य देखाउनु पर्दछ,” करेले भन्नुभयो – “भान्सामा छुन मिल्दैन । खाना खाने ठाउँमा जान दिइँदैन । टाढैबाट खाना र पानी थाप्नु पर्दछ ।”

आम्दानी थोरै, त्यसमाथि जातीय विभेद । त्यसै भएर पछिल्लो पुस्ता छलिया नृत्य कला सिक्न रुचि देखाउन छाडेको उहाँको भनाइ छ । छलिया नृत्यमा प्रयोग हुने दमाहा, झ्याली, बिगुल, तुरी, नागफनी, मसकविन, मिजुरा सहनाई लगायतका बाजासमेत अर्थाभावले खरिद गर्न नसक्दा धेरैले भारतको कुमाउँबाट भाडामा ल्याएर बजाउने गरेका छन् ।

बाजा किन्नसमेत धेरै पैसा लाग्ने भएकाले बाजा खरिद गरिदिन रकमको जोहो गरिदिन नगरपालिकासँग माग गर्दै आएपनि आफूहरुले अहिलेसम्म त्यस्तो सहयोग नपाएको दुःखेसो हर्क बहादुर टमटाले पोख्नुभयो ।

सुदूरपश्चिमको प्राचीन लोकनृत्य छलिया जोगाउन स्थानीय बासिन्दा सँगै प्रदेश सरकारले चासो देखाउनु पर्ने यहाँका संस्कृतिका जानकारहरु बताउँछन् । छलिया नर्तकहरुको जीविकोपार्जन सुनिश्चित गर्न सकिए यसप्रतिको आकर्षण बनाइराख्न सकिन्छ ।

प्राचीन कालमा ढाल, तरबारले लडिने युद्धको प्रतीकका रुपमा छलिया नृत्यलाई लिने गरिन्छ । यो नृत्य खस राजाको शासन कालदेखि अस्तित्वमा आएको विश्वास गरिन्छ ।

दशौं शताव्दीदेखि अस्तित्वमा आएको भनिएको छलियाको शाब्दिक अर्थ छलकपट हो । प्राचीन कालमा युद्धमा सहभागी सैनिकले छलकपट गरी युद्ध जित्न जुन कला अपनाउँछन् कालान्तरमा त्यसलाई नृत्यका रुपमा प्रस्तुत गर्न थालिएको हो । युद्ध जितेपछि राजमहलमा मात्रै सैनिकहरुको हौसला बढाउन वीरताको वर्णनसँगसँगै देखाइने नृत्य विस्तारै वाह्य समाजका लागि खुला गरिएको डोटेली संस्कृतिका जानकार सेवानिवृत शिक्षक धर्मानन्द जोशी बताउनुहुन्छ ।

“छलियालाई तरबारबाजीको नृत्यका रुपमा समेत लिन सकिन्छ,” उहाँले भन्नुभयो – “सङ्गीतको धूनमा क्रमबद्ध तरीकाले तरबार र ढालको कलाबाजी यस नृत्यमा देखाउने गरिन्छ । यस नृत्यको विशेषता नै प्राचीन युद्ध कौशलको प्रदर्शन हो ।”

छलिया नृत्यमा तरबारबाजीको रोमाञ्चकारी खेल प्रस्तुत गरिन्छ । नृत्य हेर्नेहरुलाई साँच्चिकै युद्ध भैरहेको हो कि प्रतीत हुन्छ । नृत्य गर्नेहरुको अनुहारमा उग्रभाव रहन्छ । कलाकार युद्धमा सहभागी योद्धा झै लाग्छ । यस नृत्यमा परम्परागत वाद्ययन्त्रहरुको प्रयोग हुने गरेको छ । छलिया नृत्यमा परम्परागत पहिरनमा सजिएर दुई जनाले तरवारबाजी गर्ने, पाँचदेखि नौजनाले गीत गाउँदै वाद्यवादन बजाउने गर्दछन् । भारतका कुमाउँ गढवाल लगायतका क्षेत्रमा समेत छलिया नृत्य लोकप्रिय रहेको छ ।

दमाहा, तुरी, नागफनी, मसकविन, झयाली लगायतका बाजाहरु पहिला युद्धका बेला सैनिकको मनोबल उच्च राख्न प्रयोग हुने गर्थे । नर्तकहरुले तरबारबाजी देखाउँदा लगाउने पोशाक पनि युद्धमा सहभागी सैनिककै जस्तो देखिने भएकाले दर्शक रोमाञ्चित हुन्छ । छलिया नृत्यमा युद्ध लड्दाका बेला देखाइने कलाबाजी, वाद्यवादनको समायोजनसँगै वीरविरङ्गनाहरुको जीवनीमा आधारित वीरताका गीतहरु गाइन्छ ।

यस नृत्यले इतिहासको झल्को दिने भएकाले यसलाई जोगाउनु सबैको दायित्व भएको राघवप्रसाद अवस्थी बताउनुहुन्छ । “नयाँ पिँढीलाई यसको महत्व दर्शाई सुदूरपश्चिमको इतिहासबारे जानकारी दिन सकिन्छ,” उहाँले भन्नुभयो । समयको प्रवाहसँगै यस नृत्यले व्यावसायिक रुप धारण गरेपछि नृत्यको मौलिकता, कलाबाजी र गीत समेत परिवर्तन भई विकृत बन्न थालेका छन् । रासस

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं। अभिनेत्री श्वेता तिवारी बेला बेला चर्चामा आइरहने कलाकार हुन् । उनी अहिले केपटाउनमा छिन् । टेलिभिजन शो ‘खतरों के

काठमाडौं । कलाकारिता क्षेत्रमा विशेष गरेर अभिनेत्रीहरु उमेर अनुसारका देखिदैँनन् । नेपालमा त्यो अवस्था कम भए पनि बलिउड, हलिउडमा खुबै

काठमाडौं- गायिका समिक्षा अधिकारीले नायक पल शाह र आफूबीच अनैतिक सम्बन्ध रहेको हल्ला चलेपछि मुख खोलेकी छन् । उनले आफूहरूबीच

काठमाडौं । शिल्पा शेट्टी कुनै समयकी सफल अभिनेत्री हुन् । उनले बलिउडका प्राय: कलाकारहरूसँग स्क्रिन सेयर गरेकी छिन् । ठूलो

आजको प्रमुख समाचार