अमेरिका, चीन व्यापार वार्ता अन्तिम चरणमा – अमेरिकी अर्थमन्त्री

१ बैशाख २०७६, आईतवार १२:५२ मा प्रकाशित

वासिङ्टन, १ वैशाख (एएफपी) – विश्व अर्थतन्त्र खस्किनुको प्रमुख कारण मानिएको चीन–अमेरिका व्यापार विवाद वार्ताद्वारा सुल्झाउन दुबै देशबीच जारी वार्ता निष्कर्षमा पुग्न लागेको अमेरिकी अर्थमन्त्री स्टिभेन मन्चिनले बताउनुभएको छ ।

विश्वस्तरका संस्थाहरुका अध्ययनले विश्व व्यापारमा मन्दी आउनुमा विश्वका दुई ठूला अर्थतन्त्र रहेका चीन र अमेरिकाबीच उत्पन्न व्यापारिक तनाब नै मुख्य कारण रहेको जनाउँदै आएका थिए ।

अमेरिकी अर्थमन्त्री मन्चिनको व्यापार वार्ता अन्तिम चरणमा पुग्न लागेको भन्ने नयाँ भनाईले विश्व अर्थतन्त्रमा नयाँ मोड आउने विश्वास व्यक्त गरिएको छ ।

अन्तर्राष्ट्रिय मुद्राकोष र विश्व बैंकको नियमित बैठकलाई सम्बोधन गर्दै अर्थमन्त्री मन्चिनले अमेरिकी चासोलाई सम्बोधन गर्नेगरी व्यापार वार्ता अघि बढिरहेको बताउनुभयो ।

मुद्राकोषले यसै साता गरेको प्रक्षेपणमा सन् २०१९ को अन्तिम महिनाहरुमा विश्व अर्थतन्त्रमा सुधार आउने उल्लेख छ । कोषका अनुसार, तर त्यसका निम्ति विश्वका दुई ठूला अर्थतन्त्र भएका मुलुकहरु अमेरिका र चीनबीच उत्पन्न मतभिन्नता जतिसक्दो चाँडो टुङ्ग्याउनु पर्दछ ।

शनिबार सम्पन्न मुद्राकोषको अन्तिम बैठकबाट जारी वक्तव्यमा “व्यापार तनाब सुल्झाउन” आग्रह गरिएको छ । साथै संयुक्तराज्य अमेरिकाको अनुरोधमा विश्व व्यापार संगठनको सुधारमा मद्दत गर्ने बैठकमा सहमति भएको छ । मुद्राकोषमा १८९ मुलुक सदस्य छन् ।

मुद्राकोषकी प्रमुख क्रिस्टिन लागार्डले वासिङ्टन बैठकमा भेला भएका सबै अधिकारीहरुले आर्थिक वृद्धिका निम्ति व्यापारका लाभका बारेमा खुलस्त धारणा राखेको बताउनुभयो ।

चिनिया केन्द्रीय बैंकका डेपुटी गभर्नर चेन युलुले अमेरिकाको नाम नलिई कतिपय मुलुकको संरक्षणवादी नीतिले आपसी विश्वासमा सङ्कट निम्त्याएको बताउनुभयो ।

अर्थमन्त्री मन्चिनले संवाददाताहरुसँग कुरा गर्दै राष्ट्रपति डोनाल्ड ट्रम्पको पनि चीनसँग हतारमा सम्झौता गर्नुभन्दा राम्रो सम्झौता गर्नुपर्ने धारणा रहेको बताउनुभयो ।

“मितिको कुरा ठूलो होइन, राम्रो सम्झौता हुनु आवश्यक छ,” मन्चिनले भन्नुभयो, “तर मेरो विचारमा केही जटिल विषयमा समय लागेको हो, त्यो टुङ्गिने चरणमा प्रवेश गरिसकेको छ र चाँडै सम्झौता हुन्छ ।”

नौ महिनादेखि जारी व्यापार युद्धलाई निश्कर्षमा पु¥याउन दुबै देशबीच बेइजिङ र वासिङ्टन डिसीमा घनीभूत वार्ता भइरहे पनि सम्झौताको मिति अझै तय हुन सकेको छैन ।

व्यापार वार्ता सकारात्मक रुपमा अघि बढेको सङ्केत पाएसँगै विश्वको शेयर बजारमा पछिल्ला दिनहरुमा सुधार आएको छ । “हामी आगामी चार हप्तामा केही हुने विश्वासमा छौं । त्यसपछिका दुई हप्तामा अवश्य केही हुनेछ,” चिनियाँ व्यापार प्रतिनिधि लिऊ हेसँगको भेटपछि वासिङ्टन डिसीमा पत्रकारहरुसँग कुरा गर्दै राष्ट्रपति ट्रम्पले बताउनुभएको छ ।

अमेरिका र चीनले एकअर्का मुलुकका करिब तीन खर्ब ६० अर्ब डलर बराबरका सामानमा करवृद्धि गरेका छन् । यो करवृद्धि हाल १० प्रतिशत रहे पनि व्यापार वार्तामा सहमति नभए २५ प्रतिशत पु¥याइने अमेरिकी राष्ट्रपतिले चेतावनी दिनुभएको छ ।

अमेरिकाले खासगरी अमेरिकी प्रविधि जबर्जस्ती चीनले चोरी गरेको, बौद्धिक सम्पत्तिको संरक्षण गर्न नसकेको, चिनियाँ बजार विदेशी कम्पनीहरुका लागि खुला नगरेको तथा चिनियाँ कम्पनीहरुलाई सरकारले अनेक सहुलियत उपलब्ध गराएर विदेशी कम्पनीको प्रतिस्पर्धी क्षमता कमजोर बनाएको आरोप लगाएको छ ।

चीनको संरक्षणमुखी नीतिकै कारण अमेरिकासँग चीनको व्यापार घाटा छ खर्ब डलरभन्दा माथि पुगिसकेको अमेरिकी भनाई छ ।

चीनले अमेरिकी आरोपको खण्डन गरिरहेको छ । चीनले खुला विश्व व्यापारमा अमेरिकी नीतिहरु बाधक बन्न थालेको र अमेरिकी राष्ट्रपतिका नीतिहरु संरक्षणवादी शैलीका रहेको बताउँदै आएको छ ।
चीनले अमेरिकी नीतिको विरोध गर्दै विश्व व्यापार संगठनमा समेत उजूरी गरेको छ । चीनले अमेरिकी नीतिका कारण विश्व बजारमा नकारात्मक असर परेको तथा विश्वको आर्थिक वृद्धिमै सङ्कट उत्पन्न हुन थालेको बताएको छ ।

राष्ट्रपति ट्रम्पसँगको भेटघाटमा चिनियाँ उपप्रधानमन्त्री एवं चिनियाँ व्यापार वार्ताकार लिऊ हेले चीन र अमेरिकाबीच हुन लागेको नयाँ आर्थिक तथा व्यापार सम्झौताको मस्यौदामा सहमति जुट्न लागेको जानकारी गराउनुभएको थियो ।

उहाँले व्यापार वार्तालाई आपसी विश्वास र सम्मानका आधारमा जतिसक्दो चाँडो टुङ्ग्याउन चीनका तर्फबाट प्रयास जारी रहेको बताउनुभयो ।

प्रतिक्रिया
सम्बन्धित खवर

एजेन्सी । राष्ट्रसंघले अफगानिस्तानमा भोकमरी हुने चेतावनी दिएको छ । तत्काल उपर्युक्त कदम नचाले लाखौं अफगानीले भोकमरीको सामना गर्नु परेको

काठमाडौँ । साउदी अरेबियाको सेनाको नेतृत्वमा केही दिनयतादेखि यमनको मारिब शहरमा लगातार बमबारी भएको छ । सो बमबारीमा परी भएको

सुडानका प्रधानमन्त्री अब्लुल्लाह ह्यामडोकलाई त्यहाँको सेनाले नजरबन्दमा राखेको छ । सोमबार सेनाको एउटा समूहले उनको निवासमा घेरा हालेको सुडानी सञ्चार

काठमाडौँ ।प्रत्येक नेपालीको थाप्लोमा ऋणको भार करिब ५७ हजार रुपैयाँ पुगेको छ। सरकारले लिएको सार्वजनिक ऋण १७ खर्ब २९ अर्ब