‘रवीन्द्र पत्नी विद्याले शुभयात्रा नभनेको त्यो दिन’

२६ फाल्गुन २०७५, आईतवार २३:४० मा प्रकाशित

जमुनावर्षा शर्मा, चिप्लेढुङ्गा, २६ फागुन । “म जहाँ जाँदा पनि उहाँलाई शुभयात्रा भनेर बिदाइ गर्थे, त्यही दिन मात्र मलाई शुभयात्रा भन्ने अवसर मिलेन, आज पनि त्यही पश्चात्ताप छ ।” तत्कालीन मन्त्री तथा नेकपाका नेता रवीन्द्रप्रसाद अधिकारीकी पत्नी विद्या भट्टराई निधनको १२ औँ दिनमा अधिकारीलाई सम्झँदै भन्नुहुन्छ ।

“जत्ति हतार नै भए पनि जाने बेला जानकारी गराएर जानुहुन्थ्यो । मैले त्यही दिन शुभयात्रा भन्न पाइन । घटना त्यही दिन भयो, आज पनि मनमा त्यही कुरा आइरहन्छ”, उहाँलाई आत्मग्लानि छ । उहाँले परिस्थितिलाई स्वीकार्नुको विकल्प नभएको बताउँदै आफू आघातमा परेको राससलाई स्पष्ट गर्नुभयो ।

राजनीतिक व्यक्तित्व भएकाले आफूलाई उहाँले समय नदिएको भन्ने गुनासो नरहेको र दुवै जना काममा भएकाले आफूहरुबीच एक प्रकारको उच्च समझदारी भएको बताउँदै कुनै बेलाकी विद्यार्थी नेत्री विद्याले भन्नुभयो, “एक अर्काप्रतिको सम्मान र माया थियो । श्रीमान र श्रीमती भन्दै जुनसुकै बेला पनि हामी कुरा शेयर गर्दैनथ्यौँ । एक अर्काका अवस्था र अनुहारलाई पढेर आफ्नो कुरा राख्ने गथ्र्याँै । अन्तिम समयसम्म उहाँले मलाई तपाईँ नै भनेर सम्बोधन गर्नुभयो । मन्त्री भएपछि मात्रै उहाँसँग अलि बढी सँगै बस्ने अवसर मिलेको थियो ।”

जीवनमा पहिलो पल्ट आफूलाई एकदम नराम्रो लागेको वाइड बडी जहाज काण्ड भन्दै विद्याले धेरैपछि आफूले सो विषयमा सोध्दा उहाँले भन्नुभएको थियो, “सिष्टमबाट अन्तिम किस्ता गयो, नगएको भए जहाज आउँदैनथ्यो । मेरो कुनै संलग्नता छैन विद्या । चिन्ता लिनुपर्दैन । यो सबै वायुसेवा निगमलाई डुबाउने खेल हो । निजी कम्पनीहरुबाट यो खेल शुरु भएको छ । मलाई सिध्याउने खेल हो तर म जिरोबाट पनि आउन सक्छु । यो सबै राजनीतिका लागि बनाइएको एजेण्डा हो । म गलत छैन ।”

आफू जुन कुरामा खुशी हुन सकिन्छ त्यसमा रमाउनुपर्छ भन्ने मान्यता राख्ने अधिकारीले आफूलाई कुनै पनि कुरामा दवाव नदिएको र आफू अब्बल हुनुपर्छ भन्ने मान्यता राखेको विद्याले बताउनुभयो । “राजनीतिमा महिलाको आगमन र अस्तित्वलाई अझै पनि सहज स्वीकारेको पाइँदैन । अहिले म पीडामा नै छु, राजनीतिमा जाने नजाने बारे सोच बनाएकी छैन तर उहाँको सपना पूरा गर्ने दायित्वबाट म अलग हुन मिल्दैन ।”

त्यो कविता र स्वर मेरो होइन

सामाजिक सञ्जालभरि घटना भएको केही घण्टाभित्रै अधिकारीकी श्रीमती विद्याको मन रुवाउने कविता भनेर सार्वजनिक गरिएको भिडियोप्रति भट्टराईले आपत्ति जनाउनुभएको छ । “घटना भएको केही घण्टामा नै मेरो नामको कविता र स्वर भन्दै युट्युब र सामाजिक सञ्जालमा राखिएको रहेछ । त्यति छिटो त्यो अवस्थामा म कसरी कविता लेखेर वाचन गर्न सक्छु ? धेरैले मैले नै हो भनेर सोच्नुभएको रहेछ । भेट्न आउनेले पनि सोध्नुभयो । मप्रति सहानुभूति राखेर पीडाको व्यापार जसले गर्नुभयो, त्यो राम्रो भएन । यसले मलाई झनै दुःखी बनाएको छ । यसले भ्रम छर्ने काम भएको छ । को हो त्यो पत्ता लगाउने प्रयास भैरहेको छ”, उहाँले भन्नुभयो । रासस

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । काठमाडौंको पश्चिम उत्तरतर्फ पर्ने नागार्जुनको जंगलमा डढेलो लागेको छ । नागार्जुनस्थित शिवपुरी राष्ट्रिय निकुञ्जको जंगलमा लागेको डढेलो निभाउनका

साउदी अरबले तीन उच्च सैनिकलाई ‘देशद्रोह’ गरेको आरोपमा मृत्युदण्ड दिएको यहाँको रक्षा मन्त्रालयले बताएको छ । मन्त्रालयले राज्य सञ्चालित समाचार

काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री भानुभक्त ढकालले कोभिड–१९ महामारी नियन्त्रणका लागि सरकारले भरसक बन्दाबन्दी लागू गर्नु नपरोस् भनेर

दोहा । ग्लोबल एनआरएन सिंगिङ आइडल–२०२१ को पहिलो संस्करणमा सहभागी हुनका लागि डिजिटल अडिसन पठाउने मिति ३० अप्रिलसम्म बढाइएको छ