अझै केही समय ब्याजदर नघट्ने

१४ श्रावण २०६९, आईतवार १४:३३ मा प्रकाशित

काठमाडौं, १४ साउन । बैंक तथा वित्तीय संस्थाले केन्द्रीय बैंकमा विनाब्याज राख्नुपर्ने रकमको मात्रा बढेपछि तुरुन्त ब्याज घट्ने आशामा बसेका ऋणीहरू निराश बन्नुपर्ने अवस्था आएको छ । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाको अनिवार्य नगद मौज्दात (सिआरआर) रकम १ प्रतिशतले बढाएपछि ऋणको ब्याजदर तत्काल नघट्ने अवस्था देखिएको हो ।

नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष पशुपति मुरारकाले सिआरआर बढाएकाले बैंकको निक्षेप संकलन लागतमा वृद्धि हुने हँुदा त्यसैको निहुंमा बैंकले ऋणको ब्याज तत्काल घटाउन आनाकानी गर्ने अवस्था देखिएको बताए । कुल क्षमताको ४० प्रतिशतमा मात्रै सञ्चालनमा रहेको नेपालको औद्योगिक क्षेत्र मौद्रिक नीतिको नयाँ व्यवस्थाबाट भने निराश नै देखिएको उनले बताए । ‘लगानी मैत्री वातावरण बनाएर उद्योगी व्यवसायीलाई राहत दिनुपर्ने समयमा कसिलो मौद्रिक नीतिमार्फत सिआरआर बढाएर बैंकको लागत बढाउने काम गरेको छ,’ महासंघका अर्का उपाध्यक्ष एवं सिटिजन्स बैंकका अध्यक्ष प्रदीपजंग पाण्डेले भने, ‘जुन लागत अन्त्यमा ऋणीको टाउको नै थोपरिन्छ ।’
करिब एक वर्षअघि बैंक तथा वित्तीय संस्थामा चरम तरलता अभावको समस्या हुँदा बैंकले कर्जामा अचाक्ली ब्याज बढाएका थिए । सो समयमा तीनदेखि ६ महिनाको दौरान ९ प्रतिशत ब्याज तिरिरहेका ऋणीलाई १५ प्रतिशतसम्म पनि ब्याज पुर्‍याउने काम बैंकहरूले गरेका थिए । पछिल्लो समय बैंक तथा वित्तीय संस्था अत्यधिक हुन थालेपछि निक्षेपमा दिने ब्याजलाई बचत निक्षेपमा तीनदेखि ६ प्रतिशत मात्र ब्याज दिन थालिएको छ भने मुद्दती निक्षेपमा अधिकतम ८ प्रतिशतसम्म मात्र दिन थालिएको छ । निक्षेपको ब्याज दर घटाएका तुलनामा कर्जामा ब्याज घटाउन बैंकहरूले आनाकानी गरेपछि बैंकहरूको तीव्र आलोचना हुँदै आएको थियो । बैंकरहरूले भने एक वर्षे मुद्दती निक्षेपमा अत्यधिक ब्याज तिर्नु परेकाले सो निक्षेपको समय भुक्तान नभएसम्म कर्जामा ठूलो मात्रामा ब्याज घटाउन नसकिने बताइरहेका थिए । यद्यपि कर्जामा पनि थोरै मात्रामा भने पनि ब्याज घट्ने क्रम सुरु भइसकेको थियो ।
केन्द्रीय बैंकले सिआरआर र विपन्न वर्ग कर्जाको सीमा बढाएपछि भने कर्जाको ब्याज घट्ने क्रममा केही ब्रेक लाग्ने स्थिति देखिएको नेपाल बैंकर्स संघका उपाध्यक्ष एवं एनएमबी बैंकका प्रमुख कार्यकारी अधिकृत उपेन्द्र पौडेलले बताए । ‘बैंकले विस्तारै निक्षेपमा ब्याज घटाउन थालेका थिए । जसबाट कस्ट फन्ड घट्न गई कर्जामा पनि ब्याज घट्ने स्थिति थियो । सिआरआर बढेपछि पनि ऋणको ब्याज दरमा केही चाप पर्ने देखिएको छ,’ उनले भने ।

प्रतिक्रिया
सम्बन्धित खवर

काभ्रेपलाञ्चोक । जिल्लाको पुराना तीन नगर बनेपा, धुलिखेल र पनौती ‘काभ्रे’ स्मार्ट सिटीका नामले परिचित हुन संरचना निर्माण प्रक्रियालाई तीव्रता

काठमाडौं । चालु आर्थिक वर्षको आठ महिनाको अवधिमा रु छ खर्ब ४२ अर्ब १४ करोड बराबरको विप्रेषण मुलुक भित्रिएको छ

मनकामना केबुलकार आजदेखि नियमित सञ्चालनमा आएको छ । स्तरोन्नतिको पहिलो चरणको कामका लागि यही चैत २५ देखि २९ गतेसम्म बन्द

काठमाडौँ । इमर्जिङ नेपाल लिमिटेडले साधारण शेयर बिक्रीका लागि निष्काशन तथा बिक्री प्रबन्धक नियुक्त गरेको छ । कम्पनीले आज जारी