अमेरिका प्रवेश गर्ने आप्रवासीहरुको संख्या दोब्बरले बढ्यो

२२ फाल्गुन २०७५, बुधबार २३:२३ मा प्रकाशित

वासिङ्टन, २२ फागुन (एपी)। संयुक्तराज्य अमेरिकाको दक्षिणपश्चिम सीमाबाट अमेरिका प्रवेश गर्ने आप्रवासीको संख्या उल्लेखनीय रुपमा वृद्धि भएको छ । सीमा अधिकारीहरुका अनुसार गत महिना अमेरिका–मेक्सिको सीमाबाट अमेरिका प्रवेश गर्ने आप्रवासीहरु ७६ हजारभन्दा बढी देखिएको छ ।

गत वर्षको यही महिनाको तुलनामा यो दोब्बर बढी हो । केही महिनादेखि १०० भन्दा बढी मानिसका ७० वटाभन्दा बढी समूह अमेरिका प्रवेश गरेको छ । मेक्सिको–अमेरिका सीमाका अत्यन्त दुर्गम क्षेत्रबाट यी आप्रवासीहरु गैरकानुनी रुपमा अमेरिका प्रवेश गरेका हुन् ।

अमेरिकी भन्सार तथा सीमा सुरक्षा आयुक्त केभिन म्याकअलीन्यानले अमेरिकी सीमा सुरक्षा निकायमा अहिले स्रोतसाधनको कमी भएको बताउनुभयो । उहाँले मेक्सिकोसँगको सीमाका दुर्गम ठाउँमा पर्याप्त जनशक्ति परिचालन गर्न नसकिएको र ती ठाउँबाट गैरकानुनी रुपमा मानिसहरु अमेरिका प्रवेश गरिरहेको जानकारी दिनुभयो ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सीमा व्यवस्थापनलाई कडाई गर्ने प्रतिबद्धता जनाएर सीमामा बलियो पर्खाल बनाउने विवादास्पद योजना अघि सार्नुभएको छ । तर त्यस योजनामाथि अमेरिकी संसद, अदालत र विपक्षीमा सहमति हुन सकेको छैन ।

सीमा निगरानी थुनामा दुई बालबालिकाको मृत्यु भएपछि भन्सार तथा सीमा सुरक्षा निकायले स्वास्थ्य जाँचमा कडाई गरेको छ । म्याकअलीन्यानले टेक्सासको एल पासोमा आप्रवासीका लागि नयाँ प्रशोधन केन्द्र खोल्न लागेको जानकारी दिनुभयो । यो केन्द्रमा परिवार र बालबालिकालाई राम्रोसँग हेरचाह गर्न सकिने छ ।

सीमा सुरक्षा अधिकारीहरुका अनुसार, हरेक वर्ष अवैधानिक रुपमा अमेरिका प्रवेश गर्न चाहने करिब चार लाख आप्रवासीलाई पक्राउ गरिएको थियो । सन् २००० मा भने १६ लाखलाई सीमामा पक्राउ गरिएको थियो । पक्राउ परेका अधिकांश मानिसहरुमा मेक्सिकोका एकल पुरुष थिए । तर आजभोलि अधिकांश आप्रवासीहरु मध्य–अमेरिकाका परिवारहरु रहेका छन् ।

गत अक्टोबरयता सीमाबाट एक लाख ३० हजारभन्दा बढी परिवारलाई नियन्त्रणमा लिइएको छ । अक्टोबरदेखि सेप्टेम्बर २०१८ सम्मको अवधिमा पति त्यतिकै संख्यामा परिवारलाई नियन्त्रणमा लिइएको थियो । दशौं हजार बालबालिका एक्लै अवैध रुपमा अमेरिका छिरेका छन् ।

भन्सार तथा सीमा नियन्त्रण निकायले पछिल्लो समय आप्रवासीमाथि कमभन्दा कम बल प्रयोग गर्न थालेको जनाएको छ । सन् २०१८ मा १५ पटक मात्र सुरक्षा बलले हतियार चलाएको छ । सन् २०१२ मा ५५ पटक हतियार प्रयोग भएको थियो ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । भारत भ्रमणमा रहेका पूर्वराजा ज्ञानेन्द्र शाहले नयाँ वर्ष २०७८ को शुभकामना सन्देश दिएका छन् । शुभकामना सन्देशमा पूर्व

काठमाडौँ । राष्ट्र बैङ्ककी निर्देशक सुष्मा रेग्मी रिजाललाई कारागार पठाइएको छ । ज्येष्ठ नागरिक सम्बन्धी कसुर मुद्दामा काठमाडौँ जिल्ला अदालतको

काठमाडौँमा होटल व्यवसाय गरी बस्नुभएका म्याग्दीको बेनी नगरपालिका– २ बगरफाँटका दुर्गाबहादुर थापा सपरिवार गाउँमा फर्किएर केराखेती र कुखुरापालन गर्न लागेको

काठमाडौ । कुम्भ मेलामा सहभागी हुन भारतको हरिद्वार पुगेका पूर्वराजा ज्ञानेन्द्र शाह शाही स्नानको रथयात्रामा सहभागी भएका छन् । भारतको