राष्ट्रपतिबाट छोरी शिक्षा बीमा मुद्दती खाताको शुभारम्भ

९ फाल्गुन २०७५, बिहीबार २२:५६ मा प्रकाशित

वीरगञ्ज, ९ फागुन । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रदेश नं २ सरकारको ‘बेटी पढाऊ बेटी बचाऊ’ अभियानअन्तर्गत छोरी शिक्षा बीमा मुद्दती बचत खाताको आज शुभारम्भ गर्नुभएको छ । प्रदेश नं २ सरकारले सो अभियानका लागि आर्थिक वर्ष २०७५ । ७६ मा करीब रु ८९ करोड विनियोजन गरेको छ ।

वीरगञ्जको त्रिजुद्ध माध्यमिक विद्यालयको प्राङ्गणमा आयोजित कार्यक्रममा राष्ट्रपति भण्डारीले माता जानकीजस्ता विभूति जन्मेको यस देशमा राष्ट्र, राष्ट्रियता र संस्कृतिप्रति गौरव गर्ने वातावरण तयार पारी छोरी शिक्षालाई अगाडि बढाउनुपर्नेमा जोड दिनुभयो । राष्ट्रपति भण्डारीले भन्नुभयो, “आजका छोरी भोलि देशको जिम्मेवार नागरिक भएकाले छोरीलाई शिक्षा दिनु आजको आवश्यकता हो, छोरीलाई शिक्षा दिँदा सुदृढ संस्कृतिको जगमा उभिन सक्ने गरी दिनुपर्छ ।”

प्रदेश नं २ को सरकारले ल्याएको सो अभियानले समृद्ध समाज निर्माण गर्न तथा महिलाको उच्च प्रतिष्ठालाई सम्मान गर्न कोसेढुङ्गा सावित हुने बताउँदै राष्ट्रपति भण्डारीले वर्तमान संविधानले पनि महिलाको अधिकार सुनिश्चित गरी महिलालाई अधिकार सुम्पेको बताउनुभयो ।

उहाँले महिलाले सामाजिक, आर्थिक र राजनीतिकलगायत क्षेत्रको विकासमा प्रभावकारी भूमिका खेल्ने गरेको बताउँदैै समाजमा व्याप्त दाइजोजस्ता कुरीति समाप्त पारी छोरी, बुहारी एवं महिलाप्रति सम्मान गर्नु आजको आवश्यकता रहेकामा उहाँले जोड दिनुभयो । उहाँले सिँचाइ, बीउबिजन, मलखादको आवश्यकतालाई प्राथमिकतामा राखेर विदेश पलायन हुने युवापुस्तालाई रोक्नुपर्नेमा जोड दिँदै विकासको पूर्वाधार अगाडि बढाउँदा र एकीकृत बस्ती विस्तार गर्दा वातावरण संरक्षणलाई ध्यानमा राखी चुरे विनाशलाई रोक्नुपर्ने सुझाव दिनुुुुभयो ।
सो अवसरमा राष्ट्रपति भण्डारीले प्रभु बंैक लिमिटेडमा खाता खोलिएका वीरगञ्ज महानगरपालिका–१ देखि १६ वडासम्मका १४ शिशुका अभिभावकलाई बैंकको खातासम्बन्धी कागजात हस्तान्तरण गर्नुभयो । उहाँले प्रदेश नं २ का आठ जिल्लामा गत वर्ष एसइई परीक्षामा पहिलो, दोस्रो तथा तेस्रो हुने छात्रालाई नगद तथा सम्मानपत्र प्रदान गर्दै त्रिजुद्ध माविबाट २००९ सालमा बोर्ड फस्ट वरिष्ठ उद्योगपति बाबुलाल चाचानलाई सम्मान गर्नुभयो ।

सो अवसरमा प्रदेश नं २ का प्रदेश प्रमुख रतनेश्वरलाल कायस्थले नेपालको संविधानले कल्पना गरेको समतामूलक समाजको स्थापना गर्न सो कार्यक्रमले महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गर्नुभयो । प्रदेश नं २ का मुख्यमन्त्री लालबाबु राउतले प्रदेश सरकारको गठनसँगै भौतिक पूर्वाधारको विकास तथा समाजमा रहेको महिला तथा छोरीको शिक्षाप्रति आकर्षण ल्याउन सो कार्यक्रम ल्याइएको जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “महिला तथा छोरीको शिक्षाप्रति आकर्षण बढाई तिनलाई सशक्त बनाएर मुलुकको विकासमा अग्रसर गराउने लक्ष्य प्रदेश सरकारको रहेको छ”, उहाँले भन्नुभयो ।

कार्यक्रममा प्रदेश नं २ का सामाजिक विकासमन्त्री नवलकिशोर साह र सचिव दीपक सुवेदी, प्रभु बैंक लिमिटेडका सिइओ अशोक श्रेष्ठ, वीरगञ्ज महानगरपालिकाका प्रमुख विजयकुमार सरावगी, सांसद प्रदीप यादवलगायतले बोल्नुभएको थियो ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा थप १ हजार ९६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या

काठमाडौँ। नेकपा माओवादी केन्द्रले स्थायी कमिटी बैठक बोलाएको छ । सोमबार दिउँसो १ बजे बैठक बोलाइएको छ । समसायिक राजनीतिक

काठमाडौं । कुम्भमेलामा भाग लिएर पूर्वराजा ज्ञानेन्द्र वीर विक्रम शाह स्वदेश फर्किएका छन् । १० दिन लामो भारत भ्रमण सकेर

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रियसभा सदस्यबाट पदमुक्त भएका नेकपा एमालेका नेता रामबहादुर थापा बादललाई गृहमन्त्रीमै पुनः नियुक्ति गर्ने