पुल बनि नसक्दै भत्कन थाल्यो

१२ श्रावण २०६९, शुक्रबार १५:०५ मा प्रकाशित

कैलाली, १२ साउन । हुलाकी राजमार्गअन्तर्गत कनरी नदीमा निर्माण गरिएको पुल बनि नसक्दै निर्माण नसकिँदै जोखिममा परेको छ । कनरी नदीमा पानीको बहाव बढेपछि पुलको वारिपारिको जग कटानमा परेर पुल जोखिममा परेको हो । पुल निर्माण कम्पनीले पुलको दुवै किनारामा तटबन्ध नगरेका कारण नदीले कटान गर्दै गएकाले पुल जोखिममा परेको स्थानीयले बताए ।
धनगढी–८ मा रहेको पुल रसुवा–एलाइट जेभी निर्माण कम्पनीले निर्माण कार्यको जिम्मा लिएको हो । आर्थिक वर्ष ०६४/६५ मा पुल बनाउने सम्झौता भएपछि अढाई वर्षमा पुलको सम्पूर्ण काम सम्पन्न गरिसक्नुपर्ने भए पनि पाँच वर्ष बितिसक्दा पनि पुलको निर्माण २० प्रतिशत बाँकी छ । निर्माण सम्पन्न नहुँदै तत्कालीन निर्माण तथा भौतिक योजना राज्यमन्त्री देवी खड्काले पुलको उद्घाटन गरिसकेकी छन् ।
राज्यमन्त्री खड्काले पुल निर्माण सम्पन्न नहुँदै उद्घाटन नगर्न स्थानीयले गरेको आग्रह बेवास्ता गर्दै उद्घाटन गरेकी हुन् । उद्घाटन भएपछि पुल निर्माण कार्य जिम्मा लिएको कम्पनी सम्पर्कविहीन छ भने डिभिजन कार्यालयबाट सम्पूर्ण रकम भुक्तानी लिइसकेको पाइएको छ ।
‘पूरा नभएको योजना मन्त्रीले नै उद्घाटन गरेपछि निर्माण सम्पन्न नहुँदै पुल जोखिममा परेको हो,’ स्थानीयवासी तथा पूर्वसभासद् नारदमुनि रानाले भने, ‘पुल निर्माणको काम अधुरो छाडेकाले पनि कटान बढ्दै गएको छ ।’
वर्षौंदेखि कनरी नदीमा पुल नहुँदा कैलालीका फूलबारी, हसुलिया, उर्मा, पवेरा गाविसलगायतका मानिसले समस्या झेल्नुपरेको थियो । वर्षायाममा सो क्षेत्रका बासिन्दा सदरमुकाम धनगढी आउन भारतीय बाटो प्रयोग गर्नुपर्ने बाध्यता छ । ‘सदरमुकाम धनगढीसँग जोड्ने पुल निर्माण हुन थालेपछि खुसी भएका थियौँ,’ स्थानीय रतनलाल चौधरीले भने, ‘ठेकेदारले पुल निर्माण कार्य अधुरो छाडेर गएपछि पुल भत्किने अवस्थासँगै बस्ती बगाउला भन्ने डर पो भयो ।’
पुलको काम अधुरो रहेको र दायाँ–बायाँतिर नदीले कटान गर्न थालेपछि निर्माण कम्पनीलाई १ साउनमा डिभिजन कार्यालयले पत्र काटेको छ । नौ पिलर र एक सय १४ मिटर लामो रहेको पुल ६ करोड रुपियाँ लागतमा बनाइएको हो ।

प्रतिक्रिया
सम्बन्धित खवर

सुदुरपश्चिम । सुदूरपश्चिम प्रदेशमा नयाँ वर्ष आरम्भसँगै मनाइने ‘बिसु’ पर्वको रौनक बढेको छ । यो पर्व मनाउने तयारीस्वरूप प्रत्येक घरपरिवारमा

काठमाडौँ । विश्वव्यापीरुपमा बढ्दो वातावरणीय समस्याको न्यूनीकरण तथा संरक्षणमा पूर्वीय संस्कृति एवं सभ्यताको प्रचारप्रसार गराउने उद्देश्यले विश्व वन्यजन्तु कोष(डब्लुडब्लुएफ) नेपालले

काठमाडौं । भारत भ्रमणमा रहेका पूर्वराजा ज्ञानेन्द्र शाहले नयाँ वर्ष २०७८ को शुभकामना सन्देश दिएका छन् । शुभकामना सन्देशमा पूर्व

काठमाडौँ । राष्ट्र बैङ्ककी निर्देशक सुष्मा रेग्मी रिजाललाई कारागार पठाइएको छ । ज्येष्ठ नागरिक सम्बन्धी कसुर मुद्दामा काठमाडौँ जिल्ला अदालतको