पार्टी नेतृत्वमा पनि बाबुरामकै दाबी

१० श्रावण २०६९, बुधबार ०३:२७ मा प्रकाशित

काठमाडौं, १० साउन । आफ्नो नीति लिएर नेता भइरहेका प्रचण्डलाई डा. बाबुराम भट्टराईले ‘नेताहरूको पनि नेता’ घोषणा गर्नुभएपछि कतिपयले प्रचण्ड–बाबुरामबीचको एकता खँदिलो भएको महसूस गरेका छन् । जब कि भट्टराईले त्यस्तो घोषणा गर्नु भए पनि जिल्ला–जिल्लामा उहाँका समर्थकहरू प्रचण्डलाई नेता मान्न तयार छैनन् । त्यसो त प्रचण्ड निवास र प्रधानमन्त्री निवासमा पनि एकअर्काको बदख्वाइँ गर्ने क्रम बढ्दो छ । प्रचण्ड आफ्ना निकटवर्ती र नातेदारहरूसँग भन्ने गर्छन्– ‘पार्टीमा बाबुरामको कुनै हैसियत छैन, पाँच प्रतिशत मानिस पनि बाबुरामको समर्थनमा छैनन् ।’ त्यस्तै प्रधानमन्त्री निवासमा बाबुरामको प्रभाव बढेको र प्रचण्डको हैसियत नराम्रोसँग खस्किएको विश्लेषण हुने गर्दछ । प्रचण्डको समर्थनमा राज्य समिति र त्यसभन्दा माथिल्लो समितिका मानिसहरू देखिएका भए पनि गाउँ र जिल्ला स्तरमा आफ्ना समर्थकरू अधिक रहेको बाबुराम पक्षले ठानेका छन् । प्रचण्डबाट कुनै पनि बिन्दुमा पुगेर धोखा हुनसक्छ भन्नेमा पनि बाबुरामसमर्थकहरू सचेत देखिन्छन् । बाबुरामको नीति बोकेर हिँडेकोमा भने बाबुरामसमर्थकहरूले प्रचण्डको ‘प्रशंसा’ गर्ने गरेका छन् । वास्तवमा संसारको कुनै पनि मुलकुका कम्युनिष्ट पार्टीमा जसको नीति पार्टीले अवलम्वन गर्छ तिनै व्यक्ति पार्टीको मूख्य नेता हुने प्रचलन छ । प्रचण्ड भने त्यसको अपवाद बन्नुभएको छ, विगतमा कहिले मोहन वैद्य किरणको नीतिप्रति त कहिले बाबुरामको नीतिप्रति आवश्यकताअनुसार ढल्कने गर्नुभएका प्रचण्ड मोहन वैद्यले नयाँ पार्टी गठन गर्नुभएपछि बाबुरामसँग हातेमालो गर्न बाध्य हुनुभएको छ । पार्टीलाई विचारलेभन्दा आफ्नो ‘चामत्कारिक’ कार्यशैलीले डोर्‍याउँदै आउनुभएका प्रचण्ड अहिले पनि विचारभन्दा बलकै सहारा लिएर पार्टीमा आफ्नो पकड कायम राख्न प्रयत्नशील देखिनुहुन्छ । केन्द्रीय समितिलाई महाधिवेशन तयारी समितिमा रुपान्तरित गरेर ‘शक्तिशाली’ बन्नुभएका प्रचण्डले आगामी महाधिवेशन (यदि भयो भने)मा पनि बलकै आधारमा पुनः अध्यक्ष बन्न प्रयत्न गर्नुहुने
विश्वास गरिन्छ । प्रचण्डले लिने बलप्रयोगको नीति बाबुराम समर्थकहरूलाई सह्य हुने देखिँदैन । राज्य समिति र विभिन्न जिल्ला समितिहरूबाट प्रतिनिधि चयन गर्ने क्रममा दुई पक्षबीच टकराव र विवादको स्थिति पैदा हुनेमा शङ्का गर्नुपर्ने छैन । प्रतिनिधि चयन गर्ने क्रममा बलमिच्याइँ भएमा डा. बाबुराम भट्टराई पनि त्यसको प्रतिवाद गर्न बाध्य हुनुहुनेछ । त्यस्तो अवस्थामा बाबुराम भट्टराई आफ्नो दस्तावेजका साथ महाधिवेशनमा प्रस्तुत हुनुहुने निश्चित मानिन्छ । यसरी फरक दस्तावेज प्रस्तुत गर्नु भनेकै पार्टी नेतृत्वमा दाबी गर्नु हुनेछ । बाबुराम भट्टराईले आफ्नो नीति कार्यान्वयनको जिम्मा पनि आफैंले लिन खोज्नुभयो भने त्यसलाई अस्वभाविक मानिने छैन ।
अहिले सरकारमा टिकिरहनका लागि बाबुराम भट्टराईलाई प्रचण्डको साथ–सहयोग चाहिएको छ । त्यसैले प्रचण्डको मन जित्न बाबुरामले ‘प्रचण्ड नेताहरूको पनि नेता’ भनिदिनुभएको छ । आगामी माघ महाधिवेशन)सम्म बाबुराम भट्टराई नै प्रधानमन्त्री रहिरहनु भयो भने भट्टराईले पार्टी नेतृत्वमा धावा नबोल्नु पनि होला, यदि त्यसअघि नै सरकार छोड्नुपर्‍यो भने भट्टराईको ध्यान पूर्ण रुपले पार्टी महाधिवेशनमा केन्द्रित हुनेछ । भट्टराई महाधिवेशनतर्फ केन्द्रित हुनुहुँदा प्रचण्डलाई स्वतः चुनौति आइपर्ने देखिन्छ । जबकि आउँदो माघसम्म बाबुराम नेतृत्वको सरकारले निरन्तरता पाउने सम्भावना ज्यादै कम छ ।
पार्टीबाट वैद्य समूह अलग्गिनुअघिसम्म प्रचण्डले वैद्य देखाएर बाबुरामलाई तर्साउने र बाबुराम देखाएर वैद्यलाई तर्साउने खेल खेल्दै आउनुभएको थियो । वैद्यको बहिर्गमनले प्रचण्डको एउटा महत्वपूर्ण अस्त्र गुम्न पुगेको छ । नारायणकाजी श्रेष्ठ बेलाबखतमा बाबुरामलाई चुनौति दिउँलाझैँ त गर्छन्, तर पार्टीमा तिनको हैसियत धेरै कमजोर भएकोले बाबुरामविरुद्ध नारायणकाजी–हतियारले काम गर्ने स्थिति छैन । लडाकुको बाहुल्य रहेको माओवादी पार्टीमा युद्धको नाम सुन्नेवित्तिकै झस्किने नारायणकाजी हास्य–व्यङ्ग्यको पात्रझैँ बनेका छन् । नारायणकाजीको साथले प्रचण्डलाई बलियो होइन राजनीतिक रुपमा झन कमजोर बनाउने सम्भावना रहन्छ । पार्टी कार्यकर्ता पङ्क्तिले नारायणकाजीलाई भुइँभुट्टाको रुपमा लिएको हुनाले पनि उनको साथ ‘प्रचण्डका निम्ति काउसो’ बन्ने देखिन्छ । त्यसैले आगामी महाधिवेशनपश्चात् डा. बाबुराम भट्टराई पहिलेभन्दा बलियो बन्नुहुने सम्भावना छ । महाधिवेशनपछि पार्टी विभाजन भएन भने पनि बाबुराम भट्टराईको चाहनाविपरित पार्टी संचालन गर्ने हैसियतमा प्रचण्ड रहनुहुने देखिएको छैन । त्यस्तो अवस्थामा आफैं अध्यक्ष नभए पनि आफ्नो लाइनअनुरुप पार्टीलाई अघि बढाउने हैसियत भने बाबुराम भट्टराईले बनाउनुहुने सम्भावना बलियो भएको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । नेकपा एमालेको बरिष्ठ नेता माधव नेपाल पक्ष सरकारमा सहभागी हुने भएको छ । माओवादी अध्यक्ष प्रचण्डले स्थायी कमिटी

काठमाडौं । नेपालमा २४ घन्टाको अवधिमा ३ हजार ८ सय ९९ जना कोरोना भाइरस संक्रमित थपिएका छन् भने २० जनाको

काठमाडौँ । नेपाली कांग्रेसले देशभरका आठ लाख ५२ हजार ७११ जनालाई क्रियाशील सदस्यता प्रदान गरेको छ । कांग्रेसको क्रियाशील सदस्यता

काठमाडौं । चौधौं महाधिवेशनको निकट आइपुगेको दल नेपाली कांग्रेसको पदाधिकारी बैठक आज बिहान बस्न लागेको छ। आज बिहान ९ बजे