दल निर्वाचनतिर, पूर्वसभासद् पुनःस्थापनातिर

९ श्रावण २०६९, मंगलवार १५:०५ मा प्रकाशित

काठमाडौ, ९ साउन । अहिलेको राजनीतिक सङ्कटको निकासको एउटै मात्र उपाय निर्वाचन नै हो भन्ने पक्षमा प्रमुख राजनीतिक दलहरु भए पनि ती दलभित्रका पूर्वसभासद् भने अझै पनि संविधानसभा पुनःस्थापनाको पक्षमा खुलेरै लाग्नुभएको छ ।

पूर्वसभासद्हरु सहमतिको प्रस्थान बिन्दु तथा राजनीतिक र संवैधानिक सङ्कटको उपयुक्त निकासको विकल्पका रुपमा संविधासभाको पुनःस्थापना नै हो भन्ने तर्कका साथ अगाडि बढिरहनुभएको छ ।

उहाँहरुको भनाइ छ– ‘यो सबैभन्दा उपयुक्त विधि र विकल्प हो, यसबाट समय र खर्चको समेत बचत हुन्छ, त्यसैले संविधानसभाको पुनःस्थापनाका लागि हामीहरुले अभियान नै चलाइरहेका छौँ ।’

पूर्वमहिला सभासद्हरुद्वारा आज यहाँ आयोजित ‘उत्पन्न राष्ट्रिय राजनीतिक सङ्कटको समाधान र महिलाका मुद्दाहरु’ विषयक कार्यक्रममा सहभागी वक्ताले गत जेठ १४ गते संविधानसभाको बैठक बोलाएर संविधानसभा भवनमा ५७० भन्दा बढी सभासद्लाई अल्मल्याएर शीर्ष नेताहरुले संविधानसभाको ‘कु’ गरेको आरोप लगाउनुभयो ।

अहिले राजनीतिक र संवैधानिक सङ्कटको निराकरणका लागि तीनवटा विकल्पका रूपमा संसद् पुनःस्थापना, विज्ञसम्मिलित आयोगद्वारा संविधान निर्माण र ताजा जनादेश रहेको भए पनि उहाँहरुले विगतको अनुभव र विश्लेषणलाई दृष्टिगत गर्दा सबैभन्दा कम खर्चिलो र सङ्क्रमणलाई छिटो अन्त्य गर्ने विधि भनेको संविधानसभाको पुनःस्थापना नै हो भन्ने धारणा व्यक्त गर्नुभयो ।

वक्ताले संविधान लेखनका क्रममा दलहरुबीच मत बाझिएको सङ्घीयताको नाम र सङ्ख्याका विषयमा सहमति नभई जुनसुकै विकल्पमा गए पनि त्यसले पार लगाउन नसक्ने दाबी गर्दै सबैभन्दा पहिले विघटित संविधानसभामा प्रतिनिधित्व गर्ने ६०१ जनाकै बैठक बोलाएर निकास खोज्नुपर्ने सुझाव दिनुभयो ।

परिणामविहीन अवस्थामा संविधानसभाको अवसान गर्ने कार्यमा आफूहरुको सहमति र संलग्नता नरहेको बताउँदै उहाँहरुले भन्नुभयो– ‘जनादेशअनुसार तोकिएको समयभित्र आफूहरुले संविधानको प्रारम्भिक मस्यौदा दिए पनि शीर्ष नेताकै कारण संविधानसभा विघटन भयो ।’

खासगरी शीर्ष नेताहरु सत्तालिप्सामा चुर्लुम्म डुबेको तथा उनीहरु दलित, महिला, आदिवासी÷जनजातिका मुद्दामा कति पनि जिम्मेवार थिएनन् भन्ने कुरा संविधानसभा विघटनको कुराले पुष्टि गरेको उहाँहरुको आरोप थियो ।

संविधानसभाको बैठक बोलाएर पनि बैठक बसाउन नसक्ने सभामुख र भइरहेको संविधानसभालाई मृत्युवरणमा पु¥याउने प्रधानमन्त्रीलाई यो मुलुकको कानुन लाग्छ कि लाग्दैन भन्ने प्रश्न उहाँहरुले गर्नुभयो ।

केही सीमित शीर्ष नेताको लहड र बहकाउमा गरिने सहमतिलाई जनताले अब नस्विकार्ने चेतावनी दिँदै उहाँहरुले विकल्प हुँदाहुँदै संविधानसभा विघटन गर्ने काम भएकाले विधि र विधानलाई टेकेर पुनःस्थापना गर्ने कार्यमा सहमतिका साथ एकताबद्ध हुनुपर्ने आवश्यकता औँल्याउनुभयो ।

यसरी मन्तव्य व्यक्त गर्नेमा महिला सभासद् समूहका पूर्वसंयोजक कल्पना राणा तथा पूर्वसभासद् दामा शर्मा, शोभाकर पराजुली, जीवनपे्रम श्रेष्ठ, राधा ज्ञवाली, तिलक परियार, मोहन पाण्डे, दुर्गाजयन्ती राई, रामबहादुर थापा, गोविन्द नेपाली, सरस्वती राई, उषाकला राई तथा संविधानविद्द्वय चन्द्रकान्त ज्ञवाली र पूर्णमान शाक्यलगायत हुनुहुन्थ्यो । रासस

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेर बहादुर देउवाले अहिले प्रजातन्त्रमाथि खतरा उत्पन्न भएकाले ओलीलाई प्रधानमन्त्रीबाट हटाउनुपर्ने बताएका छन् । नेपाल

काठमाडौँ । नेकपा एमालेको महाधिवेशन आयोजक कमिटीको बैठकले कर्णाली प्रदेशमा फ्लोर क्रस गराउन भूमिका खेलेको आरोप लगाएर २० जना नेतालाई

काठमाडौं । प्रहरीले ७ जना नक्कली डाक्टरलाई पक्राउ गरेको छ । नक्कली प्रमाणपत्र पेश गरेर काम गरिरहेका ७ जना ‘नक्कली

काठमाडौँ । सरकारले सार्जवनिक स्थानमा ५ जनाभन्दा बढी भेला हुन रोक लगाएको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले जारी गरेको