माओवादी सक्रमणकालको फाईदा उठाउँदै हैकम चलाउने दाउमाः नेपाल

९ श्रावण २०६९, मंगलवार १३:०७ मा प्रकाशित

काठमाडौँ, ९ साउन । नेकपा (एमाले)का वरिष्ठ नेता माधवकुमार नेपालले लोकतन्त्रका आधारभूत मूल्य र मान्यताविपरीत मुलुक चलाउन खोज्ने कुनै पनि शक्ति दीर्घकालसम्म जान नसक्ने ठोकुवा गर्नुभएको छ ।

पुष्पलाल मेमोरियल कलेज गणेशस्थान, चाबहिलको पाँचौँ स्थापना दिवसका अवसरमा आज आयोजित कार्यक्रममा पुष्पलाल स्मृति प्रतिष्ठानका अध्यक्ष नेपालले मुलुकको सङ्क्रमणकालको फाइदा लिएर अहिले एकीकृत नेकपा (माओवादी) लोकतान्त्रिक मूल्य र मान्यताविपरीत राज्य संयन्त्रमाथि हैकम जमाउने प्रयासमा छ भन्दै कुनै पनि हालतमा त्यसरी चल्ने शक्ति अनन्तकालसम्म जान नसक्ने विचार व्यक्त गर्नुभयो ।

पूर्वप्रधानमन्त्री नेपालले भन्नुभयो– ‘चार वर्षे कार्यकाल पूरा हुँदासमेत संविधान दिन नसकेर संविधानसभाको विघटन गर्दै मुलुकमा सङ्क्रमणकाल लम्ब्याउने प्रयासमा सत्तापक्ष सक्रिय छ, यो कदापि राम्रो होइन ।’ उहाँले प्रधानमन्त्रीले अन्य दलसँग विनापरामर्श एकतर्फीरुपमा मङ्सिर ७ गते संविधानसभाको निर्वाचनको मिति घोषणा गर्नु दिवास्वप्न मात्र हो भन्दै अन्तरिम संविधानले दिएको अख्तियारीलाई नाघेर प्रधानमन्त्रीले घोषणा गरेको निर्वाचन असम्भव भएको बताउनुभयो ।

वरिष्ठ नेता नेपालले भन्नुभयो– ‘संविधानसभाको निर्वाचन गर्नु कसैको बाध्यता हो भने त्यो बाध्यताको सिकार अन्य राजनीतिक दल हुने छैनन्, त्यसैले सहमतिका साथ अगाडि बढ्न तयार हुनुुपर्छ ।’

उहाँले मुलुकको अस्थिर राजनीतिका कारण शिक्षा, स्वास्थ्य, रोजगारी, भौतिक पूर्वाधारको विकासलगायतका क्षेत्रमा गम्भीर असर पर्ने भएकाले तत्काल स्थिर राजनीति कायम गर्नुपर्छ भन्दै रोजगारीमुखी शिक्षालाई अगाडि बढाउन शैक्षिक संस्था तयार हुनुपर्ने र त्यसबाट मात्र मुलुकको बेरोजगारी समस्या समाधान हुने विश्वास व्यक्त गर्नुभयो ।

उहाँले वार्षिकोत्सवका अवसरमा आयोजित कथा, कविता, निबन्ध, खेलकुदलगायतका विधामा उत्कृष्ट हुने विभिन्न विद्यार्थीलाई सम्मान गर्दैै पुरस्कार पनि वितरण गर्नुभएको थियो ।

कलेजका कार्यकारी निर्देशक केदार पुडासैनीले पुष्पलालको आदर्शबाट अभिपे्ररित भई पाँच वर्षअघि कलेज स्थापना गरिएको र सर्वसुलभ र गुणस्तरीय शिक्षाका लागि नमुनाका रुपमा कलेजलाई अगाडि बढाइएको जानकारी दिनुभयो । कलेज सञ्चालक समितिका अध्यक्ष रामराज खकुरेलले गुणस्तरीय शिक्षालाई आधार बनाउँदै रोजगारमुखी शिक्षा प्रदान गर्ने र कलेजद्वारा उत्पादित जनशक्ति बेरोजगार भए भन्ने गुनासो नआउने गरी शैक्षिक गतिविधि सञ्चालन गरिने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

कार्यक्रममा कलेजका प्राचार्य शम्भु अधिकारी, पुष्पलाल विद्यालय कपनका प्राचार्य नारायणबाबु तिमिल्सनालगायतले शैक्षिक संस्थालाई बेरोजगार उत्पादन गर्ने केन्द्रका रुपमा नभई असल र समाजोपयोगी नागरिक उत्पादन गर्ने थलोका रुपमा विकास गर्नुपर्नेमा जोड दिनुभएको थियो ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेर बहादुर देउवाले अहिले प्रजातन्त्रमाथि खतरा उत्पन्न भएकाले ओलीलाई प्रधानमन्त्रीबाट हटाउनुपर्ने बताएका छन् । नेपाल

काठमाडौँ । नेकपा एमालेको महाधिवेशन आयोजक कमिटीको बैठकले कर्णाली प्रदेशमा फ्लोर क्रस गराउन भूमिका खेलेको आरोप लगाएर २० जना नेतालाई

काठमाडौं । प्रहरीले ७ जना नक्कली डाक्टरलाई पक्राउ गरेको छ । नक्कली प्रमाणपत्र पेश गरेर काम गरिरहेका ७ जना ‘नक्कली

काठमाडौँ । सरकारले सार्जवनिक स्थानमा ५ जनाभन्दा बढी भेला हुन रोक लगाएको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले जारी गरेको