नेपाल–चीन राजमार्ग खुला

२८ भाद्र २०७५, बिहीबार २२:०६ मा प्रकाशित

रसुवा, २८ भदौ । यही भदौ २५ गतेदेखि अवरुद्ध धुञ्चे–स्याफ्रुबीच खोपाङ भिरको सडकखण्ड सञ्चालनमा आएको छ ।

डिभिजन सडक कार्यालयका इञ्जिनियर सरोज कडरियाका अनुसार भारी वर्षाका कारण पहिरो गई करीब १०० मिटर राजमार्ग सतहमा बसेको ठूलाठूला ढुङ्गा पन्छाइ आजदेखि नेपाल–चीनबीचको अन्तर्राष्ट्रिय राजमार्ग सञ्चालन गरिएको हो ।

पहिरो पन्छाउन डिभिजन सडक कार्यालयमा रहेका दुई वटा लोडर तथा डोजरले मात्र ठूला ढुङ्गा फ्याँक्ने क्षमता नपुगेका कारण रसुवाबाट प्रतिनिधित्व गर्ने सांसद मोहन आचार्यको सहयोगमा रसु्वा कन्स्ट्रक्सन प्रालिले पठाएको २२० सिसीको स्काभेटरको सहायताले तीन दिनको प्रयासमा सडक खुलाउन सफल भएको प्राविधिकले बताएका छन् ।

उक्त ठाउँमा यही भदौ २ गते ठूलो पहिरो जाँदा भदौ १८ गते सञ्चालन भएको स्थानमा पुनः पहिरो गएको बताउँदै सडक कार्यालयका प्राविधिक अपरेटर निमा लामा र राजेश दाहालले जोखिमयुक्त क्षेत्रमा सतर्क हुन चालकलाई आग्रह गरेका छन् ।

यस वर्ष राजमार्ग पहिरो हटाउन स्वतःस्फुर्तरुपमा स्काभेटर उपलब्ध गराई सहयोग गर्नुहुने रसुवागढी जलविद्युत् आयोजनाका साथै पूर्वसांसद जनार्दन ढकाल र वर्तमान सांसद मोहन आचार्यलाई प्रजिअ कृष्ण पौडेलले धन्यवाद व्यक्त गर्नुभयो ।

गत साउन ९ गतेदेखि अहिलेसम्म सडक अवरुद्ध भइरहँदा डेढ अर्बभन्दा बढी राजश्व नोक्सान परेको भन्सार कार्यालय टिमुरेले जनाएको छ । आज राजमार्ग खुलेलगत्तै २०० भन्दाबढी सवारी साधन आफ्नो गन्तव्यतर्फ लागेको र बढ्दो सवारी चापको व्यवस्थापनका लागि ठाउँठाउँमा ट्राफिक व्यवस्थापन मजबुद बनाइएको ट्राफिक प्रहरी इञ्चार्ज नवराज खड्काले बताउनुभयो ।

वर्षाको कारण बेत्रावती रसुवागढी राजमार्गको ठाउँठाउँमा खाल्टाखुल्टी धेरै भएको र पहिरो क्षेत्रको व्यवस्थापनपश्चात् क्रमशः सुधार गर्दै लगिने सडक इञ्जिनियर सरोज कडोरियाले बताउनुभयो ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आगामी असार महिना सम्ममा नेपालमा तीन लाख व्यक्तिमा कोभिड–१९ संक्रमण देखा पर्नसक्ने अनुमान गरेको

काठमाडौँ । नक्कली पीसीआर रिपोर्ट दिने सुरिया हेल्थ केयरको लाइसेन्स निलम्बन गरिएको छ । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले नक्कली रिपोर्टका बारेमा

काठमाडौं । आज देशका धेरैजसो स्थानमा बिहानैदेखि वर्षा भइरहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ। देशका विभिन्न क्षेत्रमा आज

काठमाडौं । सत्तारुढ नेकपा (एमाले) अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली र नेता माधवकुमार नेपालबीच लामो समयको संवादहीनता तोडिएसँगै राजनीतिक