मस्कोमा नेपाल-रूस दौत्य सम्बन्ध स्थापनाको ५६ औं वार्षीकोत्सव

९ श्रावण २०६९, मंगलवार ०३:४९ मा प्रकाशित

कृष्णप्रकाश श्रेष्ठ, मस्को । मस्कोस्थित नेपाली राजदूतावासको प्राङ्गणमा रूस-नेपाल मैत्री तथा सहयोग समाजको सक्रिय सहभागितामा नेपाल-रूस दौत्य सम्बन्ध स्थापनाको ५६ औं वार्षीकोत्सवको उपलक्ष्यमा एक भव्य समारोह सुसम्पन्न भयो । त्यसमा गैरआवासीय नेपाली संघ रूसका सदस्यहरुको पनि व्यापक सहभागिता रहेको थियो ।

रूस-नेपाल मैत्री तथा सहयोग समाजका उपाध्यक्ष एवं गैरआवासीय नेपाली संघ रूसका निवर्तमान अध्यक्ष डा. मणिराज पोखरेलद्वारा संचालन गरिएको समारोहमा रूसका लागि नेपाली राजदूत महामहिम डा. रविमोहन सापकोटाज्यूका साथै प्रमुख अतिथिको रूपमा नेपालका लागि रूसी राजदूत सेर्गेइ भेलिचकिन र रूस-नेपाल मैत्री तथा सहयोग समाजको संरक्षण परिषद्का उपाध्यक्ष मिखाइल नेक्रासोभबाट अध्यक्षमण्डलमा स्थान ग्रहण गरिएको थियो ।

रूस-नेपाल मैत्री तथा सहयोग समाजको तर्फबाट मिखाइल नेक्रासोभले रूस-नेपाल दौत्यसम्बन्ध स्थापनाको ५६ औं वार्षीकोत्सवको अवसरमा आयोजित समारोहमा उपस्थित सबैलाई हार्दिक शुभकामना व्यक्त गर्नुका साथै मैत्री समाजले हाम्रा दुर्इ देशबीच मैत्री सम्बन्धको विकासमा योगदान पुर्याइरहेको चर्चा गर्दै आफूले अहिले रूसको किरोभ अञ्चलमा अत्याधुनिक नानाप्रविधिको समेत उपयोग गरी एउटा औषधि कारखानाको निर्माणमा भाग लिइरहेको जनाउनुभयो र नेपालमा रूसको लगानीबाट भविष्यमा विभिन्न परियोजनाहरूको स्थापना हुने विश्वास व्यक्त गर्नुभएको थियो ।

प्रमुख अतिथि महामहिम रूसी राजदूत सेर्गेइ भेलिचकिनले काठमाडौंमा पनि दौत्यसम्बन्ध स्थापनाको ५६ औं वार्षीकोत्सवको सन्दर्भमा समारोह सम्पन्न भइरहेको र त्यहाँ व्यक्त गरिएकै भावनाअनुरूप यहाँ पनि मन्तव्यहरू गुञ्जने विश्वास व्यक्त गर्नुका साथै पोहोर साल मास्कोमा नेपालका तत्कालीन परराष्ट्रमन्त्री उपेन्द्र यादवको समेत उपस्थितिमा सम्पन्न भएको समारोहमा आफूले पनि भाग लिने अवसर पाएको सम्झना गर्नुभयो । उहाँले गतः ५६ वर्षदेखि रूस र नेपालबीचको सम्बन्ध सुमधुर रहिआएको चर्चा गर्नु हुँदै काठमाडौंस्थित रूस विज्ञान तथा संस्कृति केन्द्रको प्रेक्षालयमा रसियाको ब्याले टोली ‘ग्जेल’ को सफल प्रदर्शन र लुम्बिनी वर्ष घोषित गरिएको परिप्रेक्ष्यमा अप्रिल-मेई महिनातिर रूसका बुद्धधर्म सम्बन्धी प्रदर्शनी सम्पन्न भएको सूचित गर्नुका साथै नेपालीहरूले रूस महासंघका तीन संघटक क्षेत्रमा बौद्धधर्म नै प्रमुख धर्म रहेको जानकारी पाएको उल्लेख गर्नुभयो ।

दुई साता जति अघि हाम्रा दुई देशबीच सांस्कृतिक आदान-प्रदानबारे सम्झौतापत्रमा हस्ताक्षर भएकोबाट भविष्यमा यस्ता सांस्कृतिक आदान-प्रदानका लागि आधार सिर्जना भएको कुरामा जोड दिंदै उहाँले संयुक्त राष्ट्र संघ लगायत विभिन्न अन्तर्राष्ट्रिय संस्थाहरूमा रूस तथा नेपालको स्थितिमा समानता रहिआएको तथ्य जोड्दै भविष्यमा रूस-नेपाल सम्बन्ध विकासको व्यापक सम्भावना रहेकोतर्फ सङ्केत गर्नुभयो ।

गैरआवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिष्द्का अध्यक्ष जीवा लामिछानेले पछिल्लो समयमा नेपालको राजनैतिक अस्थिरताको कारणले नेपालमा पर्यटन उद्योग र लगानीको गति मन्द रहे तापनि दुर्इ विशाल देशहरूको बीचमा अवस्थित नेपालमा प्राकृतिक स्रोत-साधनको उपयोगको व्यापक सम्भावना रहेको हुँदा रसियालगायत विभिन्न देशका लगानीकर्ताहरू आकर्षित हुने छन् भनी विश्वास व्यक्त गर्नुभयो । रूस-नेपाल मैत्री तथा सहयोग समाजकी उपाध्यक्षा नेल्ली स्तेपानोभाले एक सानो देश भए पनि नेपालमा विश्वसम्पदाको सूचीअन्तर्गतका आठवटा स्थलहरू रहेको चर्चा गर्दै नेपालको प्राकृतिक र सांस्कृतिक सम्पदाको बारेमा रसियालीहरूलाई अवगत गराउने गरेको बताउनुभयो ।

गैरआवासीय नेपाली संघका संस्थापक अध्यक्ष डा. उपेन्द्र महतोले रूसी र नेपाली दुवै भाषामा क्रमशः बोल्दै नेपालको विकास नै गैरआवासीय नेपालीहरूको मुख्य लक्ष्य भएको जनाउनु हुँदै रूसी मित्रहरूले अहिलेसम्म नेपालको विकासमा जसरी योगदान पुर्‍याउँदै आएका छन् त्यसै गरी भविष्यमा पनि पारस्परिक लाभलाई ध्यानमा राखेर सहयोग र लगानी उपलब्ध हुनेछ भन्ने छोटो तर सारगर्भित अभिव्यक्ति दिनुभएको थियो ।

रसियाली उद्यमी एभ्गेनी कोजोरेजोभले पछिल्ला केही वर्षदेखि नेपालप्रति आकर्षित भई नेपालको यात्रा गरेको जनाउँदै आफ्नो जन्मस्थल पहाडी गणतन्त्र दागेस्तान र नेपालको प्राकृतिक सौन्दर्यमा समानता रहेको चर्चा गर्नुका साथै मास्कोस्थित नेपाली राजदूतावासमा सम्पन्न नेपाल-दागेस्तान फोटोप्रदर्शनीको समयमा उत्पन्न विचारअनुसार विश्वको सर्वोच्च शिखर सगरमाथाको उच्चताअनुरुप ८८४८ दिन पुरानो दागेस्तानी ब्रैण्डीलाई ‘एभेरेष्ट’ कै नामबाट उत्पादन गरेको जनाउँदै सगरमाथाहङ्कित एक सुन्दर बोतल महामहिम नेपाली राजदूतज्यूलाई मैत्री उपहारस्वरूप प्रदान गर्नुभयो ।

मैत्री समारोहको समापन गर्दै महामहिम नेपाली राजदूत डा. रविमोहन सापकोटाज्यूले ५६ वर्षअधि नेपाल र रूसबीच दौत्यसम्बन्ध स्थापना हुनुभन्दा पहिले नेपालको अवस्था कस्तो थियो भन्ने बोध गराउन सन् १९५० मा तत्कालीन राणा प्रधानमन्त्री मोहन शम्शेरले भारतका प्रधानमन्त्री जवाहरलाल नेहरुसित भेट गर्न जानुअगाडि दक्षिणकालीमा कालो बोका बलि दिएको घटनाबारे बताउनुका साथै प्रजातन्त्रको स्थापनापश्चात् पनि केवल ४ देश (भारत, बेलायत, फ्रान्स र अमेरिका) सित मात्रै नेपालको कूटनैतिक सम्बन्ध रहेको सूचित गर्नुभयो । उहाँले सन् १९५६ मा तत्कालीन सोभियत संघसित दौत्यसम्बन्ध कायम भएपछि मात्र नेपालमा औद्योगिक विकासका लागि रूसको मद्दतबाट आधारभूत परियोजनाहरू अस्तित्वमा आएको चर्चा गर्नुका साथै रूसबाट उच्चशिक्षा प्राप्त गरेका नेपालीहरूले जनताप्रति दर्शाउने सद्भावनाको सराहनासहित अहिले रूसमा रहेका नेपालीहरूजस्तै नेपालमा पनि रसियालीहरूको उपस्थितिको दिन आउनुपर्ने र यसका लागि आवश्यक अवस्थाको सिर्जना गरिने कुरामा जोड दिनुहुँदै नेपालमा जलविद्युत्, पर्यटन, जडीबूटी प्रशोधन लगायत विभिन्न क्षेत्रमा सक्रिय लगानी गर्न र प्राकृतिक सौन्दर्यले भरिपूर्ण नेपालको यात्राभ्रमण गर्न प्रकृतिप्रेमी रसियाली मित्रहरूलाई आह्वान गर्नुभयो ।

समारोहको औपचारिक खण्डको अन्त्यमा दूर्इ पटक सोभियत संघवीरको उपाधि प्राप्त गर्नुहुने अन्तरिक्षयात्री, रूस-नेपाल मैत्री तथा सहयोग समाजको संरक्षक परिषद्का अध्यक्ष भ्लादिमिर झानिबेकोभलाई हालै ७० वर्ष पूरा भएको शुभअवसरमा रूसस्थित नेपाली राजदूतावास तथा गैरआवासीय नेपाली संघ रूसले अभिनन्दन गर्ने कार्यक्रम रहेको तर अस्वस्थताको कारणले अन्तरिक्षयात्री भ्लादिमिर झानिबेकोभ समारोहमा अनुपस्थित रहनु भएकाले उहाँको अभिनन्दनका लागि तयार पारिएका सम्मानपत्रहरू नेपाली राजदूतावासका उपनिकाय प्रमुख गहेन्द्र राजभण्डारी तथा गैरआवासीय नेपाली संघ रूसका अध्यक्ष उत्सव अमात्यले रूस-नेपाल मैत्री तथा सहयोग समाजको जिम्मा लगाइदिनुभएको थियो ।

नेपाल-रूस दौत्य सम्बन्ध स्थापनाको ५६-औं वाषिर्कोत्सवको उपलक्ष्यमा मास्कोमा आयोजित भव्य समारोहको समाप्तिपश्चात् नेपाली परिकारहरूसहितको संन्धाभोजको पनि व्यवस्था गरिएको थियो ।

प्रतिक्रिया
सम्बन्धित खवर

गैरआवासीय नेपाली संघ भाषा, साहित्य, संस्कृति तथा सम्पदा समितिको साप्ताहिक कार्यक्रम प्रवासी प्रवाहको चवालिसौ शृङ्खलामा नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति गंगाप्रसाद

लिसवोन । पोर्चुगलस्थित नेकपा एमालेको प्रवास संगठन प्रवासी नेपाली मञ्च पुनर्गठन भएको छ । ३५ सदस्यीय कार्य कार्यसमितिको अध्यक्षमा अध्यक्ष

नेपाल पत्रकार महासङ्घ बेल्जियम शाखाको अध्यक्षमा ओम शर्मा निर्विरोध निर्वाचित हुनुभएको छ । कार्यसमितिको उपाध्यक्षमा डिल्ली अम्माई, सचिवमा पेम्बा गेलु

दमास्कस । ओमानस्थित नेपाली राजदूतावासले हिजो शनिबार साहित्य र प्रकृतिसम्बन्धी एक वेबनारको आयोजना गरेको छ । काठमाडौँको सेरोफेरोका महत्वपूर्ण र