भारतका नवनिर्वाचित राष्ट्रपति ः एक शब्दचित्र – जेपी त्रिपाठी

८ श्रावण २०६९, सोमबार ०९:३१ मा प्रकाशित


काठमाडौं, ८ साउन । छिमेकी देश भारतको राष्ट्रपति निर्वाचनमा भूतपूर्व अर्थमन्त्री प्रणव मुखर्जी विजयी भएका छन् । १३ औं भारतीय राष्ट्रपतिका रुपमा नवनिर्वाचित राष्ट्रपति मुखर्जीले भारतकी प्रथम महिला राष्ट्रपति प्रतिभा पाटिलको स्थान लिनेछन् भने उनको राष्ट्रपतीय कार्यकाल पांच वर्षको हुनेछ । प्रणव मुखर्जीले आफ्ना निकटतम् प्रतिद्वन्द्वी पीए सङ्गमालाई पराजित गरेका हुन् । सङ्गमा भारतीय तल्लो सदनका पूर्व सभामुख हुन् जसलाई भारतीय जनता पार्टीको समर्थन प्राप्त थियो । आलङ्कारिक पद भए पनि सन् २०१४ मा हुने निर्वाचनमा स्पष्ट परिणाम नआए नयां सरकार गठन गर्नमा नवनिर्वाचित राष्ट्रपति मुखर्जीको भूमिका महत्वपूर्ण हुन सक्ने हुनाले सत्ताधारी कंग्रेस पार्टीका लागि मुखर्जीको विजय सकारात्मक घटना बनेको छ । विभिन्न भ्रष्टाचारका काण्डहरु र भारतीय अर्थतन्त्रमा आएको सुस्तताका कारण दबावमा परेको कांग्रेसका लागि मुखर्जीको विजय राहतकारी हुन सक्छ ।
प्रणव मुखर्जीको जन्म सन् १९३५, डिसेम्वर ११ का दिन पश्चिम बंगालको वीरभूम जिल्लामा भएको थियो । इतिहास र राजनीतिशास्त्रमा स्नाकोत्तर डिग्री हासिल गरेका मुखर्जीका पिता कामदा किंकर मुखर्जी स्वतन्त्रता सेनानी थिए । प्रणवका छोरा अभिजित मुखर्जी पनि पश्चिम बंगाल विधानसभाका विधायक छन् ।
मुखर्जी भूतपूर्व अर्थमन्त्री तथा सत्ताधारी गठबन्धनको नेतृत्व गरिरहेको कांग्रेस पार्टीका एकजना प्रभावशाली र पुराना राजनीतिज्ञ हुन् । राष्ट्रपतिको उम्मेदवार बन्दासम्म मुखर्जीले युपीए सरकारमा सबैभन्दा धेरै जिम्मेवारी सम्हालिरहेका थिए भने वित्तमन्त्रालयको जिम्मेवारीबाहेक उनले विभिन्न मन्त्रीमणडल समूहको नेतृत्व गरिरहेका थिए । आफ्नो राजनीतिक जीवनकालमा प्रणव मुखर्जीले विदेश, रक्षा, गृह र बाणिज्यजस्ता विभिन्न मन्त्रालयहरुको जिम्मेवारी सम्हालीसकेका छन् । सन् १९३५ मा भारतको पश्चिम बंगालमा जन्मेका प्रणव मुखर्जी सन् १९६९ मा भारतको माथिल्लो सदनमा निर्वाचित हुनुअघि शिक्षक, पत्रकार जस्ता पेशामा संलग्न थिए । सन् १९८६ मा कांग्रेस नेताहरुसंग मनमुटाव भएपछि उनले आफ्नै अलग राष्ट्रिय समाजवादी कंग्रेस नामक पार्टीसमेत गठन गरेका थिए । तर त्यसको दुई वर्षपछि नै भारतका भूतपूर्व प्रधानमन्त्री पी.भी. नरसिंह रावको विशेष प्रयत्नमा उनी पुरानो पार्टीमा फर्किएका थिए । उनले अन्तर्राष्ट्रिय मुद्रा कोष र विश्व बैंकको बोर्डमा पनि बसेर काम गरिसकेका छन् ।
कंग्रेस पार्टीका सङ्कटमोचक मानिदै आउका ७६ वर्षिय मुखर्जीले भारतीय राजनीतिमा चार दशकभन्दा बढी समय बिताइसकेका छन् । सन् १९६९ मा पहिलोपटक राज्य सभाका लागि चुनिएयता उनी धेरै पटक राज्य सभामा निर्वाचित भएका छन् । सन् १९७३ को फेब्रुअरीमा पहिलो पटक केन्द्रीय मन्त्री बनेपछि मुखर्जीले वितेको चार दशक अवधिमा कांग्रेस नेतृत्वको सबैजसो सरकारमा मन्त्री पद सम्हालेका छन् । सरकारका विभिन्न समितिको अध्यक्षता गर्नुका अलावा उनले कंग्रेस पार्टीमा महत्वपूर्ण भूमिका निभाएका छन् ।
भारतमा राष्ट्रपतिको भूमिका सामान्यतया आलङ्कारिक नै हुन्छ, तर आगामी राष्ट्रिय निर्वाचनमा कुनै पनि दलले बहुमत हासिल गर्न सकेन भने उनले खेल्ने भूमिका महत्वपूर्ण हुन्छ । पछिल्लो चार दशक भारतीय राजनीतिमा सक्रिय रहेका मुखर्जीले २५ जुलाईमा राष्ट्रपतिको पद तथा गोपनियताको सपथ ग्रहण गर्नेछन् ।
कोलकातामा राजनीतिक यात्रा थाल्दादेखि नै नेपालप्रति चासो राख्दैआउका नवनिर्वाचित राष्ट्रपति मुखर्जी नेपालप्रति विशेष लगाव राख्ने व्यक्तिका रुपमा परिचित छन् । नेपालप्रतिको चासो र नेपाली साथीहरुसंगको उनको निकट सम्बन्धमा अझै गाढापन आउने उनलाई नजिकबाट चिन्ने नेता तथा सहयोगीहरुको कथन छ । नेपालप्रति गहिरो चासोचाहिं मुखर्जीले सन् १९९० पछि मात्र राख्न थालेका उनलाई नजिकबाट नियालीरहेका विश्लेषकहरुको ठहर छ । सन् २००५ पछि नेपाल मामिलामा मुखर्जीको चासो नेपालप्रति झन् गहिरिएर गयो । किनकि, सशस्त्र संघर्षरत् माओवादी र तत्कालीन सातदलीय गठबन्धनबीच सम्झौताको प्रयास भइरहेको त्यस अवस्थामा मुखर्जीले नेपालप्रति निकै चासो बढाएका थिए । तत्कालीन विद्रोही माओवादी र राजनीतिक दलहरुबीच सम्झौता गराउन माक्र्सवादी नेता सिताराम यचुरीलाई संलग्न गराउन पनि मुखजीृको ठूलो भूमिका रहेको मानिन्छ । यति मात्र नभई कांग्रेस, एमाले, माओवादीदेखि लिएर मधेसवादी दलका प्रायः सबै प्रमुख नेतासंग मुखर्जीको सुमधुर सम्बन्ध छ । गत वर्ष भारततको वित्तमन्त्री रहेका बेला नेपाल भ्रमण गरेका मुखर्जीले नेपालका सबै राजनीतिक दलका शीर्षनेतासंग भेटवार्ता गरेका थिए ।
स्वर्गीय गिरिजाप्रसाद कोइरालासंग पनि मुखर्जीको अत्यन्त निकटको सम्बन्ध रहेको थियो भने नेपालका राष्ट्रपति डा. रामवरण यादवसंग पनि मुखर्जीको घनिष्ठ सम्बन्ध छ । कोलकाताबाट एमबीबीएस गरेका राष्ट्रपति यादव स्यम् पनि बंगाली भाषाका जानकार हुन् । दुबैबीच बंगालीमै कुराकानी हुने गर्छ । छिमेकी भारतको राष्ट्रपतिमा नेपाललाई नजिकबाट बुझेका राजनीतिज्ञ निर्वाचित भएबाट नेपाल र भारतबीचको सम्बन्धमा दूरगामी महत्वका नवीन आयामहरु थपिने अनुमान गर्न सकिन्छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । प्रहरीले ७ जना नक्कली डाक्टरलाई पक्राउ गरेको छ । नक्कली प्रमाणपत्र पेश गरेर काम गरिरहेका ७ जना ‘नक्कली

काठमाडौँ । सरकारले सार्जवनिक स्थानमा ५ जनाभन्दा बढी भेला हुन रोक लगाएको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले जारी गरेको

काठमाडौ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलविरूद्ध अविश्वास प्रस्ताव दर्ता गरिएको छ। नेपाली काँग्रेस, माओवादी केन्द्र र जसपाका सांसदहरुले मुख्यमन्त्री

कैलाली । भारतको उत्तर प्रदेशसँग सीमा जोडिएको कैलालीको गौरीफन्टा सीमा नाकामा भोलिसम्मका लागि आवागमन बन्द गरिएको छ । उत्तर प्रदेशका