ललितपुरमा पाटनबाहेक धेरै छन् पर्यटकीयस्थल

७ श्रावण २०६९, आईतवार १५:११ मा प्रकाशित

(अञ्जलि रम्तेल)

ललितपुर, ७ साउन । धार्मिक एवम् सांस्कृतिक महत्वले भरिपूर्ण ललितपुरमा आउने पर्यटकको सङ्ख्या बर्सेनि बढ्दो छ ।    ललितपुरमा पनि पाटनलाई मात्र पर्यटकीय क्षेत्रका रुपमा परिचित गराउने कार्य भइरहेका कारण पर्यटक त्यहाँका अन्य प्राकृतिक एवम् रमणीयस्थल हेर्नबाट भने वञ्चित भइरहेका छन् । पाटन आउने पर्यटकको लगत राख्ने कार्य गर्दै आएको ललितपुर उपमहानगरपालिकाको तथ्याङ्कअनुसार गत वर्ष एक लाख २२ हजार पर्यटक आएकामा यस वर्ष आउने पर्यटकको सङ्ख्या एक लाख नाघिसकेको छ ।

पर्यटक आगमनको तथ्याङ्क राख्ने डिल्ली शाक्यले बताउनुभयो– तीमध्ये पाटनबाहेक ललितपुरका अन्य स्थानमा जाने पर्यटकको सङ्ख्या एक चौथाई पनि छैनन् ।

प्रचारप्रसारको अभावमा पाटनबाहेक अन्य स्थानले त्यति महत्व पाउन नसकेको बुङ्मतीका सुखरत्न ब्रह्मचार्य बताउनुहुन्छ । उहाँका अनुसार नेवारी परम्परा र संस्कृतिले भरिपूर्ण खोकना र बुङ्मती क्षेत्रमा सोचेअनुरुप पर्यटक आउनसकेका छैनन् । उहाँले आपूmले पर्यटकलाई नै लक्ष्य गरी आफूले होमस्टेसमेत सञ्चालन गरिरहेको जानकारी दिँदै भन्नुभयो– ‘होमस्टे सुरु गर्दाताका पर्यटक आउने सङ्ख्यामा केही वृद्धि भए पनि हाल फाट्टफुट्ट मात्र आउने गरेका छन् ।’

पर्यटक आकर्षणका लागि यस क्षेत्रमा यस्ता थुपै्र स्थल र संस्कृति भए पनि तिनको सदुपयोग गर्न नसक्नु विडम्बना नै भएको ब्रह्मचार्यको भनाइ छ । बुङ्मती र खोकनामा काष्ठकला, शिल्पकला र पुरानै शैलीमा निर्माण गरिएका घर पर्यटक आकर्षणको केन्द्रबिन्दु मानिन्छन् । अझ यहाँका मानिसको रहनसहन र जीवनशैली नै पर्यटकले बढी हेर्न चाहेको उहाँ बताउनुहुन्छ ।

उपमहानगरपालिकाले पर्यटन प्रवेशद्वारमा सूचना केन्द्र नै स्थापना गरेर ललितपुरका विभिन्न पर्यटकीयस्थलका बारेमा जानकारी गराउने हो भने पाटनबाहेक अन्य स्थानमा आउने पर्यटकको सङ्ख्या पनि बढ्ने धारणा उहाँको छ ।

यसक्षेत्रमा रहेका कार्यविनायक मन्दिर, रातो मच्छिन्द्रनाथ मन्दिर, भैरव, लाँकुरीभन्ज्याङलगायतका स्थलले प्रख्याति कमाएका छन् । यसैगरी गत वर्ष सम्पन्न बाह्रवर्षे खोकनाको सिकाली जात्राका बेला पर्यटकको सङ्ख्यामा केही वृद्धि भएको स्थानीय युवा कृष्णशरण डङ्गोल बताउनुहुन्छ । उहाँका अनुसार बाह्रवर्षे जात्राका बेला दिनहुँजसो विभिन्न नाच र कार्यक्रम आयोजना गरिने भएकाले त्यसबेला यस क्षेत्रप्रति पर्यटकको अभिरुचि बढेको थियो ।

यस्तै खोकनाको विशेषताका रुपमा रहेको तोरीको तेल पेल्ने मिल, हस्तकला सामग्री तथा मठमन्दिर हेर्नलायक रहेको अनुभव डङ्गोलको छ । उहाँ भन्नुहुन्छ– ‘भूकम्प जाँदासमेत नभत्किने किसिमले निर्मित यसक्षेत्रका घर अध्ययन र अनुसन्धानका लागि निकै उपयोगी हुन सक्छन् ।’ बुङ्मती र खोकना क्षेत्र पदयात्रा, साइकलयात्रा र हाइकिङ गर्नका लागि पनि उपयुक्त स्थलका रुपमा परिचित छन् ।

यस्तै बाटोघाटोको राम्रो सुविधा हुने हो भने राजधानीकै कर्णालीका रुपमा रहेको दक्षिण ललितपुरको प्राकृतिक मनोरम दृश्यले पनि पर्यटकलाई तान्नसक्ने प्रबल सम्भावना छ । यातायात, शिक्षा, स्वास्थ्य, सञ्चारजस्ता सुविधाबाट वञ्चित हुनुपरे पनि दक्षिण ललितपुर प्राकृतिकरुपमा निकै धनी छ ।

नेपालले पर्यटन वर्ष घोषणा गरेसँगै ललितपुरको दक्षिणी भेगमा पनि पर्यटन प्रवद्र्धनका लागि विभिन्न कार्यक्रम गर्ने होडबाजी नै चलेको थियो । त्यो क्रमसँगै दल्चोकीमा सुरु गरिएको होमस्टे त्यति राम्रोसँग सुचारु हुन सकेन । दल्चोकीका बलबहादुर खड्काका अनुसार पर्यटकका लागि पर्याप्त भौतिक पूर्वाधारसहित सुरु गरिएको पहिलो होमस्टेमा केही जापानी पर्यटक समूह आएको भए पनि हालका दिनमा खासै पर्यटक आएका छैनन् ।

उहाँले भन्नुभयो– ‘यहाँको होमस्टेबाट पर्यटक सन्तुष्ट भए पनि यहाँसम्म आउनका लागि सडकको सुविधा नभएका कारण पर्यटक आउन नसकेका हुन्, यस क्षेत्रमा बाटो निर्माण तीव्ररुपमा भइरहेकाले अबका केही वर्षमा यस क्षेत्रमा पनि पर्यटकको ताँती देख्न सकिनेछ ।’

ललितपुर छिर्नका लागि प्रवेशद्वारका रुपमा रहेको पाटन क्षेत्र प्रवेश गर्ने सार्क मुलुकका पर्यटकले जनही रु २०० र अन्य मुलुकका पर्यटकले रु ५०० तिर्नुपर्ने नियम छ । यो रकम यही वर्षको वैशाख महिनादेखि निर्धारण गरिएको हो । सो टिकटबाट पर्यटकले पाटन दरबार स्क्वायर क्षेत्रको अवलोकन गर्न पाउनेछन् । दरबार स्क्वायर क्षेत्रभित्र रहेको पाटन सङ्ग्रहालय र विश्व सम्पदा सूचीमा रहेको हिरण्यवर्ण महाविहारको अवलोकनका लागि छुट्टै रकम तिर्नुपर्नेछ ।

पाटन क्षेत्रमा निकै कम स्थानको अवलोकनका लागि बढी रकम तिर्नुपरेको गुनासो पनि पर्यटकले नगरेका हैनन्, तर पर्यटकका लागि सेवासुविधा बढाउनुपर्ने बाध्यताका कारण सो रकम निर्धारण गरिएको पर्यटन शाखाको भनाइ छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौँ । नेकपा माओवादी केन्द्रले राष्ट्रिय सभाका सदस्य चन्द्रबहादुर खड्कालाई पनि हटाएको छ । खड्काले दल त्याग गरेको सूचना माओवादी

काठमाडौ । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले माधव नेपाल पक्षकालाई हटाएर स्थायी समिति गठन गरेका छन्

काठमाडौं । कर्णालीका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई विश्वासको मत दिएका एमाले सांसद कारबाहीमा परेका छन् । नेकपा एमाले महाधिवशेन आयोजक कमिटीको

नेपाली कांग्रेस काभ्रेपलाञ्चोकले २० हजार क्रियाशील सदस्यता बनाएको छ । यसका लागि पुराना सदस्यता नवीकरणसँगै नयाँ सदस्यता प्रदानसमेत गरी दोब्बर