सशस्त्रका आईजीपीप्रति बढ्यो असन्तुष्टि

५ श्रावण २०६९, शुक्रबार १२:४९ मा प्रकाशित


काठमाडौं, ५ साउन । सशस्त्र प्रहरी बलका महानिरीक्षक इन्जिनियर कोषराज वन्तको कार्यशैली र उनको व्यवहारलाई लिएर फौजभित्र असन्तुष्टि प्रकट हुन थालेको छ । सङ्गठनलाई कानुन र नीतिअनुरूप सञ्चालन नगरेर केही व्यक्तिको इच्छा र इशारामुताबिक चलाइएको कारण वन्तप्रति असन्तुष्टि बढेको बताइन्छ । भनिन्छ, वन्तले नारायणकाजी श्रेष्ठ र डा. बाबुराम भट्टराईपछि प्रचण्डको कुरा सुन्ने गरेका छन् । एउटा विदेशी दूतावासका डीआईजीको आदेश भएपछि उनले नारायणकाजी र बाबुरामको आदेशलाई समेत कार्यान्वयन गर्न सक्दैनन् । तर, वन्तले कार्यालयको नियमित काम भने एउटा कोटरीको सल्लाहबमोजिम गर्ने गरेको बताइन्छ ।
हल्चोकस्थित सशस्त्र प्रहरी मुख्यालयबाट प्राप्त जानकारीअनुसार आईजीपी सचिवालयका पीए एसएसपी राजेश श्रेष्ठ, डीएसपी सन्दीप थापा, कप्रशाखा प्रमुख डीएसपी युवराज अर्याल, बजेट शाखा प्रमुख श्यामकाजी कुंवर, प्रबन्ध प्रमुख डीएसपी दमन थापा र कार्यदल गणपति नारायणदत्त पौडेलको घेराबन्दीमा बसेर वन्तले काम गर्ने गरेका छन् । सचिवालयका प्रमुख डीआईजी नारायण थापालाई भने पङ्गु बनाइएको छ । आईजीपीले आफ्नोभन्दा मातहतका आफ्नै कर्मचारीको कुरा बढी सुन्न थालेपछि डीआईजी थापा हैरान भएका छन् । स्मरणीय छ, डीएसपीहरू श्यामकाजी कुंवर र दमन थापा सशस्त्र प्रहरी बल स्थापना भएदेखि नै एकै ठाउंमा कार्यरत रहेका छन् । बजेट शाखा प्रमुख कुंवर र प्रबन्ध प्रमुख दमन थापाले सशस्त्रको स्थापना भएदेखि नै आ–आफ्ना शाखाभन्दा बाहिर सरुवा हुनुपरेको छैन । इन्जिनियर आईजीपी वन्तको बजेट र प्रबन्ध शाखासंग सुरुदेखि नै गहिरो लगाव रहेका कारण थापा र कुंवरसंग वन्तको सम्बन्ध झनै कसिलो र रसिलो भएको चर्चा मातहतका अधिकारीहरूबीच चल्ने गरेको छ ।
इन्जिनियर वन्तले सचिवालय प्रमुख डीआईजी नारायण थापालाई मात्र होइन बरियताक्रममा सबैभन्दा अगाडि रहेका एआईजी ठाकुरमोहन श्रेष्ठलाई पनि पङ्गु बनाएका छन् । एआईजीपीहरूमध्ये बरियताक्रममा सबभन्दा अगाडि रहेकालाई प्रशासनको जिम्मेवारी दिइने परम्परालाई तोडेर वन्तले बरियतामा सबैभन्दा कनिष्ट जीवन थापालाई प्रशासनको जिम्मेवारी सुम्पेका छन् । सशस्त्र प्रहरीको दुई सय चालीसजनाको दुई टोली शान्ति स्थापनामा जांदै छ र तिनलाई आवश्यक पर्ने भौतिक सामग्री खरिद गर्ने क्रममा वन्तले दुई करोड रुपैयांभन्दा बढी कमिसन हात पारेको जानकारी आर्थिक प्रशासनका चिरञ्जीवी अधिकारीनिकटको सूत्रबाट थाहा भएको छ । वन्तले सरुवा र बढुवा गर्दा पनि व्यक्तिगत पूर्वाग्रह राख्ने गरेको जानकारीमा आएको छ । माओवादी नेताहरूको सिफारिसमा परेका र माओवादीनिकटको भनेर चिनिएका व्यक्तिबाहेक अन्यप्रति न्यायपूर्ण व्यवहार गर्ने नगरेको महसुस सशस्त्र प्रहरीका जवान तथा अधिकृतहरूले गर्न थालेका छन् । वन्तको यस्तै क्रियाकलापका कारण उनले आफ्नै सङ्गठनभित्र सम्मान र विश्वास गुमाउंदै छन् । वन्तलाई सार्वजनिक स्थलमै समेत मातहतका अधिकृत तथा जवानहरूले उपेक्षा गर्न थालेका छन् । त्यसको एउटा उदाहरण गत असार २६ गते मंगलबार पनि देखियो । त्यस दिन नेपाल ओलम्पिक कमिटीका उपाध्यक्ष धीरेन्द्र प्रधानको छोरीको विवाहका अवसरमा सशस्त्र प्रहरी मुख्यालयभित्रको अल्पे्रmस्को गार्डेनमा बेलुकी सात बजे एक रात्रिभोज आयोजना गरिएको थियो । सो भोजमा एमाले नेताहरू झलनाथ खनाल र सुवास नेम्वाङ पनि सहभागी हुन पुगेका थिए । सोही भोजमा सहभागी हुन सशस्त्र प्रहरी प्रमुख इन्जिनियर कोषराज वन्त त्यहां पुग्दा अपे्रसनका एआईजीपी ऋषभदेव भट्टराई र एसएसपी नरेन्द्र सिंह बसिरहेका थिए । वन्त आफ्नाअगाडि आइपुग्दा पनि एआईजीपी भट्टराईले कुनै वास्ता गरेनन् । जब कि फौजमा आफूभन्दा वरिष्ठ अधिकारीलाई जहां जस्तो अवस्थामा भेटिए पनि उठेर सलाम गर्ने प्रचलन छ । तर, त्यहां वन्तले प्रचलनबमोजिमको सम्मान पाएनन् । वन्तको व्यवहार जुन प्रकारको देखिएको छ र जसरी उनी काम गर्न खोज्दै छन्, यसैको निरन्तरता कायम रह्यो भने सशस्त्र प्रहरी बलमा आन्तरिक तर गम्भीर सङ्कट पैदा हुनसक्ने सम्भावना बढेको छ । प्रथम प्राविधिक आईजीपी वन्तकै कारण सशस्त्र प्रहरी बलको अस्तित्व र औचित्य नै सङ्कटमा प¥यो भने कुनै आश्चर्य हुने छैन ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । काठमाडौंको पश्चिम उत्तरतर्फ पर्ने नागार्जुनको जंगलमा डढेलो लागेको छ । नागार्जुनस्थित शिवपुरी राष्ट्रिय निकुञ्जको जंगलमा लागेको डढेलो निभाउनका

काठमाडौं । प्रत्येक वर्ष चैत्र कृष्ण औँसीका दिन मनाइने घोडेजात्रा पर्व आज मनाइँदैछ । उपत्यकामा कोरोना भाइरसको सङ्क्रमण फेरि बढ्न

काठमाडौं । नेपाल पत्रकार महासङ्घको बुधबार भएको २६ औं महाधिवेशनबाट विपुल पोखरेल नेतृत्वको प्यानलले जित हासिल गरेको छ । महासङ्घ

काठमाडौं । पूर्व महाराज ज्ञानेन्द्र शाहले भारतका गृहमन्त्री अमित शाहसँग भेटघाट गरेका छन् । उनी दुई दिनअघि भारतको हरिद्वारमा जारी