‘पत्रकार किशोर पन्थीको ‘कम्पन’ लोकापर्ण’

११ बैशाख २०७५, मंगलवार ००:२६ मा प्रकाशित

काठमाडौँ, १० वैशाख । पत्रकार किशोर पन्थीद्वारा लिखित ‘कम्पन’को लोकापर्ण समारोहमा एमाले नेता माधवकुमार नेपालले भूकम्पपछिको पुनःनिर्माणमा सरकारको ध्यान जान नसकेको बताउनुभएको छ ।

पत्रकार किशोर पन्थीद्वारा लिखित ‘कम्पन’को लोकापर्ण समारोहमा आज उहाँले भन्नुभयो – “जुन गतिमा भूकम्पपछिको पुनःनिर्माण हुनुपर्ने हो, त्यो हुन सकेको छैन, यसमा सरकारको गम्भीर ध्यान जानुपर्छ ।”

“अझै पनि मानिस छाप्रोमा बस्न बाध्य भएका छन्”, उहाँले भन्नुभयो, “जनतालाई आश्वासन मात्र दिएका छौँ, काम हुन सकेको छैन ।”

नेता नेपालले सरकार जिम्मेवार र संवेदनशील भएर पुनःनिर्माणमा तीव्रता दिनुपर्ने उल्लेख गर्दै दातृ निकायबाट अरबौ रकम पुनःनिर्माणका लागि आए पनि त्यो रकम उपयोग हुन नसकेको बताउनुभयो ।

पूर्वप्रधानमन्त्रीसमेत रहनुभएका नेता नेपालले भावी पुस्तालाई नेपालको भूकम्पका बारे यो पुस्तकले जानकारी गराउने बताउँदै बाढी, दैवीप्रकोपजस्ता नकारात्मक घटना मात्र नभएर सामाजिक खुशी ल्याउने कुरा लेख्नुपर्नेमा जोड दिनुभयो ।

नयाँ शक्ति पार्टी नेपालका संयोजक डा बाबुराम भट्टराईले पुनःनिर्माण र नवनिर्माणको काम ढिलो गतिमा भइरहेको बताउँदै यसलाई तीव्रता दिनका लागि स्थानीय तहबाट काम शुरु गर्नुपर्ने धारणा व्यक्त गर्नुभयो ।

भूकम्प प्रतिरोधात्मक भवन बनाएर क्षतिलाई न्यूनीकरण गर्न सरकार अग्रसर हुनुपर्नेमा जोड दिदैं उहाँले नयाँ पुस्तालाई जीवन्त उदाहरण बनाउन यो पुस्तकले भूमिका निर्वाह गर्ने बताउनुभयो ।

प्रा डा. खगेन्द्र लुइँटेलले पुस्तकमाथि टिप्पणी गर्दै लेखकले पुस्तकमा वैशाख १२ र २९ गते गएको भूकम्पबारे सिलसिलाबद्धरुपमा लेख्नुभएको बताउनुभयो ।

लेखक पन्थीले भूकम्पबारे भावी पुस्तालाई जानकारी गराउनका लागि पुस्तक लेखिएको बताउनुभयो ।

पुस्तकमा लेखकले विभिन्न १२ अध्यायमा भूकम्पका सम्बन्धमा विभिन्न व्यक्तिसँग गरिएको कुराकानीलाई संस्मरणात्मकरुपमा उल्लेख गर्नुभएको छ ।

एमाले नेता नेपाल, नयाँ शक्ति पार्टीका संयोजक भट्टराई र नेकपा माओवादी केन्द्रका प्रवक्ता पम्फा भुसालले संयुक्तरुपमा पुस्तकको लोकार्पण गर्नुभएको थियो ।

भूकम्प र भूकम्पपछिका सकसपूर्ण दिनहरुको स्मरण गर्दै पत्रकार किशोर पन्थीले लेखेको पुस्तक’कम्पन’ सार्वजनिक गरेका हुन् ।

पन्थीको पुस्तकमा भूकम्पका समयमा विभिन्न व्यक्तिले गरेका अनुभवहरु समेटिएको छ ।

राहत वितरणका लागि भूकम्प्रभावित क्षेत्रमा जाँदाको अनुभव पनि यसमा समेटिएका छन् ।

पुस्तकमा महाभूकम्पपछिको वेदना र आर्तनादमात्र होइन, सिमित साधन श्रोतकाबीच उच्च मनोवल र मानवीय सहयोगका कारण राहत, रेस्क्यु, उपचार सम्भव भयो भन्ने समेत देखाउन खोजिएको छ ।

नेपालमा गएको महाभूकम्प लगत्तै पत्रकार पन्थी नेपालका भूकम्प प्रभावित क्षेत्रहरुमा पुग्नु भएको थियो। त्यतिबेला पत्रकार पन्थीले सयौं व्यक्तिसँग गरेको कुराकानीका आधारमा कम्पन जन्मिएको हो ।

काठमाडौं, भक्तपुर ललितपुर बाहेक काभ्रे, सिन्धुपाल्चोक, रसुवा, नुवाकोट, गोरखा, धादिङ लगायतका जिल्लाहरुमा पुगेर पत्रकार पन्थीले भूकम्पमा आफन्त तथा घरबार गुमाउनेहरु, मृत्युको मुखबाट पनि बच्न सफल हुनेहरु, राहत र उद्दारमा खट्नेहरु, रेस्क्यु अपरेशनमा खट्नेहरु घाइतेहरुको उपचारमा खट्नेहरु लगायत सही सूचना सम्प्रेशणका लागि समाचार संकलनमा खट्नेहरुसम्मका बयान लिनु भएको थियो ।

त्यही बयानका आधारमा महाभूकम्पजस्ता विपत्तिको सामना, आशा, आत्मबल, मानवीयता, सहयोग, सहकार्य र भावनात्मक सम्बन्धका आधारमा कसरी गर्न सकिन्छ भन्ने सन्देश दिनका लागि पुस्तकको जन्म भएको पुस्तकका लेखक पन्थीले जानकारी दिनु भएको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

दमौली । कोभिड सङ्क्रमण पुष्टि भएपछि व्यास नगरपालिका–१ का एक पुरुषको दमौलीस्थित मिर्गौला उपचार केन्द्रमा डायलासिस गरिएको छ । व्यास

काठमाडौँ। पूर्व रानी कोमल शाह अस्पतालबाट डिस्चार्ज भएकी छन् । काठमाडौँको थापाथलीस्थित नर्भिक अन्तर्राष्ट्रिय अस्पतालमा उपचाररत शाह आज अपराह्न ४

काठमाडौं । ईस्लाम धर्मावलम्वीहरूको महान पर्व रमजान आज धुमधामसँग मनाउने तयारीमा जुटेका छन् । यो पर्वलाई ‘इद उल फित्तर’ भनिन्छ

काठमाडौं । उपप्रधानमन्त्री ईश्वर पोखरेलले कोरोनाविरुद्वको खोप र स्वास्थ्य सामग्री सहयोगका लागि अमेरिकी सरकारसँग आग्रह गर्नुभएको छ । कोभिड–१९ सङ्कट