समाज रुपान्तरणमा सञ्चारमाध्यमको भूमिका अतुलनीय

२ श्रावण २०६९, मंगलवार १६:०७ मा प्रकाशित

(कृष्णउदास खनाल)

पर्सा (वीरगन्ज), २ साउन । मुलुकमा विशेषगरी २०४६ सालको जनआन्दोलनबाट बहुदलीय प्रजातन्त्रको पुनःस्थापना भएपछि समाजको रुपान्तरण र परिवर्तनमा नेपाली आमसञ्चारमाध्यमले खेलेको भूमिका अतुलनीय रहेको छ ।

त्यसो त लोकतन्त्रको स्थापनापछि देशका प्रमुख सहरमा सूचना र सञ्चारक्षेत्रमा बाढी नै आयो भन्दा पनि फरक पर्दैन ।  सूचना र सञ्चारको दृष्टिकोणबाट काँचुली नै फेरेको देशको प्रमुख सहरमध्ये एक वीरगन्ज पनि हो । वीरगन्ज आर्थिकरुपमा मात्र नभई सञ्चारको दृष्टिकोणबाट पनि राजधानीका रुपमा विकसित हुँदै गएको छ । राजधानी काठमाडौँपछि वीरगन्जमा पनि बढी सञ्चारमाध्यम र सञ्चारकर्मी कार्यरत छन् भन्ने अनुमान गरिएको छ । यहाँ करिब दुई दर्जनको सङ्ख्यामा दैनिक पत्रपत्रिका प्रकाशनमा छन् भने आधा दर्जनजति स्थानीयस्तरबाट रेडियो प्रसारणमा छन् ।  केही केन्द्रीय रेडियोले कार्यक्रमको रिले प्रसारण गरिरहेका छन् ।

यी सञ्चारमाध्यमले समाज परिवर्तन र विकासका लागि सकारात्मक भूमिका निर्वाह गरिरहेका छन् भने यसमा एफएम रेडियो पनि बढी लोकप्रिय देखिएको पाइन्छ । पर्सा जिल्ला सदरमुकामबाट ६८ किलोमिटर सुदूर उत्तरमा पर्ने ठोरी गाविसमा पत्रपत्रिकाको पहुँच सहज नभए पनि एफएम भने सहज रुपमा सुन्न सकिन्छ । त्यसो त यहाँबाट प्रसारण हुने रेडियो प्रसारण छिमेकी मुलुक भारत, विहारका केही स्रोताले समेत राम्रैसँग सुन्ने गरेको पाइएको छ ।

नेपालको तराई र विहार क्षेत्रको रहनसहन एवम् भाषामा धेरै हदसम्म समानता रहेकाले पनि रेडियो प्रसारण विहारमा पनि लोकप्रिय बन्ने गरेका छन् । स्थानीय भाषा भोजपुरीमा यहाँका सबै एफएमले कार्यक्रम, समाचार तथा समाचारमूलक कार्यक्रम सञ्चालन गरेको पाइन्छ । भारतीय प्रमुख व्यापारिक सहर रक्सौलका समाचार तथा अन्य व्यापारिक गतिविधि यहाँका सञ्चारमाध्यमले प्रसारण गर्ने गरेका छन् । यसले गर्दा पनि नेपाल र भारतका नागरिकबीचको भावनात्मक एवम् सांस्कृतिक सम्बन्धलाई प्रगाढ बनाउन बल पुगेको छ ।

वीरगन्जबाट हाल एउटा सामुदायिक रेडियो र तीनवटा व्यावसायिक रेडियो प्रसारण भइरहेका छन् । रेडियो वीरगन्ज, सामुदायिक रेडियो नारायणी एफएम, गढीमाई एफएम र इन्द्रेणी एफएम सञ्चालनमा छन् भने हाल गढीमाई एफएम प्राविधिक कारणवश बन्द छ । यद्यपि पर्साका ग्रामीण क्षेत्रबाट पनि रेडियो प्रसारणमा रहेका छन् । आकाश एफएम पर्साको ड्राइपोर्ट तथा रेडियो तरङ्ग एफएम बहुअर्वाबाट सञ्चालन भइरहेको छ । त्यसो त रेडियो कान्तिपुर र इमेज एफएमले पनि वीरगन्जबाट रिले प्रसारण गरिरहेका छन् ।

रेडियो व्यावसायिक मात्र नभई समाजप्रति पनि जिम्मेवार हुनुपर्ने सामुदायिक रेडियो नारायणी एफएमका कार्यकारी अध्यक्ष गोविन्द देवकोटा बताउनुहुन्छ । सामुदायिक रेडियोले गाउँका ससाना समस्यालाई समेत निःशुल्क प्रसारण गरिरहेका कारण यसको लोकप्रियता बढेको उहाँको भनाइ छ ।

पर्साका ग्रामीण भेगका कृषकले पालेका भैँसी, गाईलगायतका चौपाया हराएका सूचना र समाचारसमेत आफ्नो रेडियोबाट बजेपछि कृषकले संस्थामै आई मिठाई बाँडेर खुसी प्रकट गरेको उदाहरण आफूसँग रहेको देवकोटा बताउनुहुन्छ । यस्तै महिला हिंसा र दाइजो प्रथाविरुद्ध स्थानीय भाषामा नै जनचेतनामूलक कार्यक्रम उत्पादन गरी प्रसारण गर्ने गरिएको जानकारी पनि उहाँले दिनुभयो ।

त्यसो त वीरगन्जको पहिलो व्यावसायिक रेडियो वीरगन्जले पनि नागरिकका समस्यामाथि केन्द्रित भई समाचार तथा अन्य जनचेतनामूलक कार्यक्रम सञ्चालन गर्ने गरेको जानकारी रेडियो वीरगन्जका सञ्चालक धु्रव साह दिनुहुन्छ । आफ्नो रेडियोले पनि महिला हिंसा र दाइजो प्रथाविरुद्ध जोडदार आवाज उठाइरहेको उहाँ बताउनुहुन्छ ।
हिजो घरभित्रमात्र सीमित रहने महिला आज दुई चार पुरुष भेला भएका ठाउँमा उभिएर आफ्ना कुरा खुलस्तसँग राख्नसक्ने अवस्थामा पुगेका छन् ।  यसमा मिडियाको ठूलो हात रहेको यहाँस्थित गैरसरकारी संस्था लुमन्तीका फिल्ड संयोजक यज्ञराज कार्की बताउनुहुन्छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौँ । नेपाली कांग्रेसले आफ्नो पार्टी मिलेनियम च्यालेन्ज कर्पोरेशन(एमसिसी) सम्झौताप्रति सकारात्मक भएको जनाएको छ। कांग्रेसकी केन्द्रीय सदस्य डा.डिला सङ्ग्रौलाले नेपाल

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रियसभा सदस्यबाट पदमुक्त भएका नेकपा एमालेका नेता रामबहादुर थापा बादललाई गृहमन्त्रीमै पुनः नियुक्ति गर्ने

सुर्खेत । कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले तीन मन्त्री नियुक्त गर्नुभएको छ । यही वैशाख ३ गते विश्वासको मत

काठमाडौं । नयाँ सत्ता समीकरणमा लगभग सहमति नजिक पुगेका तीन दल अमेरिकी सहयोग निकाय मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) सँगको अनुदान