पार्टी नेतृत्व विवाद टुंग्याउन एमालेले नयाँ मोडेल प्रस्ताव गर्ने

२८ माघ २०७४, आईतवार ११:५५ मा प्रकाशित

काठमाडौं, २८ माघ । लामो समयदेखि रोकिएको बाम एकतालाई टुंगोमा पुर्याउन नेकपा एमालेले नयाँ खाका प्रस्तुत गर्ने भएको छ । एमालेले माओवादी केन्द्रसँगको वार्तालाई निर्णायक मोड दिन भन्दै नयाँ मोडालिटी प्रस्ताव गर्ने निर्णय गरेको छ । अध्यक्ष केपी ओलीसहित शीर्ष नेताहरूले पार्टी एकतालाई छिटो टुंगोमा पुर्‍याउन एकीकृत पार्टीको नेतृत्वका विषयमा नयाँ मोडालिटी प्रस्ताव गर्ने निष्कर्ष निकाल्नुभएको छ ।

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँगको वार्ता लम्बिँदै जाँदा पनि ठोस आकार नलिएपछि एमाले अध्यक्ष ओलीले पार्टीका शीर्ष नेताहरूलाई बोलाएर शनिबार निजी निवास बालकोटमा चार घन्टा गम्भीर परामर्श गर्नुभएको थियो । छलफलमा वरिष्ठ नेता झलनाथ खनाल, नेता माधवकुमार नेपाल, महासचिव ईश्वर पोखरेल, उपाध्यक्ष भीमबहादुर रावल तथा नेता सुवास नेम्वाङ मात्र सहभागी हुनुहुन्थ्यो । पछिल्लो वार्तामा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले सरकार गठनअगावै एकीकृत पार्टीको नेतृत्व टुंगो लगाउनुपर्ने बताएपछि ओलीले शीर्ष नेताहरूसँग परामर्श गर्नुभएको बालकोट स्रोतले जनाएको छ ।
‘पार्टी एकतालाई सकेसम्म चाँडो, तर्कसम्मत, व्यावहारिक र सबैलाई चित्तबुझ्दो ढंगले अघि बढाउने मोडालिटी विकसित गर्नेबारेमा हामीले छलफल गर्‍यौँ,’ बैठकपछि वरिष्ठ नेता खनालले भन्नुभयो, ‘अहिले ठ्याक्कै भन्ने स्थिति बनिसकेको छैन । तर, हामीले दिएका सुझाबका आधारमा वार्ता प्रक्रियालाई उचाइमा पुर्‍याउने जिम्मेवारी पार्टी अध्यक्षलाई दिइएको छ ।’ प्रचण्डसँगको छलफलमा विभिन्न मोडालिटीमा छलफल हुँदै आए पनि कस्तो मोडालिटीका आधारमा वार्ता टुंग्याउने विषयमा भने खनालले प्रस्ट पार्नुभएन ।

ओली–प्रचण्ड छलफलपछि एकता संयोजनको बैठक

स्थायी समितिमा छलफल भएपछि पार्टी एकताका विषयमा ओली र प्रचण्डबीच छुट्टै कुराकानी हुने भएको छ । एक चरण वाम गठबन्धनका प्रमुख नेताबीच कुराकानी भएपछि मात्र पार्टी एकता संयोजन समितिको बैठक बस्ने एक नेताले बताए । समितिबाट पार्टी एकता र सरकार गठनलगायत विषयमा महत्वपूर्ण निर्णय गर्ने भनिए पनि दुई नेताबीच एकताको मोडालिटीमा सहमति जुटिसकेको छैन । शुक्रबारै बैठक बोलाउने तयारी भए पनि एमाले प्रदेश संसदीय दलको निर्वाचन तथा माओवादी अध्यक्ष प्रचण्ड चितवन रहेका कारण छलफल भएन । प्रचण्ड आइतबार चितवनबाट काठमाडौं फर्किंदै हुनुहुन्छ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । सरकारले विभिन्न ११ वटा मुलुकमा राजदूत नियुक्तिका लागि ११ जनाको नाम सिफारिस गरेको छ । मन्त्रिपरिषदको यसअघिकै बैठकले

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (एमाले) अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली २ जेठ २०७५ मा फर्किन सहमत भएका छन्

काठमाडौं । प्रतिसिलिन्डर ४ सय रुपैयाँमा किनेको अक्सिजनलाई कतिसम्ममा बेच्न पाइन्छ ? कालोबजारीसम्बन्धी ऐनले २० प्रतिशतसम्म नाफा लिन छुट दिन्छ।

काठमाडौं । नेपालमा २४ घन्टाको अवधिमा ८ हजार ५ सय २० जना कोरोना भाइरस संक्रमित थपिएका छन् भने २ सय