प्रदेशसभा बैठक आज, वाम गठबन्धन मुख्यमन्त्री छान्ने चटारोमा

२१ माघ २०७४, आईतवार १०:४३ मा प्रकाशित

काठमाडौं, २१ माघ । मुलुक संघीयतामा प्रवेश गरिसकेपछि विभिन्न प्रदेशमा प्रदेशसभा बैठकको चटारो चलिरहेको छ । प्रदेश नं. ३ को हेटौंडामा बसेको पहिलो प्रदेशसभा बैठकपछि आज थप ४ प्रदेशमा प्रदेशसभा बैठक हुँदैछ ।
प्रदेश २ को जनकपुर, ५ को बुटवल, ६ को सुर्खेत र ७ को धनगढीमा बैठकको तयारी पूरा भएको छ । प्रदेश ३ को पहिलो बैठक माघ १८ मै सम्पन्न भइसकेको छ भने प्रदेश १ को माघ २२ गते तोकिएको छ ।
प्रदेश २ मा तराई मधेसका ८ जिल्लाबाट अधिकांश प्रदेश सांसद दुई दिनअघि नै जनकपुर पुगेका छन् । भावी सरकार निर्माण र प्रदेश सांसदको भूमिकाबारे उनीहरू आन्तरिक छलफल चलाइरहेका छन् । प्रदेश २ को बैठकको अध्यक्षता ज्येष्ठ सदस्य लगन चौधरीले गर्ने कार्यक्रम छ ।

मधेस आन्दोलन चर्किएका जिल्लालाई समेटेर बनाइएको प्रदेश २ का सांसदहरू संसदीय दलको नेता चयन गरी मुख्यमन्त्री छान्ने कसरतमा छन् । यो प्रदेशमासंघीय समाजवादी फोरम र राष्ट्रिय जनता पार्टी ले मुख्यमन्त्री चयन गर्नेछन् । मुख्यमन्त्रीबारे टुंगो लागेको छैन ।

राजपाका महासचिव मनीष सुमनले संघीयताको अभ्यास सुरु भएको बताउनुभयो। उहाँका अनुसार अर्थ, विदेश नीति र सुरक्षाबाहेक सबै अधिकार प्रदेशले खोजेको हो । ‘तर, प्रदेशलाई भन्दा संघमा बढी अधिकार राखिएको छ, स्थानीय तहलाई पनि प्रदेशको भन्दा बढी अधिकार दिइएको छ । यो प्रदेशमा १ सय ७ सांसद छन् ।

प्रदेश ५ को बैठकस्थल बुटवलमा तयारीले रौनक ल्याएको छ । त्यहाँ सुरक्षा व्यवस्था कडा पारिएको छ भने बैठकले गर्ने निर्णयबारे सर्वसाधारणमा जिज्ञासा बढाएको छ । ज्येष्ठ सदस्य बलराम शर्मा पौडेलले पहिलो बैठकको अध्यक्षता गर्नुहुनेछ । बैठकले सभामुखको निर्वाचनलगायतका विषय पारित गर्नेछ । यो प्रदेशमा मुख्यमन्त्रीका लागि एमाले नेता शंकर पोखरेल निर्विवाद हुनुहुन्छ । एमालेले उहाँलाई उक्त प्रदेशको संसदीय दलको नेता चयन गरिसकेको छ ।

प्रदेशमा एमालेका ४०, कांग्रेसका १९, माओवादी केन्द्रका २०, संघीय समाजवादी फोरमका ५, राष्ट्रिय जनता पार्टीका १ र राष्ट्रिय जनमोर्चाका १ सांसद छन् । पहिलो बैठकमा ज्येष्ठ सदस्यले प्रदेश प्रमुखबाट अधिवेशनआह्वानसम्बन्धी पत्र पढेर सुनाउने, सभामा प्रतिनिधित्व गर्ने सबै दलका प्रतिनिधिको शुभकामना मन्तव्य, ज्येष्ठ सदस्यले प्रदेशसभा अन्तरिम कार्यविधि २०७४ पारित गरियोस् भन्ने प्रस्ताव गर्ने र सभामुखको निर्वाचन मिति तोक्ने कार्यसूची छ ।
यस्तै, प्रदेश ६ को प्रदेशसभाको पहिलो बैठकका लागि वीरेन्द्रनगरस्थित संसद् भवन बेहुलीझैं सिँगारिएको छ । ज्येष्ठ सदस्य हिमबहादुर शाहीले बैठकको अध्यक्षता गर्नुहुनेछ । यो प्रदेशमा विगतमा पछि परेको कर्णाली क्षेत्रसमेत परेकाले आगामी कार्यक्रमबारे सबैको चासो छ ।

प्रदेशसभा सचिवालयका सचिव कृष्णहरि खड्काका अनुसार बैठक सञ्चालनका लागि प्रस्तावित अन्तरिम कार्यविधि पारित गर्ने र माघ २९ गतेका लागि सभामुख निर्वाचन तोक्ने पहिलो बैठकको कार्यसूची छ । सचिवालयले प्रदेशसभामा प्रतिनिधित्व गर्ने दलका नेताहरू र प्रदेशसभाका ज्येष्ठ सदस्यसँग प्रदेशसभा सञ्चालन अन्तरिम कार्यविधिको मस्यौदाबारे छलफल गरेको थियो ।

प्रदेश ६ को प्रदेशसभामा ४० सांसद छन् ।प्रदेशको ठूलो दल एमालेका २०, माओवादी केन्द्रका १३, कांग्रेसका ६ र राप्रपाका १ सांसद छन् । यो प्रदेशमा मुख्यमन्त्री माओवादीबाट हुने पक्का हुने भएको छ । माओवादीका सांसद महेन्द्रबहादुर शाही र नरेश भण्डारीबीच मुख्यमन्त्रीका लागि प्रतिस्पर्धा छ ।

प्रदेश ७ को पहिलो बैठकको अध्यक्षता ज्येष्ठ सदस्य दिव्येश्वरी शाहले गर्ने कार्यक्रम छ । बैठकले सभामुख, उपसभामुखको निर्वाचन मिति तोक्ने छ भने कार्यविधि पनि पारित गर्ने तय भएको छ । डोटी २ का माओवादी सांसद त्रिलोचन भट्ट मुख्यमन्त्री हुने सम्भावना छ । उहाँलाई एमालेले समर्थन गरेको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले संसद अधिवेशन आव्हान गरेकी छन् । सोमबार बसेको मन्त्रिपरिषद बैठकको सिफारिस गरेअनुसार राष्ट्रपति भण्डारीले फागुन

काठमाडौं । नेकपा प्रचण्ड–माधव समूहले प्रमुख सचेतकबाट देव गुरुङलाई हटाएकोमा आपत्ति जनाएको छ । सोमबार बिहान बसेको सचिवालय बैठकले प्रधानमन्त्री

काठमाडौँ । स्वास्थ्य उपचारका लागि नयाँ दिल्लीमा रहको पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईको न्युरो–इन्डोक्राइनको ट्युमरमा क्यान्सर नभएको चिकित्सकहरूले निष्कर्ष निकालेका

यांगुन । म्यानमारमा सैन्य शासनको विरोधमा भएको प्रदर्शनमा प्रहरीले चलाएको गोली लागेर एकै दिन १८ जनाको मृत्यु भएको छ ।