आङकाजीलाई एमालेमा केन्द्रिय सदस्य र माओवादीबाट मन्त्रीको प्रस्ताव आएको खुलासा

२ श्रावण २०६९, मंगलवार ०१:२६ मा प्रकाशित

योगेन्द्रमिलन छन्त्याल, लिस्बोन, ३१ असार । नेपाल आदिवासी जनजाति महासंघका महासचिव आङकाजी शेर्पाले एमालेले केन्द्रिय सदस्य र माओवादीले मन्त्री बनाउने प्रलोभन दिएको खुलासा गरेका छन् । जनजाति महासंघ पोर्तुगलको दोश्रो महाधिवेशनको उद्घाटन गर्दै शेर्पाले समस्त जनजातिको हक अधिकारका लागि ब्राह्मणवादीहरुको चक्रव्यूहमा फस्न नहुने भन्दै आफूलाई यस्तो प्रस्ताव आएको बताएका हुन् ।

जनजातिको आन्दोलन चुनौतिपूर्ण र परिवर्तनको संघारमा आइपुगेको छ, शेर्पाले आन्तरिक तथ्य खोले, ‘देश विदेशबाट जनजातिको दल निर्माण गर्न दबाव आएको छ तर हाम्रै जनजाति नेताहरु आ – आफ्नो पार्टी चटक्क छोड्न सकेका छैनन् । अझै पार्टीभित्रै हाम्रा प्रस्तावको सुनुवाइका लागि अन्तिम प्रयास गर्छौं भन्दै दोधारमा छन् ।’

महासचिव शेर्पाले काँग्रेस र एमालेले जनजातिको विश्वास गुमाइसकेको र माओवादीलाई भिरमा जाँदासम्म वुद्ध वुद्ध भन्ने तर ढिकमै पुग्यो भने पछाडिबाट धकेलिदिने बताएका छन् । राजनीतिक दलहरु प्रधानमन्त्रीका कुर्सीका लागि जुनसुकै हर्कत गर्न पनि पछि नपर्ने प्रवृति बढेको छ । शेर्पाको दाबी थियो – ‘जनैधारी पार्टीहरु माओवादी, काँग्रेस र एमालेका नेताहरु सधै षड्यन्त्र, झुठ र धोकेवाजको सिद्धान्त अपनाउदै आएका छन् ।’

जनजातिहरु एकजुट हुँदा बल्खु, सानेपा र पेरिसडाँडामा भूइंचालो जाने गरेको छ । दलका नेताहरु कन्भिन्स गर्न सक्दैनन् तर नागरिकहरुलाई कन्फ्युजमा पारेर फुट सृजना गर्न सफल भएका छन् । अब हामी यिनीहरुको फुटाउ र राज गरको बठ्याईदेखि सजग हुनुपर्छ ।

संघीयता बिरोधीहरुलाई भोट दिनु घाँटीमा पासो लगाएर आत्म हत्या गरे सरह हुनेछ । उनको आव्हान थियो, काँग्रेस र एमालेलाई केन्द्रदेखि गाउँसम्म चुनावमा हराउनु पर्छ ।

महासंघले उपत्यकामा जातीय पहिचानसहितको राज्य पुनर्संरचनाको नारा लेख्ता दुई लाख ५० हजार खर्च भएको सम्झदै चित्रबहादुर केसीको थोरै जनमास भएको राष्ट्रिय जनमोर्चाले देशभर संघीयताविरोधी नारा लेख्दा १७-१८ करोड खर्च भएको अनुमान गरे । त्यत्रो पैसा कल्ले दियो ? राजासँग सांठगांठ त छैन ? प्रश्न गरे शेर्पाले ।

नेपाललाई जनजातिहरुले विश्वसामु चिनाउँदा देश टुक्रदैन । हाम्रो पहिचानका लागि राज्यको नामाकरण गर्दा देश टुक्रन्छ ? महासचिव शेर्पाले निकै समय बाहुनहरुको आलोचनामा खर्च गरे । जापान र नेपाल सँगसँगै स्वतन्त्र भएका थिए । जापान विश्वमै सम्पन्न मुलुक भयो, नेपाल विश्वमै कंगाल । उनले व्यंग्य गरे, ‘यसको कारण नेपालमा बाहुन क्षेत्री भन्ने चीज पाइन्छ, जापानमा पाइँदो रहेनछ ।’ फेरि उनले कुरा मिलाउने प्रयास गरे – ‘यी वास्तविक सत्यता हुन्, तथ्य पेश गरेको मात्र हुँ । साम्प्रदायिक सद्भावलाई अक्षुण्ण राख्न महासंघ प्रतिवद्ध छ ।’

हामी अब दलहरुको झोले कार्यकर्ता बन्नु हुँदैन । हाम्रो तीनवटा ‘प’ (पहिचान, प्रतिनिधित्व र पहुँच) का लागि तन, मन र धन जनजाति आन्दोलनलाई सहयोग गर्नुपर्छ । उनको आव्हान थियो ।

दुईवटा संचार माध्यमलाई इंगित गर्दै शेर्पाले उनीहरुले जनजातिका सवाललाई सधै बेवास्ता गरेको आरोप लगाए । उनले कडा आलोचना गर्दै केपी ओलीको खुट्टा मोलेर जनजाति बिर्सनेको वास्ता नगर्ने तर जनजातिको स्वाभिमान र प्रतिष्ठामा आंच आउने अभिव्यक्ति दिनेको जिब्रो थुतेर भुस्याहा कुकुरलाई दिने आफ्नो भनाइ सही भएको दावी गरे ।

महासचिव शेर्पाले रिपोर्टर्स क्लबमा भएको विवादमा आफु चोखो रहेको बताए । अखण्ड सुदूर पश्चिम आन्दोलन, बाहुन – क्षेत्री – दशनामीको आन्दोलन र संविधान नबन्नुमा षड्यन्त्र रहेको अनुमान गरे ।

गैह्र आवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषद सदस्य पूर्ण हमालले आफ्नो मन्तव्यमा हामी समग्रमा नेपाली भएकाले जाति जातिका नाममा विभाजन हुन नहुने उल्लेख गरे ।

महाधिवेशनको उद्घाटन सत्रमा एनआरएन पोर्तुगलका अध्यक्ष रमेश गुरुङ र महासंघ जर्मनीका अध्यक्ष ग्याल्जो छिरिंग शेर्पाले पनि शुभकामना मन्तव्य राखेका थिए । अध्यक्ष गणेश लिम्बुको अध्यक्षता, र महासचिव दावा पाख्रिनको संचालन रहेको उद्घाटन सत्रमा मनु तामाङले स्वागत मन्तव्य राखेकी थिइन् ।

बन्द सत्रमा महासचिव पाख्रिनको प्रगति प्रतिवेदन र कोषाध्यक्ष पेम्बा शेर्पाद्वारा प्रस्तुत आर्थिक प्रतिवेदन सर्वसम्मत पारित भएको बताइएको छ । यसैगरी महाधिवेशनबाट दावा पाख्रिनको अध्यक्षतामा १३ सदस्सीय कार्यसमितिको निर्विरोध चयन भएको छ । नवनिर्वाचित कार्यसमितिमा उपाध्यक्षद्वय तीर्थ सुब्बा, लालबहादुर गुरुङ, महासचिव सोमफुरी शेर्पा, सचिव सुनिता मानन्धर र कोषाध्यक्षमा टेकबहादुर पून रहेका छन् । सदस्यहरुमा लक्ष्मण पून, राम गुरुङ, हरी घिसिङ, पाल्जोर लामा, मनु तामाङ, चित्र गौचन, कान्छा शेर्पा र कला राई रहेका छन् ।

नयाँ कार्यसमितिले संघीय परिषद सचिवालय महासचिव शेर्पालाई बिदाई र आभार प्रकट गरेको छ । साँझ खानपीनसहित एक कार्यक्रममा महासचिव सोमफुरीले महासंघको योजना र आन्दोलनलाई सहयोग पुग्नेगरी नयाँ कार्यसमितिलाई सशक्त रुपमा अगाडि बढाउने प्रतिबद्धता व्यक्त गरेका थिए ।

प्रतिक्रिया
सम्बन्धित खवर

गैरआवासीय नेपाली संघ भाषा, साहित्य, संस्कृति तथा सम्पदा समितिको साप्ताहिक कार्यक्रम प्रवासी प्रवाहको चवालिसौ शृङ्खलामा नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति गंगाप्रसाद

लिसवोन । पोर्चुगलस्थित नेकपा एमालेको प्रवास संगठन प्रवासी नेपाली मञ्च पुनर्गठन भएको छ । ३५ सदस्यीय कार्य कार्यसमितिको अध्यक्षमा अध्यक्ष

नेपाल पत्रकार महासङ्घ बेल्जियम शाखाको अध्यक्षमा ओम शर्मा निर्विरोध निर्वाचित हुनुभएको छ । कार्यसमितिको उपाध्यक्षमा डिल्ली अम्माई, सचिवमा पेम्बा गेलु

दमास्कस । ओमानस्थित नेपाली राजदूतावासले हिजो शनिबार साहित्य र प्रकृतिसम्बन्धी एक वेबनारको आयोजना गरेको छ । काठमाडौँको सेरोफेरोका महत्वपूर्ण र