राजनीति ‘एज’ले होइन, एजेन्डाले हुन्छ : विश्वप्रकाश शर्मा, केन्द्रीय सदस्य, नेपाली कांग्रेस

२४ पुष २०७४, सोमबार १९:३१ मा प्रकाशित

नेपाली राजनीतिमा संभावना बोकेका युवा नेताको रुपमा विश्वप्रकाश शर्मा चिनिनुहन्छ । जित होस या हार, नेपाली राजनीतिमा शर्मा  संधै चर्चामा रहने गरेका छन् । लगातार दुईवटा संसदीय निर्वाचन (संविधानसभा र प्रतिनिधिसभा) मा पराजय ब्योहोर्दा पनि शर्माको चमकमा कमी आएको छैन । लोकतन्त्रमा कोही पराजित नहुने दाबा गर्ने उहाँ जित्नेलाई विजेता र आफूलाई उपविजेताका रूपमा प्रस्तुत गर्नुहुन्छ । अहिले उहाँ ‘हामी बदलिन्छौं, बदल्छौं कांग्रेस’ अभियानका साथ जिल्ला दौडाहामा हुनुहुन्छ । सोही अभियानका क्रममा नेपाल ट्वान्टीफोरअावरले शर्मासँग गरेको कुराकानी :

तपाईंलगायत सात जना केन्द्रीय सदस्यले विज्ञप्ति जारी गरेर महासमिति बैठकको माग गर्नुभएको छ । विज्ञप्तिमार्फत दिन खोज्नुभएको सन्देश के हो ?
पार्टीका सात जना केन्द्रीय सदस्यले विज्ञप्ति जारी गरेको मिति म भन्छु— पुस १६ गते । त्यो मितिभन्दा ४१ वर्षअगाडि ०३३ साल पुस १६ गते बीपी कोइराला ‘राष्ट्रिय एकता तथा मेलमिलाप’को अपिल गर्दै नेपाल आउनुभएको थियो । त्यसबेला बीपीले आफ्नो सन्देशमा भन्नुभएको थियो— हरेक राष्ट्रको जीवनमा यस्ता क्षण आउँछन् जुन बेला विगतका अप्रिय विवाद, तीता–नमीठा कुरा, सानातिना मतभेद सबैलाई बिर्सिएर राष्ट्रिय एकताको सूत्रमा बाँधिनुपर्छ । हामीले पुस १६ मै किन विज्ञप्ति जारी गर्यो त भन्दा पहिलो कारण, अहिलेको सन्दर्भमा पनि नेपाली कांग्रेसले राष्ट्रिय एकताका लागि पहल गर्नुपर्ने त छँदै छ, तर आफैँभित्रको मेलमिलापका लागि बढीभन्दा बढी जोड दिन जरुरी छ । दोस्रो, हामी सात जना नेपाली कांग्रेसभित्र चर्चामा, बजारमा आएजस्तो वा यथार्थमा भनिएजस्तो फरक–फरक समूहसँग नजिक पनि छौं । फरक–फरक ठाउँमा रहेर पनि एउटा मत राख्ने दृष्टिकोण भनेको मेलमिलापका लागि सकारात्मक पहल हो ।

कांग्रेसमा पुराना पुस्ताको औचित्य सकिएको भन्दै नयाँ पुस्ताले दिएको चुनौतीका रूपमा बुझ्न सकिन्छ ?
विज्ञप्ति आउनुभन्दा एक दिनअघि मात्र साथीहरूले बोल्दै गर्दा ७० वर्ष नाघेकाहरूले राजनीति छोड्नुपर्छ । केन्द्रमा होस् वा वडातहसम्म ७० कटेकाले कांग्रेस पार्टीको नेतृत्व छोड्नुपर्छ भन्दै हुनुहुन्थ्यो । तर, मेरो कुरा के छ र रहनेछ भने राजनीति ‘एज’ले होइन, एजेन्डाले हुन्छ । पुस्ताले होइन, प्रवृत्तिले हुन्छ । राजनीतिमा कोही बेलामा ८६ वर्षका गिरिजाप्रसाद कोइरालाले ५६ वर्षका पुष्पकमल दाहाल प्रचण्डलाई पछि लगाउन सक्नुहुन्छ । कुनै बेला त्यही राजनीतिमा ४७ वर्षका बाराक ओबामाले ६५ वर्षको जो मक्केनलाई हराउन सक्छन् । त्यसकारण त्यो विज्ञप्तिमा ७० कटेकाले छोडिहाल्नुपर्छ भन्ने पनि आएन । मेरो ठहर के छ भने कसैको कपाल फुल्दैमा ऊ राजनीतिमा, समाजमा, पारिवारिक जिम्मेवारीमा, प्रशासनिक क्षेत्रमा, साहित्यमा, संगीतमा, कलामा अयोग्य हुँदैन । कपाल फुल्दैमा कोही अयोग्य र कपाल कालो छ भन्दैमा ऊ योग्य हुने भन्ने हुँदैन । त्यसैले त्यो विज्ञप्ति आउँदै गर्दा फरक–फरक कुरा गरिरहनुभएका साथीहरू एउटै सारमा आइपुग्नुभएको छ । आवेगमुक्त भएर ठण्डा दिमागले कांग्रेसलाई रूपान्तरण गर्ने गरी अभियानअगाडि बढाउनुपर्छ भन्ने कुरामा सबै आइपुगेका छौं । त्यसले गर्दा पार्टी नेतृत्वबाट भएका राम्रो कामको पनि स्मरण गरेका छौं ।
कांग्रेसले प्रदेश र प्रतिनिधिसभा निर्वाचनमा जस्तो पराजय बेहोर्यो, यसले शीर्ष नेताहरू उमेरले मात्र होइन अब पार्टी अगाडि बढाउन नेतृत्व क्षमताका हिसाबले पनि असक्षम रहेको पुष्टि गर्दैन र ?
मेरो बुझाइमा नेतृत्वलाई मात्र दोष लगाएर उम्किन मिल्दैन । पाका नेताहरूले नेतृत्व गरेका कारण यो अवस्थामा पुग्यौं भन्यौं भने त्ये भ्रम हुन्छ । नेपाली कांग्रेसको ७५ जिल्लामध्ये नामै उल्लेख गरेर भन्दै गर्दा चितवन जिल्ला सम्झन्छु । जहाँ जो सभापति हुनुहुन्छ एकदमै युवा हुनुहुन्छ । केन्द्र र प्रदेशमा उम्मेदवार हुनुभएका अधिकांश साथी युवा हुनुहन्थ्यो । तर, परिणाम किन अनुकूल आएन ? युवा भनेर मात्र नहुने रहेछ । युवाको जाँगरलाई पनि र पाकाको अनुभवलाई पनि फ्युजन गरेर कांग्रेस अगाडि जाने हो । त्यसकारण नेतृत्वलाई, नेतृत्व पुगेको उमेरलाई दोष लगाउने कुराले मात्र हामी समाधानमा पुग्दैनौं ।

एकातिर तपाईं विज्ञप्तिमार्फत शीर्ष नेतृत्वलाई महासमिति बैठक माग गर्नुहुन्छ । अर्का्तिर ‘हामी बदलिन्छौं, बदल्छौं कांग्रेस’ भन्दै जिल्ला दौडमा पनि हुनुहुन्छ । यसमा केही तादात्म्यता छ ?
अब नेपाली कांग्रेस पार्टी्भित्र फरक–फरक ठाउँमा उभिएर फरक–फरक कुरा बोलिरहँदा जति उचित हो, त्यो भन्दा फरक–फरक विचार समूहमा रहेका भनिएका युवाहरू एकै ठाउँमा उभिएर साझा कुरा बोल्नु त राम्रो हो नि ! हामीले विज्ञप्तिमा प्रतिकूल राजनीतिक अवस्थाको बीचमा पनि निर्वाचन सम्पन्न गराउने कर्तव्य कांग्रेसको नेतृत्वले सम्पादन गरेको छ, त्यसको सराहना पनि गरिएको छ । राष्ट्रव्यापी रूपमा जहाँ–जहाँ साथीहरूको बीचमा निराशा छ त्यसमा आत्मविश्वास भर्ने कुरामा मेरो सक्रियता हो । मैले कार्यकर्ताका बीचमा स्वावलम्बी बन्ने, पार्टीलाई स्वावलम्बी बनाउने, राजनीतिलाई स्वावलम्बी बनाउने र राष्ट्रलाई स्वावलम्बी बनाउने साथै तीन दिन पार्टीका लागि, चार दिन रोटीका लागि भन्ने कुरा व्यवहारमा लागू गर्नुपर्छ । यो कुरा मैले पहिलेदेखि भन्दै आएको छु । कांग्रेसको सन्दर्भमा गर्नुपर्ने थुप्रै संरचनागत काम छन् । मनोवैज्ञानिक काम छन् । यी काम गर्दै नवीन कांग्रेस बनाउनुपर्छ । उमेरको तन्नेरी र प्रौढभन्दा पनि विचार र गतिले पार्टी सशक्त बन्ने हो । त्यसले मात्र पार्टी युवा हुन्छ । कांग्रेसलाई तन्नेरी बनाउने अठोटका साथ अघि बढेको छु । वाम गठबन्धनले नयाँ सरकार बनाउन पुग्ने सामर्थ्य सहितको  जनमत पाएका छन् ।

कांग्रेसका महामन्त्री शशांक कोइरालाले सार्वजनिक रूपमा वाम गठबन्धन भत्काउन लागेका छौं भन्नुभएको छ । के साँच्चै कांग्रेस वाम गठबन्धन भत्काउने खेलमा लागेको हो ?
यसमा दुईवटा अभिमत छन् । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली सम्भवतः प्रधानमन्त्री बन्दै हुनुहुन्छ । शुभकामना छ । तर, नेकपा एमालेलाई एकल सरकार बनाउने गरी त मतदाताले अभिमत दिएका छैनन् । त्यसकारणले गर्दा केपी ओली नै किन प्रधानमन्त्री बन्नुपर्यो त ? भन्ने धारणा पनि आएका छन् । कमरेड प्रचण्डले आकांक्षा राख्नुहुन्छ भने त विगतमा पनि तेस्रो दलबाट प्रधानमन्त्री भएकै हो । त्यसकारण तेस्रो दललाई नै दिऊँ न त भनेर कांग्रेसभित्र कसैले सोच्यो होला । अथवा राजनीतिमा चर्चा–परिचर्चा भयो होला । त्यो बिल्कुल अनौठो होइन । तर, मेरो बुझाइमा के हो भने अहिले एमाले र माओवादी गठबन्धन बनेर गइसकेपछि हामीले हारेका हौं वा नहौंला, तर उनीहरूले जितेका हुन् । कांग्रेस हारेको त होइन तर उनीहरूले जितेका हुन् । दुईवटा दक्खल गाँसेर आउँदा जितेको जुन चित्र छ त्यसलाई हार्दिक ढंगले स्वीकार गर्नुपर्छ । त्यसकारण नेपाली कांग्रेस पार्टी र माओवादी पार्टीका बीचमा अथवा एमालेभित्रै कमरेड केपी ओलीलाई रोक्ने कुराका सन्दर्भका कुनै खेल भइरहेका छैनन् भनेर म दाबा गर्दिनँ । तर, हुनुपर्छ के त्यो म भन्छु । वामलाई सरकार बनाउने म्यान्डेट र हामीलाई संगठन बनाउने म्यान्डेट मतदाताले दिनुभएको छ भन्ने लाग्छ । त्यसकारण कांग्रेसको महामन्त्रीले यदि गठबन्धन भत्काउँछौं भन्ने हिसाबले बोल्नुभयो भन्ने जुन कुरा बाहिर आएको छ, त्यो मलाई पत्यार लाग्दैन । उहाँ त्यसरी बोल्ने मानिस हो भन्ने लाग्दैन ।

प्रदेश केन्द्रको विषयलाई लिएर अहिले केही प्रदेशमा आन्दोलन चलिरहेको छ । पहिलो पटक देशमा प्रदेश सरकार बन्दै छन् । आगामी दिनहरू कस्तो देख्नुहुन्छ ?
अबको नेतृत्वमा धेरै भर पर्छ । एक्लै अगाडि बढ्ने मानसिकतालाई दम होइन, ‘दम्भ’ भन्छन् । अहिले केपी ओलीले सबैलाई गाँसेर अघि जाने दम देखाउनुहुन्छ वा एक्लै बढ्ने दम्भ देखाउनुहुन्छ त्यसैमा नेपालको अबको राजनीति निर्भर गर्छ । सुरुवाती संकेतहरू राम्रो देखिएका छैनन् । जस्तो केपी ओली जान्नुहुन्छ, एकल संक्रमणीय प्रक्रिया संविधानमा शब्दमा नलेखिए पनि बहुमतीय या सहमतीय समानुपातिक भनेपछि समानुपातिकको एउटा हिस्सा भन्ने उहाँलाई थाहा थियो । उहाँलाई थाहा नभए अरूले थाहा दिनुपथ्र्यो । उहाँले के सोचाइ बनाउनुपर्थ्यो भने एकल संक्रमणीय प्रक्रियामा जाँदै गर्दा राष्ट्रियसभामा प्रमुख प्रतिपक्ष नेपाली कांग्रेस पनि आउँछ । तर, उहाँले त्यो राष्ट्रिय सभाको परिकल्पना यसरी गर्नुभयो कि जहाँ प्रतिपक्ष नै नहोस् । उहाँले एकल संक्रमणीयमा नजाऔं भन्नु भनेको विपक्षरहित राष्ट्रिय सभा बन्नु हो । त्यसको संकेत के हो ? भोलि बन्न लागेका प्रधानमन्त्रीले विपक्षरहित राष्ट्रिय सभा परिकल्पना गर्दै हुनुहुन्थ्यो भने उहाँ कुन मनोविज्ञानले जान चाहँदै हुनुहुन्थ्यो ? त्यो संकेत के हो ? राष्ट्रपतिलाई धारा ६६ ले भन्छ, राष्ट्रपतिले अधिकारको पालना, कर्तव्यको पालना गर्दै गर्दा मन्त्रिपरिषद्को सल्लाह र सम्मतिमा हुनेछ ।

एमाले ठूलो पार्टी भएर आइसकेपछि संविधानमा भएको व्यवस्था विपरीत चल्न दबाब सिर्जना गर्यो । दम्भ प्रस्तुत ग¥यो भन्ने यहाँको आरोप हो ?
म आदरपूर्वक कमरेड केपी ओलीलाई भन्छु, प्रदेशका प्रमुखहरू शेरबहादुर देउवाजीले तोक्ने हो भने उहाँले तोकेकाबाट शपथ लिन्न किन भन्नुभयो ? डडेल्धुराको असिग्राम गाउँको रुवाखोला किनारको कुनै व्यक्ति शेरबहादुर देउवा नभएर अहिले उहाँ नेपालको प्रधानमन्त्री हुनुहुन्छ । संविधान र प्रदेशसभा निर्वाचन ऐनले के भन्छ भने प्रदेशसभा निर्वाचनको परिणाम आएको सात दिनभित्र निर्वाचन आयोगले प्रदेश प्रमुखसमक्ष परिणाम बुझाउँछ । प्रदेश प्रमुखले निर्वाचन आयोगको परिणाम प्राप्त भएको २० दिनभित्र प्रदेशसभाको आह्वान गरिसक्छ । ३५ दिनभित्र नयाँ मुख्यमन्त्री चयन भइसक्छ । भनेपछि त्यो प्रदेश सभाको प्रमुख नै नभइसके पनि त्यो प्रदेशको परिणाम उहाँले कसलाई बुझाउन खोज्नुभएको थियो ? त्यसैले मैले भनेँ, देउवाले तोकेकोमा शपथ खान्न भन्ने ? कुन प्रकारको दम्भ हो यो ? त्यसो भए कसले तोकेकोमा शपथ खाने त ? बरमझियाको पेडा पसलमा गएर शपथग्रहण गर्न मिल्दैन । त्यो जुन संकेत छ, त्यो गलत छ । अन्ततः हामी फेरि कहाँनेर आउनुपर्यो भने प्रदेश प्रमुख तोक्ने कुरामा आउनुपर्यो । प्रदेश प्रमुख तोकेपछि प्रदेशसभाका सदस्यले शपथग्रहण गर्नेछन् । शपथपछि राष्ट्रिय सभाका लागि मत हाल्न योग्य हुनेछन् । उहाँहरूले भोट हालिसकेपछि राष्ट्रिय सभा गठन भइसक्नेछ । गठन भएपछाडि प्रत्यक्ष निर्वा्चित र राष्ट्रिय सभाबाट निर्वा्चित जुन प्रतिनिधि आउँछन् त्यसभित्र महिलाको एकतिहाइ संख्या नपुग कति हो त्यसको हिसाब आउँछ । अनि निर्वाचन आयोगले संविधानतः ती महिला पुगेन, लिएर आऊ भन्छ । त्यसैले निर्वाचन आयोगले संविधानतः नतिजा प्रकाशन नगरेको हो । यो सबै प्रक्रियालाई उल्ट्याउन खोजेर देउवाले सत्ता छोडेनन् मात्र भन्ने कुरा जिम्मेवार अभिव्यक्ति होइन । त्यसैले अबको राजनीति कसरी जान्छ भन्ने कुरा देउवासँग भन्दा पनि ओलीले कसरी लिएर जान चाहनुहुन्छ त्यसमा भर पर्छ । राजनीतिक जटिलता छन् । प्रदेशको नाम के राख्ने, केन्द्र कहाँ राख्ने विवाद छ । यस्तो अवस्थामा कांग्रेसलाई साथ लिएर हिँड्ने कुरा उहाँले सोच्नुपर्छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । नेकपा एमालेले ‘समानान्तर’ पार्टी गतिविधि सञ्चालन गरेको भन्दै पार्टीबाट निलम्बन गरेका वरिष्ठ नेता माधवकुमार नेपालसहित चार नेताको कारबाही

काठमाडौं । काठमाडौँ प्रशासनले कोभिड–१९ सङ्क्रमण तीव्र्र फैलिरहेको अवस्थामा सबै पक्ष जिम्मेवार भएर अघि बढ्नुपर्ने भन्दै ध्यानाकर्षण गराएको छ ।

काठमाडौँको धापासीमा रहेको ग्रान्डी अन्तरराष्ट्रिय अस्पतालले अक्सिजनको अभाव भएको भन्दै नयाँ बिरामी भर्ना नलिने भएको छ । अस्पताल प्रशासनले आज

काठमाडौँ । कोरोना संक्रमित पूर्वरानी कोमल शाहलाई आइसीयूबाट वार्डमा सारिएको छ । १८ दिनअघि अस्पताल भर्ना भएकी उनलाई केहीदिनपछि प्लाज्मा