जङ्गली हात्ती आतङ्क झापालीका लागि अभिशाप

३१ असार २०६९, आईतवार १४:३६ मा प्रकाशित

(प्रभाषचन्द्र झा)

भद्रपुर, ३१ असार । भारतीय सीमाक्षेत्रबाट प्रवेश गर्ने जङ्गली हात्तीको आतङ्क झापा जिल्लावासीका लागि अभिशाप बन्न थालेको छ ।

वर्षौंदेखिको जङ्गली हात्ती आक्रमणमा परी २० भन्दा बढी व्यक्तिले अनाहकमा ज्यान गुमाउनु, त्यति नै सङ्ख्यामा घाइते हुनु, हात्तीले घर भत्काइदिनु, घरभित्रका अन्नपात खाइदिनु, बालीनालीमा क्षति पु¥याइदिनुजस्ता घटनाका कारण झापालीलाई हात्ती आतङ्क अभिशापका रुपमा परिणत हुन थालेको हो ।

जङ्गली हात्तीका बथान मानवबस्तीमा आउने क्रम जारी नै रहेको र त्यसले व्यापक जनधनको क्षति पु¥याइरहेकाले सो विकराल समस्या समाधान गर्न सरकारले समयमै ठोस कदम नउठाएमा कालान्तरमा झापाको पूर्वीक्षेत्रका बासिन्दालाई बसाइँ सर्नुपर्ने बाध्यात्मक अवस्था निम्त्याउने सम्भावना नकार्न नसकिने झापाका बौद्धिक वर्गको ठम्याइ छ ।

भुटानको सिमानादेखि भारतको ब्रह्मपुत्र, आसाम हुँदै पश्चिम बङ्गालको टिस्टासम्म फैलिएको तहल्का फारस जङ्गलमा प्राचीनकालदेखि नै हात्ती बसोवास गर्दै आएको पाइन्छ । त्यहाँबाट पूर्वी नेपालको सीमावर्ती क्षेत्रको चारकोसे झाडीबाट हेटौँडा हुँदै नारायणी नदीसम्म चरणका लागि हात्तीका बथान आवतजावत गरिरहन्थे ।

भारतको सो क्षेत्रका जङ्गल र नेपालको चारकोसे झाडी मासिँदै मानवबस्तीमा परिणत हुँदै गएका कारण जङ्गली हात्तीलाई चरण क्षेत्रको अभाव भएपछि भारतका साथै नेपालको यस क्षेत्रमा वर्षौंदेखि हात्तीले जनधनको क्षति गर्दै आएका छन् ।

तहल्का फारस जङ्गलबाट बथानका बथान आउने जङ्गली हात्तीको मूल प्रवेशद्वारका रुपमा सीमावर्ती झापाको बाहुनडाँगी गाविस परेकाले त्यहाँका बासिन्दा आर्थिक एवम् भौतिक सङ्कटका मारमा रहनुपरेको अवस्था छ । यसका साथै झापाका बुधबारे, शनिश्चरे, अर्जुनधारा, खुदुनाबारी, मेचीनगर नगरपालिका, सतासीधामलगायत जिल्लास्थित पूर्वपश्चिम राजमार्गको उत्तरी क्षेत्रका अधिकांश गाविसमा जङ्गली हात्ती प्रवेश गरी स्थानीय बासिन्दामा त्रासको वातावरण सिर्जना गर्नाका साथै व्यापक जनधनको क्षति पु¥याउँदै आएका छन् ।

जङ्गली हात्तीका कारण ती गाविसका बासिन्दा दिनमा पनि एक्लै घरबाट टाढाको खेतमा जान डराउन थालेका छन् भने केटाकेटी विद्यालय जाने आउने बेलामा कतै आफ्ना बच्चालाई हात्तीले कुल्चेको त छैन भन्ने डरत्रासले अभिभावकलाई निकै चिन्तित तुल्याएको छ ।

जङ्गली हात्ती धपाउनका लागि स्थानीय एवम् सरकारीस्तरबाट अनेकौँ प्रयास गरिए पनि अवस्था भने यथावतै छ । स्थानीयवासीले रातभर पहरा दिए, पटाका पड्काए, धार्मिक आस्थाका आधारमा हात्तीलाई गणेशका रुपमा मानेर पूजापाठ गरे, शङ्ख–घन्टी बजाए, भाकलसमेत गरे तर पनि हात्तीआतङ्क रोकिएको छैन, नेकपा (एमाले) क्षेत्र नं १ का क्षेत्रीय अध्यक्ष गोपाल बुढाथोकी बताउनुहुन्छ । ‘हात्तीको आवतजावत नरोकिएपछि बाहुनडाँगी र बुधबारेमा करिब रु दुई करोड खर्च गरी विद्युतीय तारबारको घेरासमेत गरियो तर पनि केही सीप लागेन’,उहाँले थप्नुभयो ।

हात्तीले बाहुनडाँगी गाविसको सीमावर्ती क्षेत्रमा तीन किलोमिटरको दूरीमा गरिएको विद्युतीय तारबारको घेरालाई केही दिनमै भत्काउने जुक्ति पनि निकाले । तार झुन्ड्याउनका लागि गाडिएको खम्बामा विद्युतीय करेन्ट रहेनछ भनेर हात्तीले सुइँको पाएपछि सर्वप्रथम तिनले खम्बा लडाउने गर्थे वा अन्य कुनै रुखबिरुवाका हाँगा ल्याएर तारमाथि प्रहार गर्थे । त्यसपछि विद्युतीय प्रवाह बन्द हुन्थ्यो ।

झापाका अग्रज पत्रकार चिन्तामणि दाहाल नेपाल–भारतबीच उच्चस्तरीय वार्ताका माध्यमबाट मात्र यो समस्याको समाधान हुनसक्ने बताउनुहुन्छ । उहाँ भन्नुहुन्छ– जङ्गली हात्ती रोक्न गरिएका अनेकौँ प्रयास असफल भएपछि भारतले आफ्नै भूमिमा चरण क्षेत्रको व्यवस्था गरी नेपाल पस्न नदिने ठोस उपाय अवलम्बन गर्नुपर्छ ।

सर्वसाधारणको जिउधनको रक्षा गर्ने दायित्व सरकारको भएकाले जुनसुकै उपाय अपनाएर भए पनि जङ्गली हात्तीलाई भारततर्फ फर्काउन दृढतापूर्वक लाग्नुपर्ने नेकपा (एमाले)का केन्द्रीय सल्लाहकार मनकुमार गौतमको भनाइ छ ।

विगतका वर्षमा दस बीसवटा हात्ती प्रवेश गर्ने गरेकामा यसपालि दुई–दुईवटा समूहमा ६० भन्दा बढी हात्ती प्रवेश गरेर झापाको पूर्वीक्षेत्रका सामुदायिक वनमा बसेकाले स्थानीयवासीका लागि थप समस्या खडा भएको छ ।

नेपाली काँग्रेस क्षेत्र नं १ का सभापति मणि उप्रेती भन्नुहुन्छ–‘यस विषयमा सरकारले ठोस कदम चाल्नुपर्छ ।’ प्रजिअ नरेन्द्रराज शर्माले हात्तीलाई भारततर्फ नै फर्काउनका लागि हरसम्भव प्रयास गरिएको बताउँदै बाहुनडाँगीमा सशस्त्र बेस क्याम्पसमेत राखिएको जानकारी दिनुभयो ।

जिल्ला वन अधिकृत विष्णु भण्डारीले भारतीय जङ्गलबाट आएर स्थानीय जङ्गलमा बसेका हात्तीलाई भारततर्फ नै फर्काउनका लागि व्यापक तयारी भइरहेको बताउनुभयो ।

प्रतिक्रिया
सम्बन्धित खवर

नेपाल जस्तो मुलुकमा राष्ट्रिय समाचार समिति (रासस)को भावी दिनमा पनि अन्यत्रभन्दा महत्व बढ्छ । पहिलो कुरा, समाचार समिति राष्ट्रको ‘प्रेष्टिज

थारुहरू नेपालको तराई क्षेत्रको पूर्व झापादेखि पश्चिम कञ्चनपुरसम्मका विभिन्न २० जिल्लामा विशेषतः भित्री मधेसमा छरिएर बसोबास गरेका छन् । यतिखेर

दूध, मासु, अन्डा, उन, श्रम आदिका लागि जनावरहरूलाई घरमा पाल्ने कामलाई पशुपालन भनिन्छ । पशुपालन जनावर वा पशुपक्षी पाल्ने पेसा

गैरआवासीय नेपाली संघ (एनआरएनए) मा विशेष महाधिवेशनका बारेमा पक्ष र विपक्षमा लामो समयदेखि स्वर सुनिँदै आएको छ। संस्थापन पक्ष जसरी